काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्नका लागि विभिन्न कामहरु तत्काल गर्नु पर्ने देखाएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले वर्तमान आर्थिक संकट समाधान गर्न तत्काल २८ वटा काम गर्नु पर्ने आवश्यकता रहेको देखाएको हो ।
कार्यदलको अध्ययन प्रतिवेदनका अनुसार सुनचाँदी आयातमा भन्सार शुल्कदेखि अन्य कर बढाउनु पर्ने, कृषियन्त्रमा थप सहुलियत उपलब्ध गराउने, कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने, आयात प्रतिस्थापन गर्न सकिने तथा ठुलो परिमाणमा विदेशमा निर्यात गर्न सकिने औद्योगिक वस्तुमा दीर्घकालिन कर सहुलियतको व्यवस्था गर्ने, ट्रष्ट रिसिट कर्जामा रोक लगाउनु पर्ने लगायत कामहरु तत्काल गर्नु पर्ने उल्लेख गरेको हो ।
यस्तै, विदेशबाट रकम पठाउँदा एक निश्चित रकम भन्दा बढी बैंक खातामा पठाउनु पर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने, सार्वजनिक निकायमा सम्भव भएसम्म स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने, विप्रेषणको प्रयोग विदेशबाट सिधै क्रिप्टो तथा अन्य जोखिमयुक्त फण्ड जस्ता अवास्तविक उपकरणमा हुने गरेको सम्बन्धमा व्यापक रुपमा जनचेतना कार्यक्रम संचालन गरी यस्तो कार्य निरुत्साहित गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरेकाे छ ।
यी हुन् राष्ट्र बैंकले तत्काल गर्नुपर्ने कामः
१. कृषियन्त्रमा थप सहुलियत उपलब्ध गराउने ।
२. कृषि विउ, विजन, किटनाशक र मलको प्रत्याभूत गर्ने ।
३.कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने ।
४. विलासिताको सामानको आयातको लागि खोलिने प्रतितपत्रमा मार्जिनको थप व्यवस्था गर्ने ।
५. वैदेशिक भ्रमणमा जाने व्यक्तिलाई प्रदान गरिने विदेशी मुद्रा सटही सुविधामा थप पूनरावलोकन गर्ने ।
६. विद्युतीय चुल्होमा अनुदान दिने तथा ग्याँसमा अनुदान खारेजी गर्ने ।
७. औद्योगिक खपतको लागि सबै इन्धनलाई विजुलीले विस्थापन गर्ने ।
८. रेमिटयान्स्भित्र्याउने मुलूकमा बैंक र रेमिट कम्पनीको शाखा तथा सम्पर्क कार्यालय खोल्ने ।
९. रेमिटयान्स्को लागत शोधभर्ना योजना तर्जुमा गर्ने ।
१०. सून, चाँदी जस्ता विलासिताका सामानमा भन्सार लगायतका करको दर बढाउने ।
११. नेपालको वन जंगलको काठ वैज्ञानीक व्यवस्थापन गर्ने ।
१२. सार्वजनिक निकायमा सम्भव भएसम्म स्वदेशी उत्पादन प्रयोग गर्ने ।
१३. Sovereign Ratings को कार्य सम्पन्न गर्ने ।
१४. निर्यातलाई प्रोत्साहन गर्न विद्युत महसुलमा छुट दिने । साथै, Bio-Fuel र सौर्य ऊर्जाको प्रयोग बढाउन अनुदान व्यवस्था पुनरावलोकन गर्ने ।
१५. आयात प्रतिस्थापन गर्न सकिने तथा ठुलो परिमाणमा विदेशमा निर्यात गर्न सकिने औद्योगिक वस्तुमा दीर्घकालिन कर सहुलियतको व्यवस्था गर्ने ।
१६. निजी सवारी साधन (चार पाङ्ग्रे तथा मोटरसाइकल) को आयातमा विभिन्न कर तथा नगद मार्जिन थप गर्नुका साथै बैंक कर्जाको सीमा घटाउने ।
१७. अत्यावश्यक बाहेकका व्यापारिक वस्तुको आयातमा कुनै पनि प्रकारको टिआर कर्जा प्रवाह नगरिने व्यवस्था लागु गर्ने ।
१८. उद्योगको अध्ययन/अनुसन्धानमा लागेको खर्च आयकरमा छुट गर्ने ।
१९. मुलुक भित्रै उत्पादन हुने र निर्यातको उच्च सम्भावना भएका ऊनी गलैंचालगायतका वस्तुको सन्दर्भ मूल्य समायनुकूल पुनरावलोकन गर्ने ।
२०. दुरसञ्चारका उपकरण, मोबाइल सेट, टेलिभिजन जस्ता वस्तुको आयु लामो हुने भएतापनि आयात निरन्तर उच्च देखिएकोले यथार्थ अवस्था पहिचान गर्न अनुगमन र गोप्य अनुसन्धान गर्ने ।
२१. देशभित्र कम खपत हुने र निर्यातको लागि उल्लेख्य मूल्य अभिवृद्धि नहुने वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउने वा न्यूनतम मूल्य अभिवृद्धिको सीमा पुनरावलोकन गर्ने ।
२२. नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई भिसा तथा नवीकरण शुल्क, प्रवेश शुल्क, रोयल्टी जस्ता भुक्तानी तथा सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने ।
२३. यातायातका सवारी साधन तथा पर्यटकीय स्थलमा सहज रुपमा इन्टरनेट पहुँच(Free Wi-Fi) को व्यवस्था मिलाउने ।
२४. विप्रेषण कम्पनीका स्वदेशमा रहेका एजेन्ट तथा सवरिप्रिजेन्टेटिभ मार्फत स्वदेशमै रकम स्थानान्तरण गर्ने सीमालाई तत्काल परिमार्जन गर्ने ।
२५. विदेशबाट रकम पठाउँदा एक निश्चित रकम भन्दा बढी बैंक खातामा पठाउनु पर्ने अनिवार्य व्यवस्था गर्ने ।
२६. विप्रेषणको प्रयोग विदेशबाट सिधै क्रिप्टो तथा अन्य जोखिमयुक्त फण्ड जस्ता अवास्तविक उपकरणमा हुने गरेको सम्बन्धमा व्यापक रुपमा जनचेतना कार्यक्रम संचालन गरी यस्तो कार्य निरुत्साहित गर्ने ।
२७. गैर आवासीय नेपालीको फिर्ता नलैजाने विदेशी लगानीमा सञ्चालित पेशा, व्यवसाय र उद्योगलाई विशेष सुविधा र कर छुट प्रदान गर्ने ।
२८. प्राथमिकताप्राप्त क्षेत्रको कर्जा प्रभावित नहुने किसिमले नीतिगत दरहरू (जस्तैः सीआरआर, एसएलआर आदि) बढाई मौद्रिक व्यवस्थापनलाई कसिलो बनाउने ।