नाइमा एक्स्पोमा राखिएका ७ महँगा कार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला अटोप्रेमीहरुले भरिभराउ छ । बुधबार नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ । नाइमाका अनुसार २ दिनमै ५५ हजारले एक्स्पोको अवलोकन गरेका छन् । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजिएका छन् । नाइमा एक्स्पोमा करिब १९ लाखदेखि झण्डै ३ करोडसम्म पर्ने महँगा र सस्ता कारहरू प्रदर्शनीमा राखिएका छन् । विभिन्न अटो कम्पनीहरुले उक्त कारहरु प्रदर्शनमा राखेका हुन् । डेन्जा बी फाइभ नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा एक्स्पोमा डेन्जा बी फाइभ राखेको छ । जुन नाइमा एक्स्पोमै महँगो कारका रुपमा रहेको छ । कम्पनीले प्रिमियम लग्जरी एसयूभी डेन्जा बी फाइभको मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकेको छ । डेन्जा बी फाइभ दुई भेरियन्टमा उपलब्ध छ । यसको डाइनामिक भेरियन्टको लम्बाइ ४८८८ एमएम र प्रिमियम भेरियन्टको लम्बाइ ४९२१ एमएम छ । दुवै भेरियन्टको चौडाइ भने समान १९७० एमएम छ । यसमा २८०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वील साइज पनि फरक छ । डाइनामिक भेरियन्टमा १८ इन्चको ह्वील छ । माथिल्लो प्रिमियम भेरियन्टमा २० इन्चको ह्वील पाउन सकिन्छ । डेन्जा बी फाइभ मोडलमा १४९७ सीसी क्षमताको टर्बो इन्जिन दिइएको छ । यक्त इन्जिनको अधिकतम १८१ एचपी पावर प्रदान गर्छ । इन्जिनको पीकटर्क भने २६० न्युटन मिटर रहेको छ । यसमा ईएचएस इलेक्ट्रीक हाइब्रिड सिस्टम उपलब्ध छ । उक्त सिस्टमसँग ३१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसमा ८३ लिटर क्षमको इन्धन ट्याङ्की छ । फुल ट्याङकी इन्धन र फुल चार्ज ब्याट्री छ भने ८५० किलोमिटर चलाउन सकिने डब्लूएलटीपी टेस्टमा देखिएको छ । ईभी मोडमा मात्रै ९० किलोमिटर हाराहारी चलाउन सकिन्छ । विद्युतीय मोटर निकै पावरफुल प्रयोग भएको छ । अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने बी फाइभ एसयूभीको अगाडि २०० किलोवाट र पछाडि २२५ किलोवाटको मोटर दिइएको छ । इन्जिन र मोटरको संयुक्त पावर ४२५ किलोवाट हुनेछ । निकै पावरफुल मोटर भएको कारण यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ४.८ सेकेण्ड मात्रै लाग्नेछ । यसको टप स्पीड क्षमता प्रतिघण्टा २१० किमी छ । डेन्जा बी फाइभले १०० किलोवाटको डीसी र ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । यो नाइमा एक्स्पोकै महँगो गाडी हो । एमजी मेजेस्टर इन्डिया मेड एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले पनि नाइमा एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक गरेको हो । कम्पनीले मेजेस्टर एसयूभीको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ । एमजी मेजेस्टर एसयूभीमा निकै शक्तिशाली इन्जिन छ । यसले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर गिनिज वल्र्ड रेकर्ड समेत बनाएको थियो । एमजी मेजेस्टरमा २.० लिटरको ट्विन टर्बोचाज्र्ड डिजेल इन्जिन छ । उक्त इन्जिनले २१५.५ पीएस पावर तथा ४७८.५ न्युटन टर्क उत्पादन गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । मेजेस्टर एसयूभी रियर ह्वील र फोर ह्वील दुवै ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, चौडाइ १८७६ एमएम र २९५० एमएम लामो ह्वीलबेस छ । यसको अगाडि विशाल ठूलो ग्लसी ब्ल्याक कलरको ग्रिल प्रयोग गरिएको छ । पछाडि दिइएको दुई वटा ‘एग्जस्ट पाइप’ले गाडीलाई थप स्पोर्टी बनाएको छ । एमजीको म्याक्सस डी ९० मा आधारित म्याजेस्टरले ठूला गाडी चाहनेहरूको आवश्यकता पूरा गर्नेछ । मेजेस्टरको ग्रिलको दुवै छेउमा ठाडो आकारमा दिइएको एलईडी हेडलाइट छ । हेडलाइटको माथि आइब्रो डिजाइनमा स्लीक एलईडी डे टाइम रनिङ लाइट दिइएको छ । अगाडिको बम्परको तल्लो भागमा रग्ड देखिने कालो बडी क्लाडिङ पाउन सकिन्छ । एमजीले यसमा १९ इन्चको ड्यूल टोन ह्वील दिएको छ । पछाडि कनेक्टेड एलईडी टेल लाइट दिएको छ ।पछाडि बम्परको तल्लो भागमा सिल्भर कलरको स्कीड प्लेट दिएको छ । एमजी मेजेस्टर जस्तोसुकै अफरोडमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेगरी आएको छ । यसमा १० वटा अफरोड मोडहरू सहितको फोर ह्वील ड्राइभ सिस्टम, ट्रिपल डिफरेंशियल लक (अगाडि, पछाडि र बीच), क्रल कन्ट्रोल र २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यसलाई ८१० एमएम गहिरो पानीमा पनि चलाउन सकिन्छ । सुरक्षाका लागि मेजेस्टरमा लेभल २ एडास दिइएको छ । यसको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इन्फर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील दिएको छ । थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउण्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिटले यात्रुको लागि यो उत्कृष्ट मोडल बनाएको छ । आयोनिक नाइन हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि नाइमा एक्स्पोमा आयोनिक नाइन बिक्री सुरु गरेको हो । कम्पनीले लक्जरी एसयूभी आयोनिक नाइनको मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकेको छ । ७ सिट क्षमताको यो एसयूभी लामो ड्राइभिङ रेन्ज, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा फिचर तथा तीव्र चार्जिङ क्षमताका कारण विश्व बजारमा चर्चित छ । आयोनिक नाइनलाई कम्पनीले आफ्नो ई जीएमपीमा आधारित रहेर बनाएको हो । ८०० भोल्ट विद्युतीय आर्किटेक्चर प्रयोग भएको एसयूभीले उच्च कार्यक्षमता, उत्कृष्ट स्थिरता, राम्रो तौल सन्तुलन कायम गर्छ । १६० किलोवाटको इलेक्ट्रीक मोटर रहेको यो एसयूभीमा ११० किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । यसले एक पटकको फुलचार्जमा ६२० किलोमिटरसम्म रेन्ज डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई करिब १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २४ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ । विभिन्न भेरियन्टमा उपलब्ध यो एसयूभीमा रियर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । विकल्पमा डुअल मोटर भएको अल ह्वील ड्राइभ सिस्टम पनि छ । तीव्र एक्सेलेरेसन, उच्च टर्क र सहज पावर डेलिभरीले यसलाई प्रिमियम इलेक्ट्रिक एसयूभी बनाएको छ । डिजाइनका हिसाबले पनि आयोनिक नाइनले हुन्डाईको नयाँ एरो एस्थेटिक डिजाइन दर्शनलाई पछ्याएको छ । एरोडाइनामिक बडी, पिक्सेल शैलीका एलईडी लाइट, क्लोजअफ ग्रिल पाउन सकिन्छ । इन्टेरियरमा डुअल प्यानोरामिक डिस्प्ले, डिजिटल ककपिट, प्रिमियम सामग्री, आरामदायी सिट, मल्टि जोन क्लाइमेट कन्ट्रोल, ओटीए सफ्टवेयर अपडेट, डिजिटल की, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६० डिग्री क्यामेरा पाउन सकिन्छ । हाइलक्स र र्याभ फोर नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुईवटा मोडल नाइमा एक्स्पोमै लन्च गरेको छ । जसमा हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी लन्च गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा र्याभ फोर हाइब्रिडको २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । बलियो निर्माण, अफरोड क्षमता र व्यावसायिक तथा व्यक्तिगत प्रयोगका लागि लोकप्रिय हाइलक्सको नयाँ संस्करणमा डिजाइन, प्रविधि र सुविधामा अपडेट गरिएको छ । नयाँ र्याभ फोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ । सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने र्याभ फोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ, जुन अहिले बजारमा रहेको र्याभ फोरको तुलनमा १८ पीएसले बढी हो । सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध हुनेछ । एचएस पीएचईभी एमजी (चीन)को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि नाइमा एक्स्पोमा एमजी एचएस पीएचईभी बिक्री सुरू गरेको हो । कम्पनीले एचएस प्लगइन हाइब्रिडको मूल्य १ करोड २० लाख रुपैयाँ तोकेको छ । पर्फमेन्स, विद्युतीय रेन्ज, व्यावहारिकता र मूल्यका कारण यो एसयूभी विश्व बजारमा निकै सफल छ । एमजी एचएस एसयूभीमा १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनसँगै १३५ किलोवाटको इलेक्ट्रीक मोटर जोडिएको छ । दुवैको संयुक्त रूपमा २९५ बीएचपी रहने छ । पावरफुल इन्जिन भएको कारण एचएस हाइब्रिड एसयूभीले ० देखि १०० किलोमिटरको स्पीड केबल ६.१ सेकेण्डमै भेट्टाउने छ । ब्याट्री र इलेक्ट्रीक मोटर प्रयोग भएको कारण चलाउन पनि निकै सहज लाग्छ । एमजी एचएस प्लगइन हाइब्रिड एसयूभीको सबैभन्दा ठूलो आकर्षण यसको विद्युतीय रेन्ज हो । कम्पनीले यसको आधिकारिक इलेक्ट्रीक रेन्ज १२० किलोमिटर दाबी गरेको छ । विभिन्न परीक्षणमा ११० किलोमिटर माथि प्योर ईभी रेन्ज पाइएको छ । रोचक कुरा के छ भने एमजी एचएस हाइब्रिड मोडलले प्रति किलोमिटर कार्बन उत्सर्जन केबल १२ ग्राम मात्रै गर्छ । औसत पेट्रोल कारले १०० किलोमिटरको यात्रा गर्दा १७ केजी कार्बन उत्सर्जन गर्छ । एमजी एचएसको अर्को बलियो पक्ष यसको फराकिलो इन्टेरियर हो । यसको ५०७ लिटर क्षमताको बुट स्पेस सेग्मेन्टकै ठूलो मानिन्छ । ड्यासबोर्डमा दुईवटा १२.३ इन्चका स्क्रीन दिइएको छ । यसमा १९ इन्चको एलोय ह्वील, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामेरा र किलेस इन्ट्रीजस्ता सुविधा उपलब्ध छन् । साथै, भेन्टिलेटेड फ्रन्ट सिट, हेडअप डिस्प्ले र वायरलेस स्मार्टफोन चार्जिङ सुविधा छ । कम्पनीले यसको मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीमा ८ वर्ष वा डेढ लाख किलोमिटर (जुन पहिला आउँछ) वारेन्टी दिएको छ । बीजे३० चिनियाँ अटोमोबाइल ब्राण्ड बीएआईसी (बेइक)को हाइब्रिड एसयूभी बीजे३० सार्वजनिक भएको छ । यो गाडी लक्ष्मी मोटरले नाइमा एक्स्पोमा सार्वजनिक गरेको हो । अफ-रोड डिजाइन र आधुनिक विद्युतीय प्रविधिको संयोजनको बीजे३०ईको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा बीएआइसी ब्राण्डको प्रवेशसँगै कम्पनीले हाइब्रिड प्रविधिसहितको एसयूभी बजारमा उतारेको हो । बीजे३०ई यसको हाइब्रिड पावरट्रेनले पेट्रोल इन्जिनसँग विद्युतीय मोटरको संयोजनमार्फत सञ्चालन गर्छ । यसले परम्परागत पेट्रोल एसयूभीको तुलनामा इन्धन खपत कम गर्ने तथा ड्राइभिङमा थप सहजता दिने लक्ष्य राख्छ । आकर्षक बक्सी डिजाइन, एलईडी लाइटिङ, ठूलो ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरूफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्मेन्ट स्क्रिन तथा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता फिचरले यसलाई प्रिमियम सेग्मेन्टमा प्रतिस्पर्धी बनाउने कम्पनीको विश्वास छ ।
२ दिनमै ५५ हजारले गरे नाइमा एक्स्पोमा अवलोकन
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको जनाएको छ । आयोजक नाइमाका अनुसार २ दिनमै ५५ हजारले एक्स्पोको अवकोलन गरेका छन् । एक्स्पोमा सहभागी कम्पनीहरुरूका अनुसार महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुचि देखिएको नाइमाले जनाएको छ । काठमाडौंको डिल्लीबजारबाट मेला अवलोकन गर्न आएका दिनेश महर्जनले नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारका कार बुक गर्ने महत्त्वपूर्ण अवसर भएको बताए । ‘म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ,’ उनले भने, ‘धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ । बिहान साढे ११ बजेदेखि अहिलेसम्ममा १८–२० वटा गाडीको बारेमा बुझिसकेँ होला ।’ अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् । आज दोस्रो दिन पनि विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । त्यस्तै, आज २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । उद्घाटनको दिन हिजो २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्। एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रुपमा रहेको छ । त्यस्तै, बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् । नाइमा मोबिलिटी एक्स्पोको को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।
नेपालमा एफडीआई भित्र्याउनै सकस : ‘पैसा ल्याउन गाह्रो, लैजान झन् गाह्रो’
काठमाडौं । नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित रुपमा भित्रिन नसकेको सरोकारवालाले बताएका छन् । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’मा सरोकारवालाले नेपालमा विदेशी लगानी आकर्षित गर्न आन्तरिक लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाका अनुसार गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२ अर्ब रुपैयाँ भित्रिएको छ । कार्यक्रममा उनले भने, ‘गत वर्ष नेपालमा करिब १२ अर्ब रुपैयाँ बराबरको एफडीआई भित्रिएको तथ्यांकमा देखिन्छ । त्यसमध्ये करिब ४ अर्ब रुपैयाँ लाभांश फिर्ताको रूपमा बाहिरिएको छ ।’ उनका अनुसार नेपाल राष्ट्र बैंकले हरेक वर्ष एफडीआई रिपोर्ट सार्वजनिक गर्छ । पछिल्लो प्रतिवेदन अनुसार हालसम्मको कुल मौज्दात एफडीआई ३४० अर्ब रुपैयाँ बराबर छ । जसमध्ये सबैभन्दा बढी लगानी भारतबाट छ, जुन करिब ५६–५७ प्रतिशत जति हुन आउँछ । त्यसपछि चीन, आयरल्यान्ड, अष्ट्रेलिया र सिङ्गापुरजस्ता देशहरू पर्छन् । क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी एफडीआई तीनवटा क्षेत्रमा आएको छ । जुन उत्पादनमूलक क्षेत्र, जलविद्युत र बैंक तथा वित्तीय संस्थालगायत रहेका छन् । यी तीन क्षेत्रले मात्रै करिब ८० प्रतिशत हिस्सा ओगटेका छन् । उद्योगतर्फ ५६ प्रतिशत र सेवा क्षेत्रतर्फ ४४ प्रतिशत लगानी रहेको तथ्यांकमा देखिन्छ । ‘एफडीआई यो विदेशी वित्तीय स्रोत मात्र होइन । यो प्रविधि, व्यवस्थापन, सुशासन र अन्य थुप्रै कुराहरू पनि हुन् जुन हामीले एफडीआईसँगै भित्र्याउँछौं । त्यसैले एफडीआई आउनु भनेको स्रोत आउनु मात्र होइन, हामीले त्यो सोच्ने प्रविधिदेखि लिएर उत्कृष्ट अभ्यासहरू पनि सँगसँगै लिएर आइरहेका हुन्छौं । त्यसैले एफडीआई इन्फ्लोलाई हामीले सङ्ख्याको रूपमा मात्र हेर्नुहुँदैन,’ उनले भने । एफडीआईलाई अलिकति फरक तरिकाले र वृहत् दृष्टिकोणबाट सोच्नुपर्ने उनको भनाइ छ । उनका अनुसार नेपालभन्दा कम एफडीआई आकर्षित गर्ने देशहरूमा अफगानिस्तान र भुटानमात्र छन् । माल्दिभ्सजस्तो सानो देशमा पनि ७६१ मिलियन डलरको एफडीआई इन्फ्लो छ । भारतको २८ बिलियन, पाकिस्तानको २ बिलियन, बंगलादेशको १.३८ बिलियन र श्रीलङ्काको ७११ मिलियन डलर छ । यी सबै देशहरूको जिडिपीसँगको अनुपात हेर्दा करिब ०.५ देखि ०.६ प्रतिशतको हाराहारीमा छ । तर नेपालको अवस्था एकदमै कमजोर रहेको उनले जानकारी दिए । ‘हामी एफडीआईमा कहाँ छौं र हाम्रो अवस्था कस्तो छ भन्ने बुझ्न सजिलो छ । अघिल्लो वर्ष विश्व बैंकको तथ्याङ्कअनुसार विश्वभरको एफडीआई इन्फ्लो ८४७.८ बिलियन अमेरिकी डलर थियो । यो भनेको विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको करिब ०.७५ प्रतिशत हो,’ तिमिल्सिनाले भने, ‘सोही अवधिमा नेपालको एफडीआई इन्फ्लो ७३.८ मिलियन अमेरिकी डलर मात्र थियो । यो हाम्रो जीडीपीको ०.१८ प्रतिशत मात्र हो । जहाँ विश्वव्यापी औसत ०.७५ प्रतिशत छ, हामी ०.१८ प्रतिशतमा सीमित छौं ।’ नेपाल लामो समयदेखि वैदेशिक लगानी भित्राएको डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचरले पनि नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन रहेको अनुभव सुनाए । खासगरी नेपालमा विदेशी लगानी (एफडीआई) भित्र्याउनभन्दा पनि नाफा वा लगानी फिर्ता लैजान चरम सास्ती भोग्नुपरेको उनको भनाइ छ । उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने ठूला लगानीकर्तामध्येका एक गोचरले झन्झटिलो प्रशासनिक प्रक्रिया र नीतिगत अस्थिरताले अन्तर्राष्ट्रिय लगानीकर्ता निराश बनेको बताए । उनले भने, ‘यो देशमा पैसा ल्याउन धेरै गाह्रो छ । देशबाट पैसा बाहिर लैजान त लगभग असम्भव छ’ उनले भने । उनका अनुसार एक समय सरकारले अन्तर्राष्ट्रिय कर सन्धि पालना नगर्ने अवस्था आएको थियो । पछि सरकारले कर सन्धि पालना गरे पनि त्यसविरुद्ध सार्वजनिक सरोकारको मुद्दा दायर भएपछि आफूहरूले अन्तर्राष्ट्रिय कानुन विपरीत कर तिर्नुपर्ने अवस्था