श्रम स्वीकृति लिने बढेपनि रेमिट्यान्स घट्यो, ९ महिनामा आयो ७ खर्ब २४ मात्रै
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा रेमिट्यान्स घटेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई रु.७२४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,५६,०३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई रु.८०८ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।
कडाइ गर्दा पनि ३२ प्रतिशतले बढ्यो आयात, विदेशी मुद्रा सञ्चिति साढे ११ खर्ब मात्रै
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आयात ३२ प्रतिशतले बढेर रु.१४६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको देखिएकाे छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई रु.१६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई रु.१३०६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १६७ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १३९ अर्ब २८ करोड बराबरको भएको थियो । यस्तै, २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा रु.११६७ अर्ब ९२ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई रु.१०२१ अर्ब ४५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई रु.१४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।
लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने
काठमाडौं । लुम्बिनी विकास बैंकले एक अर्ब रकम बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न भएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष र ब्याजदर ११ प्रतिशत रहेको छ । ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।