काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्रलाई रि–इन्जिनियरिङ गर्नुपर्ने बेला आएको बताएका छन् ।
नाडा अटो शो २०२६ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याएका हुन् ।
राजस्वमा ठूलो योगदान, तर राज्यको उपेक्षा कार्यक्रममा बोल्दै नाडाका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले अटोमोबाइल क्षेत्रले देशको कुल राजस्वमा करिब ८ देखि ९ प्रतिशत योगदान पुर्याइरहेको उल्लेख गरे ।
गत वर्ष १०६ खर्बको आयात हुँदा अटो क्षेत्रबाट मात्रै ८१ देखि ८२ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताउँदै उनीहरूले यति ठूलो योगदान दिने क्षेत्रलाई केवल विलासिताबवा कर उठाउने माध्यमका रूपमा मात्र
हेर्नु दुःखद रहेको गुनासो गरे ।
उनले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकारसँग ठोस योजना माग गरे ।
‘झन्डै २०–२२ अर्बको त स्पेयर पार्ट्स मात्र आयात हुन्छ,’ उनले भने, ‘यसलाई नेपालमै उत्पादन गर्ने वातावरण बनाउन सरकारले एसेम्बलिङ र कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङमा विशेष प्रोत्साहन दिनुपर्छ ।’
विगतमा सरकारले उद्योग खोल्न आग्रह गरे पनि उद्योग स्थापना भएपछि आइपर्ने समस्या समाधानमा ध्यान नदिएको उनको आरोप थियो ।
युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले आगामी १० वर्ष नेपालका लागि जनसांख्यिक लाभ लिने अन्तिम अवसर भएको बताए ।
‘अबको १० वर्षपछि हामीले यो युवा शक्ति पाउने छैनौं,’ उनले भने, ‘त्यसैले स्वदेशमै उत्पादन बढाएर वास्तविक ज्याला वृद्धि गरी युवाहरूलाई देशमै रोक्नुपर्ने चुनौती छ ।’
उनले अटोमोबाइल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न सरकारले नयाँ रणनीति र स्पष्ट पोलिसी ल्याउनुपर्नेमा विशेष जोड दिएका थिए ।
नाडा अटो शो २०२६ ले अटो क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास समेत उनले गरेका छन् ।
सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यमा निजी क्षेत्र
हातेमालो गर्न तयार रहेको प्रतिबद्धता उनले व्यक्त गरे ।
तर, यसका लागि राज्यले लगानीमैत्री नीति र व्यवसायीहरूलाई दिगो सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको माग छ।