नबिलसँग मर्जको हल्लाले बढ्यो एनसीसी बैंकको सेयर मूल्य, कारोबार पनि सर्वाधिक

काठमाडौं । नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको सेयरको भाउ बढ्न थालेको छ । लगानीकर्ता पनि यसै बैंककाे सेयरमा झुम्मिएका छन् । बिहीबार वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी एनसीसी बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता सेयर १० करोड ३५ लाख रुपैयाँमा किनबेच भएको छ । यो साता समग्रमा नेप्से परिसूचक घटिरहे पनि एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँले बढेको छ । बिहीबार मात्र यस बैंकको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँले बढेर २२२ रुपैयाँमा कारोबार बन्द भयो । जसको सेयर मध्यान्नमा प्रतिकित्ता २२७ रूपैयाँसम्ममा काराेबार भएकाे थियाे । केही दिनअघि यस बैंकको सेयर प्रतिकित्ता २०२ रुपैयाँसम्ममा झरेकाे थियाे । एक वर्षअघिदेखि नै नबिल र एनसीसी बैंकबीच मर्जरबारे समाचार बन्दै आएका छन् । तर एनसीसी बैंकका सञ्चालक एवं मर्जर कमिटिका एक सदस्यले भने मर्जरको विषयमा पछिल्लो समय छलफल नभएको बताए । ‘पहिला एक चरणमा एनसीसी र नबिलबीच मर्जको विषयमा धेरै प्रगति भएको थियो, अन्तिममा कुरो बिग्रिएको हो’ उनले भने- ‘अहिले त कुराकानी भएको मेरो जानकारीमा छैन’ ती सञ्चालकले भने । नबिलमा नेपाल बंगलादेश बैंक विलय हुँदैछ । नियम अनुसार त एउटासँगको मर्ज प्रक्रिया पुरा नभई अर्को मर्जर प्रक्रिया थाल्न मिल्दैन । तर यसअघि दुई बैंक तथा वित्तीय संस्था मर्जर चल्दै गर्दा तेस्रो सस्थासँग पनि मर्जर सम्झौता भएको र त्यसमा राष्ट्र बैंकले आँखा चिम्लिएको घट्ना धेरै छन् । राष्ट्र बैंकले असार मसान्तसम्म मर्जरमा नजानेलाई साउनदेखि मर्जर सम्बन्धि छुट सुविधा नहुने जनाएपछि पछिल्लो समय धेरै बैंकहरु भटाभट मर्जरमा जाँदैछन् । सम्बन्धित समाचार मर्जरमा जाने एनसीसी बैंककाे नीतिगत प्रस्ताव पारित, कुन बैंकसँग हुँदैछ मर्ज ? एनसीसी बैंकमा विनोद चौधरीको प्रवेश, बुक क्लोजअघि ३५ करोड लगानी राष्ट्र बैंकले पत्र लेखेपछि एनसीसी बैंकबाट विनोद चौधरी आउट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याबमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र महाराजगंज काठमाडौंमा अवस्थित काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

गभर्नर अधिकारी स्वीजरल्याण्ड जाँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वीजरलयाण्ड जाने भएका छन् । असार ११ र १२ गते स्वीजरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जाने भएका हुन् । त्यसका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति पनि दिइसकेको छ । उनी स्वीकजरल्याण्डबाट फर्केर आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि तयारी गर्ने बताइएको छ ।