नेपालमा पहिलोपटक सार्वजनिक हुँदै निसान टेकटन एसयूभी

काठमाडौं । नेपालका लागि निसान सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नयाँ निसान टेकटन एसयूभी नेपालमा पहिलोपटक सार्वजनिक गर्ने भएको छ ।

कम्पनीका अनुसार टेकटन आगामी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्रदर्शन गरिनेछ ।

विश्व बजारमा गत जुलाई ९ मा सार्वजनिक गरिएको टेकटन निसानको नयाँ प्रिमियम एसयूभी हो । आकर्षक डिजाइन, आधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनका कारण यसले नेपाली ग्राहकको ध्यान तान्ने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार टेकटनमा १०० प्रतिशत टर्बोचार्ज्ड इन्जिन, फराकिलो केबिन, ठूलो बुट स्पेस र इन्धन दक्षता उपलब्ध छ । यसले दैनिक प्रयोगदेखि लामो यात्रासम्म सहज अनुभव दिने बताइएको छ ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, उच्च–शक्तिको स्टिल बडी, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा प्रणाली जस्ता फिचर समावेश छन् । साथै, गुगल बिल्ट–इन प्रविधिमार्फत स्मार्ट कनेक्टिभिटी सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एक्स्पोमा आउने आगन्तुकले नयाँ निसान टेकटन नजिकबाट अवलोकन गर्न, यसका प्रविधि र विशेषताबारे जानकारी लिन तथा कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन् ।

Share News