आएको उनले बताए । कर तिर्नका लागि आवश्यक ‘ट्याक्स नम्बर’ प्राप्त गर्न चार महिना लागेको उनको अनुभव छ । त्यस्तै, लगानी गरेको कम्पनी बेचेर रकम फिर्ता लैजान खोज्दा समेत कम्पनीको बोर्ड बैठकको निर्णय मागिएको उनले बताए । स्टक एक्सचेन्जमा बिक्री गर्न अनुमति लिन यस्तो निर्णय आवश्यक पारिएको भन्दै उनले यस्तो प्रक्रिया अनावश्यक भएको बताए । ‘सयौं कागजपत्रहरू आवश्यक पर्छन्, जुन म आएको देश बेलायतमा केवल सेलमा क्लिक गर्दा पैसा जहाँबाट आएको हो त्यहीँ जान्थ्यो,’ उनले भने । उनले बेलायतजस्ता देशहरूमा एउटा क्लिकको भरमा हुने काम नेपालमा सयौं कागजी प्रक्रियामा अल्झिने गरेको भन्दै सरकार, राष्ट्र बैंक र उद्योग विभागले विदेशी लगानीकर्ताको ठाउँमा उभिएर रातो कार्पेट बिछ्याउनुपर्नेमा जोड दिए । आफूहरूले हालसम्म १०० मिलियन डलरभन्दा बढीको लगानी प्रतिबद्धता गरिसकेको भए पनि नेपाललाई चाहिने वैदेशिक लगानीको तुलनामा कम भएको उनको भनाइ छ । आन्तरिक लगानीकर्ताको मनोबल नबढाएसम्म विदेशी लगनाीकर्ता ल्याउन नसकिने बैंकरको पनि अनुभव छ । उक्त कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले लगानीको माग नहुँदा बैंकमा तरलता थुपिएको सुनाए । ‘अहिले लगभग साढे १३ देखि १४ खर्ब रुपैयाँको हाराहारीमा डिपोजिट सरप्लस छ । यो पैसा सरकारको एक वर्षको पुँजीगत खर्च गर्ने क्षमताभन्दा तीन गुणा बढी हो,’ ज्ञवालीले भने, ‘ब्याजदर सिंगल डिजिटमा मात्र होइन, एकल बिन्दुमा आउँदा पनि बजारमा कर्जाको माग छैन ।’ असार मसान्तयता मात्रै बैंकिङ क्षेत्रमा कर्जा प्रवाह ३० अर्ब रुपैयाँले घटिसकेको ज्ञवालीले जानकारी दिए । राष्ट्र बैंकले २.७५ प्रतिशतमा निक्षेप खिचेर बैंकहरूलाई राहत दिएपनि वास्तविक समस्या अर्थतन्त्रको माग र विश्वासमा रहेको उनको भनाइ छ । व्यवसायीहरूमा छाएको निराशा हटाउन सरकारले पहलकदमी लिनुपर्ने ज्ञवालीको जोड छ । खासगरी व्यावसायिक गल्ती र फौजदारी अभियोगलाई फरक रूपमा हेरिनुपर्ने उनी बताउँछन् । ‘अहिले वित्तीय अपराध र फौजदारी अभियोगलाई अलग गरौं भन्ने छलफल चलेको छ । कसैले वित्तीय अपराध गरेको छ भने त्यसलाई आर्थिक रूपमै सजाय दिनुपर्छ । थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ,’ ज्ञवालीले भने । उनका अनुसार सरकारको तर्फबाट पनि केही कुराहरूमा सुधारको खाँचो छ । वित्तीय अपराध र प्रशासनिक वा फौजदारी अभियोगलाई छुट्टाउनुपर्छ । यदि कोही व्यवसायीले नियतवश गल्ती गरेको छैन भने उसलाई अपराधीको जस्तो व्यवहार गर्नुहुँदैन । यसले लगानीकर्ताको मनोबल गिराउँछ । ‘निजी क्षेत्रको विश्वास जित्नु निकै महत्त्वपूर्ण छ । मुलुकको डेलिभरी र समृद्धिका लागि स्रोत चाहिन्छ र त्यो स्रोत निजी क्षेत्रको लगानीबाट मात्र सम्भव छ । त्यसैले इमानदार व्यवसायीको मनोबल उच्च राख्ने र बदमासहरूलाई कारबाही गर्ने प्रणाली विकास गर्नुपर्छ,’ ज्ञवालीले भने । ज्ञवालीकै भनाइमा सहमति जनाउँदै नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पनि सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास नगर्ने स्थिति सिर्जना हुने बताइन् । उनले वित्तीय अपराध र फौजदारी अभियोगलाई छुट्ट्याउनु पर्नेमा जोड दिइन् । कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको उनको भनाइ छ । ‘अहिलेको अवस्थामा सबैभन्दा ठूलो समस्या भनेको विश्वासको अभाव हो । सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने र निजी क्षेत्रले सरकारलाई विश्वास नगर्ने स्थिति छ,’ वैद्यले थपिन, ‘हामी नीतिहरूलाई विश्वास गर्दैनौं र नीतिहरू पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले बनेको देखिँदैन । लगानीकर्तालाई शङ्काको नजरले हेर्नुको सट्टा स्वागत गर्ने संस्कृति विकास गर्नुपर्छ ।’ नेपालले दुई ठूला अर्थतन्त्रका बीचमा रहेकाले धेरै क्षेत्रमा एकैसाथ हात हाल्नुभन्दा सम्भावना र तुलनात्मक लाभ भएका क्षेत्रमा प्राथमिकता दिनुपर्ने उनले बताएकी छन् । साना र सीमित श्रमशक्ति भएका कारण नेपालमा ठूला उत्पादनमूलक उद्योगहरूमा ‘इकोनोमी अफ स्केल’ हासिल गर्न कठिन हुने बताउँदै उनले सूचना प्रविधि, पर्यटन, उच्च मूल्यका कृषि बाली र जलविद्युतमा आधारित नवीन उद्योगहरूमा ध्यान केन्द्रित गर्नुपर्ने जोड दिइन् । विशेषगरी, आईटी र पर्यटन क्षेत्र नेपालका लागि सबैभन्दा उपयुक्त रहेको वैद्यको भनाइ छ । उनले भनिन्, ‘जहाँ टोल र डिस्टेन्स हुँदैन, त्यस्ता क्षेत्रमा हामीले ध्यान दिने हो । आईटी क्षेत्रका लागि हामीसँग राम्रो कार्यशक्ति तयार भइरहेको छ । यसबाट युवाहरू रोजगारी खोज्ने मात्र नभई आफैँ उद्यमी बन्न सक्छन् ।’ त्यस्तै, पर्यटन क्षेत्रले बाहिरको पैसा भित्र्याउने र यसमा प्रशासनिक झमेलाहरू पनि तुलनात्मक रूपमा कम हुने भएकाले निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सक्ने उनले उल्लेख गरिन् । ‘अब धान र कोदो मात्र होइन, हामीले अन्जिर वा बदाम जस्ता बालीहरूको बारेमा सोच्नुपर्छ । पन्जाबका किसानहरू आज क्यालिफोर्निया पुगेर ओखर र बदाम खेती गरेर धनी भएका छन्,’ उनले भनिन्, ‘हामीले पनि थोरै जमिनबाट धेरै आम्दानी हुने यस्ता सम्भावनाको मूल्याङ्कन गर्नुपर्छ ।’ जलविद्युतको क्षेत्रमा सुख्खा बिजुली छिमेकी देशलाई बेचेर मात्र चित्त बुझाउन नहुने वैद्यको धारणा छ । उनले बिजुलीको आन्तरिक खपत बढाउन नवीन प्रविधि ल्याउनुपर्ने बताइन् । ‘कच्चा बिजुली मात्र छिमेकी देशहरूलाई बेच्नुभन्दा, हामीले ‘ग्रीन हाइड्रोजन’ र ‘अमोनिया’ जस्ता प्रविधिहरू अपनाउनुपर्छ, जसले सिमेन्ट र स्टिल उद्योगहरूलाई ‘डिकार्बोनाइज’ गर्न मद्दत गर्छ । बाहिर बिजुली बेचेर मात्र कमाउन खोज्नुभन्दा देशभित्रै यसको प्रयोग गरेर परनिर्भरता घटाउनुपर्छ,’ उनले भनिन् । त्यस्तै, उनले एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) ले पुँजीमात्र नभई अन्तर्राष्ट्रिय ज्ञान, प्रविधि र विकासका नयाँ आयामहरू पनि भित्र्याउने भएकाले आन्तरिक लगानीकर्ताको मनोबल उच्च बनाएर वैदेशिक लगानी भित्र्याउन सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्ने बताइन् । उनका अनुसार आन्तरिक लगानीकर्ताहरूमा आत्मविश्वास नभई बाहिरबाट लगानी आउन गाह्रो हुन्छ । त्यसैले सरकारले आफ्ना नीति र नियमहरूलाई लगानीमैत्री बनाउनुपर्छ । यदि चाँडै यी कुराहरूमा सुधार भएन भने मानिसहरूको धैर्य टुट्दै जाने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने उनको भनाइ छ ।