चेक बाउन्स गर्ने नयाँ बानेश्वरका अधिकारी पक्राउ, साढे १७ लाख जरिवाना तिर्नुपर्ने
काठमाडौं । पैसा नभएको स्ट्याण्डर्ड बैंकको चेक काट्ने रामहरि अधिकारी पक्राउ परेका छन् । हाल नयाँ बानेश्वर बस्दै आएका मकवानपुरका अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अधिकारीलाई उच्च अदालत पाटनले बैशाख ४ गते बैंकिङ कसुरको सजाय तोकेको थियो । उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । तर, उनी त्यसयता फरार रहँदै आएका थिए । यससँगै उनले अब १७ लाख ४२ हजार रुपैयाँ जरिवाना तिर्नपर्नेछ र भने उसलाई ५ दिन जेलमा राखिनेछ ।
मेगा बैंकले साना किसानलाई व्यवसाय गर्न सहुलियतपुर्ण कर्जा दिने
काठमाडौं । मेगा बैंक नेपालले आइडीई नेपालसँग सम्झौता गरेको छ । साना किसानहरुको कृषि व्यवसाय प्रवर्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने बैंकले उक्त सम्झाैता गरेकाे हाे । सम्झाैतामा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडीई नेपालको नेपाल प्रमुख कोरी ओ हाराले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवंम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि आईडीई नेपालको सिफारिसमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । बैंकले साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । सम्झौता पत्रमा हस्ताक्षरपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यस्तै आइडीई नेपालका प्रमुख हारा एवम् आरएण्डडी ईनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुकीले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् । आइडीई नेपालसँगको सम्झौता अन्तर्गत मेगा बैंकले प्रवर्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको जनाएकाे छ ।
हिमालयन बैंकले आइतबार र शनिबार पनि सेवा दिने
काठमाडौं । हिमालयन बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि हिमालयन बैंकले भने ती दुवै दिन सेवा दिने सूचना सार्वजनिक गरेको हो । बैंकले समय सीमा निर्धारण गरेर विभिन्न शाखाहरु खुल्ने जनाएको हो । बैंकले ठमेल, पाटन, न्यूरोड, महाराजगंज भक्तपूर, भैरहवा, बुटवल, पोखरा, नेपालगञ्ज, भरतपुर र धनगढी लगायतका शाखा खुल्ने जनाएको हो । यी विभिन्न शाखा खुल्ने समय पनि बैंकले निर्धारण गरेको छ ।