काठमाडौं । नाडा अटो शो २०२६ को पहिलो दिन सीजी एमएडब्लु इभोलुसन प्रालिले नेपालमा प्रिमियम तथा इन्टेलिजेन्ट विद्युतीय एसयूभी अवतार ०७ औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडलसँगै नेपाली बजारमा अत्याधुनिक प्रविधि र विलासी सुविधायुक्त विद्युतीय सवारीसाधन भित्रिएको जनाएको छ ।
अवतार ०७ को अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, चाङ्गान इन्टरनेसनल कर्पोरेसनका प्रतिनिधि दु काइजियान (केभिन) र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा गरेका हुन् ।
कम्पनीका अनुसार 'स्मार्ट एलिगेन्स, एफर्टलेस लक्जरी' अवधारणामा तयार गरिएको अवतार ०७ मा आधुनिक डिजाइन, बौद्धिक प्रविधि, आरामदायी क्याबिन र उच्च कार्यक्षमतायुक्त विद्युतीय प्रणाली समेटिएको छ ।
यो प्रिमियम एसयूभीमा ८२.१६ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । एनईडीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा यसले अधिकतम ५७५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । रियर–ह्विल–ड्राइभ पावरट्रेनले १९० किलोवाट पावर र ३६५ एनएम टर्क उत्पादन गर्नेछ भने गाडीले ७.७ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीले जनाएको छ ।
अवतार ०७ को क्याबिनमा ३५.४ इन्चको फोर–के पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर सिट, ६४ रङको एम्बियन्ट लाइटिङ र १६ स्पिकरसहितको पायोनियर अडियो सिस्टम जस्ता सुविधा उपलब्ध छन् ।
यसमा जिरो–ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन र हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो तथा ५० वाटको वायरलेस स्मार्टफोन चार्जर समेत समावेश गरिएको छ ।
सुरक्षातर्फ अवतार ०७ मा ९ वटा एयरब्याग सहित विभिन्न इन्टेलिजेन्ट ड्राइभर–असिस्टेन्स प्रणाली उपलब्ध छन् । यी प्रणालीलाई लाइडार, हाई–डेफिनिसन क्यामेरा र अल्ट्रासोनिक राडारले सहयोग गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरेको छ । एफएचडी संस्करणको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ । नाडा अटो शो अवधिभर आगन्तुकले अवतार पेभिलियनमा नयाँ एसयूभीको प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् ।