काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक गरेको छ । बिहीबार महिन्द्रा गोरखाधारा शोरुममा आयोजित कार्यक्रममा उक्त पिकअपको औपचारिक अनावरण गरिएको हो ।
कम्पनीका अनुसार नयाँ बोलेरो क्याम्पर डीसी गोल्ड व्यावसायिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको हो । यसमा मजबुत क्षमता र दैनिक प्रयोगका लागि आवश्यक आरामदायी सुविधा समेटिएको छ ।
यो पिकअप व्यवसायी, किसान, उद्यमी तथा भरपर्दो सवारीसाधन प्रयोग गर्ने ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ । यसमा आरामदायी केबिन, नयाँ डिजाइन र आधुनिक फिचर समावेश गरिएको छ ।
नयाँ मोडलमा एयर कन्डिसनर (एसी), म्युजिक सिस्टम, लेदर सिट र आकर्षक बाह्य डिजाइन थप गरिएको छ । अघिल्लो संस्करणको शक्ति र टर्कलाई भने यथावत् राखिएको कम्पनीको भनाइ छ ।
यो पिकअप २ हजार ५२३ सीसी क्षमताको एम२ डीआई ४–सिलिन्डर डिजेल इन्जिनबाट सञ्चालित छ । यसले ३ हजार २०० आरपीएममा ५९.७ किलोवाट शक्ति र १ हजार ४०० देखि २ हजार २०० आरपीएमबीच २२० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ बोलेरो क्याम्पर डीसी गोल्डले नेपालको कठिन सडक र भौगोलिक अवस्थासमेत सहज रूपमा पार गर्न सक्ने क्षमता राख्छ । साथै उच्च तान्ने क्षमता, इन्धन दक्षता र भरपर्दो कार्यसम्पादन उपलब्ध गराउने दाबी गरिएको छ ।
कार्यक्रममा अग्नि ग्रुपका प्रतिनिधिले बोलेरो क्याम्परले दशकौँदेखि मजबुत बनावट, कम मर्मत खर्च र उत्कृष्ट कार्यसम्पादनका कारण ग्राहकको विश्वास जित्दै आएको बताए । नयाँ मोडलले थप सुविधा, आधुनिक डिजाइन र आरामदायी अनुभवमार्फत ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरे ।