लिफ्ट र चीनको बाइडुले युरोपमा रोबोट्याक्सी सेवा सुरु गर्ने
काठमाडौं । अमेरिकी राइड-हेलिङ कम्पनी लिफ्टले सोमबार चीनको बाइडुसँग साझेदारी गर्दै अर्को वर्षदेखि युरोपभर रोबोट्याक्सी सञ्चालन गर्ने जानकारी दिएको छ । यो साझेदारीमार्फत चिनियाँ सर्च इञ्जिन कम्पनी बाइडु पहिलोपटक युरोपको स्वचालित ट्याक्सी बजारमा प्रवेश गर्नेछ । सुरुआतमा यो सेवा जर्मनी र बेलायतमा सुरु गरिनेछ, जहाँ बाइडुको विद्युतीय आरटी सिक्स रोबोट्याक्सीहरू लिफ्टको प्लेटफर्ममा सञ्चालन हुनेछन् । यद्यपि नियामक स्वीकृति पर्खिरहेकै अवस्थामा छन् । यो योजनाअनुसार आउँदा वर्षहरूमा हजारौं सवारीसाधन युरोपभर विस्तार गरिनेछ । लिफ्टले हालै युरोपेली मोबिलिटी एप ‘फ्रीनाओ’ लाई २० करोड डलरमा खरिद गरेको छ, जसको प्रक्रिया बिहीबार मात्र पूरा भएको थियो । यो सम्झौताले लिफ्टलाई ९ देश र १८० भन्दा बढी सहरमा सेवा विस्तार गर्ने अवसर दिएको छ, जुन उत्तर अमेरिकाबाहिर लिफ्टको पहिलो ठूलो विस्तार हुनेछ । साझेदारीअन्तर्गत लिफ्टले प्लेटफर्म सञ्चालन, ग्राहक सेवा र सवारी व्यवस्थापन गर्नेछ भने बाइडुले आत्मचालित सवारीसाधन र प्राविधिक ज्ञान उपलब्ध गराउनेछ । ‘हामीलाई ‘फ्रीनाओ’ सँगको सहकार्यमा उत्साहित बनाउने कुरा यो हो कि तिनीहरूसँग नियामकहरूसँग बलियो सम्बन्ध छ र हामी पनि त्यस्ता संवाद गर्न चाहन्छौं,’ लिफ्टका कार्यकारी उपाध्यक्ष जेरेमी बर्डले रोयटर्ससँग भने । बेलायत सरकारले रोबोट्याक्सी सेवा २०२६ को स्प्रिङसम्म भुक्तानीसहितका यात्रुहरूसँग सुरू गर्ने योजना अघि सारेको छ । उबर र वेभी जस्ता कम्पनीहरू पनि नियामक स्वीकृति पाएपछि सेवा सुरू गर्न तयार छन् । यो सहकार्य त्यस्तो बेला भएको हो जब लिफ्टको प्रतिस्पर्धी उबरले विश्वव्यापी रोबोट्याक्सी विस्तार गरिरहेको छ( जसमा वेमो, पोनी एआई, वीराइड र मोमेन्टासँग सहकार्य गर्दै युरोपमा पनि २०२६ मा सेवा सुरू गर्ने योजना छ । बाइडुको अपोलो गो सेवा हाल विश्वभरका १५ सहरमा १ हजारभन्दा बढी गाडीमार्फत सञ्चालनमा छ र ११ लाखभन्दा बढी राइड सम्पन्न गरिसकेको छ, तर लिफ्टसँगको यो सहकार्यमार्फत बाइडुले युरोपमा पहिलोपटक व्यावसायिक सेवा सुरू गर्न लागेको हो । मस्कलाई टेस्लाको २९ अर्ब डलरको सेयर बोनस, नेतृत्व जोगाउन बोर्डको नयाँ चाल भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने, २ अर्ब डलरको लगानी योजना
एथरको नयाँ फ्यामिली स्कुटर ‘रिस्ता’ सार्वजनिक, एकपटक चार्ज गर्दा १२५ किमि गुड्ने
काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी एथर एनर्जीले आफ्नो नयाँ फ्यामिली स्कुटर ‘एथर रिस्ता’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा एक विशेष कार्यक्रमका बीच यो स्कुटरको प्रि-लन्च गरेको हो । यसको आधिकारिक बिक्री तथा मूल्य घोषणा भने आगामी नाइमा अटो मोबिलिटीमा गरिने कम्पनीले जनाएको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले ल्याएको ‘रिस्ता’ विशेषगरी पारिवारिक प्रयोजनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यो स्कुटरमा फराकिलो र लामो सिट, आकर्षक डिजाइन र अत्याधुनिक फिचरहरू समावेश छन्। नेपालमा सार्वजनिक गरिएको एथर रिस्ता ३।