सिटिजन्स बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले र्याडिसन होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले लाजिम्पाट स्थित र्याडिसन होटल साथै सो होटलद्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरुमा समेत विशेष छुट पाउनेछन् । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।
आईएफआइसी बैंक सेयर प्रकरण : दुगडको मुद्दामा कारण देखाऊ आदेश जारी
काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । दुगडले आइएफआइसी बैंकसहितलाई विपक्षी बनाएर दायर गरेकाे मुद्दामा आज अदालतले कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । गत पुसमा दुगड समुहबाट पाटन उच्च अदालतमा बंगलादेशको आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दुईवटा रिट परेको थियो । रिट निवेदकले चौधरीसँगको सेयर खरिद विक्रीको सम्झौता खारेज गरी आफूहरुसँग भएको सम्झौता अनुसार सेयर खरिद बिक्री हुनुपर्ने माग गरेका छन् । नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर खरिद प्रक्रिया विवादमा परेको छ । आईएफआईसीले बिक्री गर्न लागेको एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्न चाहेका नेपाली व्यवसायिक घराना कानुनी लडाइमा जुटेका हुन् । आईएफआईसीले विक्री गर्न लागेको एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्न दुई समुह सक्रिय भएर लागेको थियो । सनराइज बैंक संचालक समिति अध्यक्ष मोतिलाल दुगडको समन्वयमा व्यवसायीहरु शेखर गोल्छा, पशुपति मुरारका सहितको समुहले सेयर खरिदको प्रक्रिया अघि बढाइरहेको भनिएको समयमा अर्का व्यवसायी विनोद चौधरीले सेयर खरिद गरिसकेपछि विवाद अदालतसम्म पुगेको थियो । सम्बन्धित सामग्री : आईएफआईसी बैंकको सेयर बिक्री निर्णयका कागजपत्र माग्यो अदालतले दुगडले चौधरीलाई पुर्याए अदालतमा, कसले पाउला एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट हुने
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । यसका लागि बैंकले विमानस्थलमा पाँच वटा काउन्टर संचालनमा ल्याएको छ । बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याइएको छ । देशभर बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९९ शाखारहित बैंकिंङ सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।