नबिल बैंकले व्यवसाय गरिरहेका युवालाई क्यूआर कारोबारमा १० प्रतिशत क्यासब्याक दिने

काठमाडौं । नबिल बैंकले महिला तथा युवालक्षित क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंकले संयुक्त राष्ट्र पूँजी विकास कोषसँगकाे सहकार्यमा ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजना अन्तर्गत यो योजना सुरु गरेका हो । विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जनाएकाे छ । बैंककाे अनुसार युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेरकम आपनो स्वामित्वमा व्यवसाय भएकाहरु भनेर बुझ्नुपर्ने छ । यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो । एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रति कारोबार २०० नगद फिर्ता दिइनेछ । यो योजना असार महिनाभरी लागु हुने बताइएकाे छ बैंकले हाल १५० शाखा, १८७ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सेञ्चुरी कमर्सियल बैंकले धनगढीका किसानलाई ट्रयाक्टर किन्न सहुलियतमा कर्जा दिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिको लागि सहकार्य गर्ने सम्झौता भएको छ । बैंक र समूहबीच किसानलाई ट्रयाक्टर खरिद गर्न लगानी गर्ने बारे सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका छन् । योसँगै किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंकको सम्पूर्ण शाखा कार्यालयहरुले सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने छ ।  

मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसरमा पर्वातारोही लाक्पा देण्डी शेर्पा 

काठमाडौं । पर्वातारोही लाक्पा देण्डी शेर्पा मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसर नियुक्त भएका छन् । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बुधबार सो सम्झौता भएको हो । बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवद्रधन तथा संस्थागत मामिला विभाग प्रमुख वसन्त बक्शी र लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका छन् । शेर्पा एक सफल पर्वातारोही हुन् । तीन पटक सगरमाथा आरोहण गरेका उनले सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेटमा सगरमाथा आरोहण गर्ने गिनिज रेकर्ड होल्डर पनि हुन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।