हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक, मूल्य कति ?

काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट तथा नयाँ रंग सार्वजनिक गरेको छ । 

कम्पनीले हन्टर ३५० मा टार्माक ब्ल्याक नयाँ भेरियन्ट ल्याउनुका साथै टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट रंग थपेको हो ।

नयाँ भेरियन्टमा एलोय ह्विल, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस र सिंगल च्यानल एबीएस लगायतका सुविधा छन् । हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइकलिङ’को विशेषतालाई नयाँ भेरियन्टमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

नेपालमा गत वर्ष सार्वजनिक भएको हन्टर ३५० कम्प्याक्ट डिजाइन, नियो–रेट्रो लुक र सहज राइडिङ अनुभवका कारण नयाँ पुस्ताका राइडरमाझ लोकप्रिय हुँदै आएको कम्पनीको दाबी छ ।

दैनिक प्रयोगलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको नयाँ टार्माक ब्ल्याक भेरियन्टमा हन्टर ३५० को मौलिक रोडस्टर डिजाइनलाई कायम राखिएको छ ।

यसमा एलोय ह्विल, राउन्ड ह्यालोजन हेडलाइट, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल उपलब्ध छन् । त्यस्तै, सिंगल च्यानल एबीएससँगै स्लिप एन्ड असिस्ट क्लच पनि दिइएको छ । यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ । 

हन्टर ३५० को टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रंग थपिएका छन् ।

मुम्बई यल्लो मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई आकर्षक र युवा लुक दिने कम्पनीको दाबी छ ।

त्यस्तै, मुनसट ह्वाइटमा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको छ ।

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यदविन्दर सिंह गुलरियाले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताए । डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताका कारण यसको लोकप्रियता बढेको उनको भनाइ छ ।

नयाँ भेरियन्ट र रंगले थप राइडरलाई हन्टर ३५० रोज्ने अवसर प्रदान गर्ने उनले बताए ।

नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले पनि हन्टर ३५० ले नेपाली राइडरमाझ राम्रो सम्बन्ध बनाउन सफल भएको बताए । 

नयाँ भेरियन्ट र रंगले ग्राहकका लागि थप विकल्प सिर्जना गर्ने र यसले हन्टर ३५० को बजार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ ।

रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ टार्माक ब्ल्याक भेरियन्टको एक्स–शोरुम मूल्य ४ लाख ८७ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, मुम्बई यल्लो र मुनसट ह्वाइट रंगमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ रहेको छ ।

नयाँ भेरियन्ट तथा रंगका हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका रोयल इन्फिल्डका अधिकृत डिलरमार्फत सुरु हुने कम्पनीले जनाएको छ ।

Share News