नाडा अटो शोमा यामाहाका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक हुँदै

काठमाडौं । नाडा अटो शो २०२६ मा यामाहाले नेपाली बजारका लागि आफ्ना नयाँ स्कुटर तथा मोटरसाइकल भेरियन्ट सार्वजनिक गर्ने भएको छ । विभिन्न शैली, आवश्यकता र रुचिका राइडरलाई लक्षित गर्दै कम्पनीले एरोक्स १५५ एस, फेसिनो एस हाइब्रिड, फेसिनो डिस्क हाइब्रिड र आर१५ एसका नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो ।

यामाहाका अनुसार नयाँ एरोक्स १५५ एस विशेषगरी पर्फर्मेन्स र स्पोर्टी राइडिङ अनुभव खोज्ने राइडरलाई लक्षित गरी ल्याइएको हो । १५५ सीसी इन्जिन, स्पोर्टी डिजाइन र की–लेस स्टार्ट फिचर रहेको यो स्कुटरले मोटरसाइकलजस्तै राइडिङ अनुभव दिने कम्पनीको दाबी छ । की–लेस प्रविधिका कारण चाबी प्रयोग नगरी इन्जिन स्टार्ट गर्न सकिने सुविधा पनि यसमा उपलब्ध छ ।

दैनिक प्रयोगसँगै स्टाइललाई प्राथमिकता दिने ग्राहकका लागि यामाहाले फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिडका नयाँ संस्करण पनि सार्वजनिक गर्दैछ । कम्पनीका अनुसार आकर्षक डिजाइन, आरामदायी राइड र इन्धन दक्षतासहित यी स्कुटर युवा राइडरलाई लक्षित गरेर तयार पारिएका हुन् ।

त्यस्तै, आर१५ एस र आर१५ एमका नयाँ भेरियन्ट ‘न्यु आर इन्स्टिंक्ट’ अवधारणामा आधारित हुने कम्पनीले जनाएको छ । उत्कृष्ट रोड प्रेजेन्स र स्पोर्टी राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यले परिमार्जन गरिएका यी मोडलले यामाहाको लोकप्रिय आर सिरिजलाई थप आकर्षक बनाउने विश्वास कम्पनीको छ ।

एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा बढ्दो राइडर समुदायसँग जोडिन नाडा अटो शो महत्त्वपूर्ण मञ्च भएको बताए । उनका अनुसार नयाँ भेरियन्टमार्फत पर्फर्मेन्स, प्रविधि, स्टाइल र व्यक्तित्वलाई समेट्ने उत्पादन ग्राहकसम्म पुर्याउने लक्ष्य राखिएको छ ।

एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिअनुसार नयाँ उत्पादन ल्याउन यामाहा निरन्तर केन्द्रित रहेको बताए । उनले नाडा अटो शोमा आगन्तुकले नयाँ मोडललाई नजिकबाट अवलोकन गर्न र अनुभव गर्न सक्ने जानकारी दिए ।

कम्पनीका अनुसार नाडा अटो शो २०२६ मा यामाहाका यी नयाँ भेरियन्ट आधिकारिक रूपमा सार्वजनिक गरिनेछन् । आगन्तुकले यामाहाको ब्लु च्याम्बरमा पुगेर नयाँ मोडलको अवलोकन गर्न सक्नेछन् ।

Share News