७ किलोवाट आवर ब्याट्री क्षमताको ‘जेड’ भेरियन्ट हो । कम्पनीका ओभरअल बिजनेस हेड प्रदिप अधिकारीका अनुसार यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिन्छ । यो रेन्ज अनरोडमा दुई जना सवार हुँदाको वास्तविक रेन्ज भएको उनले दाबी गरे । यसको कम्पनी सर्टिफाइड रेन्ज भने १५९ किलोमिटर रहेको छ । रिस्ताको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर रहेको छ । एथर रिस्तामा अन्य एथर स्कुटरहरूमा जस्तै अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा स्मार्ट न्याभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल र फल सेफ जस्ता सेफ्टी फिचरहरू छन् । यसको सबैभन्दा प्रमुख विशेषता भनेको ‘ट्र्याक्सन कन्ट्रोल’ हो । यो फिचरका कारण स्कुटरलाई अफ-रोड, चिप्लो बाटो वा पानी परेको अवस्थामा पनि सुरक्षित रूपमा चलाउन सकिन्छ । मोड परिवर्तन गरेर यसलाई जुनसुकै सडक अवस्थामा पनि सहजै गुडाउन मिल्ने अधिकारीले जानकारी दिए । कम्पनीले रिस्ताको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । साथै मोटर र अन्य पार्टपुर्जामा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ । ग्राहकलाई थप विश्वास दिलाउन कम्पनीले ब्याट्रीको वारेन्टीलाई ८ वर्ष वा ८० हजार किलोमिटरसम्म बढाउन मिल्ने सुविधा पनि दिएको छ । कम्पनीले नाइमा एक्स्पोमा आकर्षक अफरहरूसहित ‘रिस्ता’ को मूल्य घोषणा गर्ने र बिक्री सुरु गर्ने तयारी गरेको छ ।
बजाजको चेतक इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख २४ हजार
काठमाडौं । बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपले चर्चित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम र सर्भिस सेन्टर उद्घाटन गर्दै ’चेतक ३५०१’ मोडलको बिक्री सुरु गरेको हो । कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । यो स्कुटर रातो, कालो, हरियो, हेजल नट र निलो गरी पाँच विभिन्न रङमा उपलब्ध रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए । नेपाली बाटो सुहाउँदो, लोमान्थाङसम्म परीक्षण निर्देशक गोल्छाका अनुसार चेतक नेपाली सडक र परिस्थितिमा अत्यन्तै सुहाउँदो इलेक्ट्रिक स्कुटर हो । ‘यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले नेपालको टेरेनमा उत्कृष्ट पर्फर्मेन्स दिन सक्छ,’ उनले भने, ‘हामीले यसको परीक्षणका लागि लोमान्थाङसम्म लगेका थियौं, र यो त्यहाँसम्म पुग्ने पहिलो इभी स्कुटर हो ।’ सर्भिसमा विशेष ध्यान, नेपालकै ठूलो इभी सर्भिस सेन्टर ग्राहकको सबैभन्दा ठूलो चिन्ताको विषय आफ्टर सेल्स सर्भिसलाई ध्यानमा राख्दै कम्पनीले नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक टु–व्हीलर सर्भिस सेन्टर स्थापना गरेको छ । ‘हामी ग्राहकलाई सर्भिसको पूर्ण विश्वास दिलाउन चाहन्छौं। हामीसँग तालिम प्राप्त इभी विशेषज्ञ र स्पेयर पाट्र्सको पर्याप्त उपलब्धता छ,’ गोल्छाले भने, ’त्यसैले इभीमा स्विच गर्ने यो उत्तम मौका हो । ’ मोबाइल एपबाटै कन्ट्रोल, सुरक्षाका लागि विशेष फिचर चेतक ३५०१ मोडल अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । यसलाई कम्पनीको ‘चेतक एप’ मार्फत मोबाइलबाटै नियन्त्रण गर्न सकिन्छ । यसमा विभिन्न सुरक्षा फिचरहरू रहेका छन् । जसमा मोबाइलबाटै स्कुटर लक वा बन्द गर्न सकिन्छ । निश्चित भौगोलिक क्षेत्र तोकेर त्योभन्दा बाहिर गएमा स्कुटर स्वतः बन्द हुन्छ भने स्कुटर कहाँ छ भनेर फोनबाटै हेर्न सकिन्छ । चाहेको स्पिडमा लिमिटर सेट गर्न सकिन्छ । यसका साथै स्कुटर ढलेमा वा दुर्घटना भएमा मोबाइलमा नोटिफिकेसन आउने सुविधा पनि छ । ब्याट्री, रेन्ज र चार्जिङ चेतकमा ३.५ किलोवाटको ब्याट्री र ४.२ किलोवाटको पिक पावर मोटर जडान गरिएको छ । जसले उकालो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिन्छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ भने नेपाली सडकमा वास्तविक रेन्ज १३५ किलोमिटर छ । यसमा फास्ट चार्जिङ सुविधा छ । जसले गर्दा ३ घण्टामा ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । कम्पनीले सुरुवाती चरणमा नक्साल शोरुमबाट मात्र बिक्री गर्ने र ग्राहकको विश्वास जितेपछि बजाजको नेटवर्कमार्फत देशभर विस्तार गर्ने योजना बनाएको छ ।