हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक, मूल्य कति ?
काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट तथा नयाँ रंग सार्वजनिक गरेको छ । कम्पनीले हन्टर ३५० मा टार्माक ब्ल्याक नयाँ भेरियन्ट ल्याउनुका साथै टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट रंग थपेको हो । नयाँ भेरियन्टमा एलोय ह्विल, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस र सिंगल च्यानल एबीएस लगायतका सुविधा छन् । हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइकलिङ’को विशेषतालाई नयाँ भेरियन्टमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ । नेपालमा गत वर्ष सार्वजनिक भएको हन्टर ३५० कम्प्याक्ट डिजाइन, नियो–रेट्रो लुक र सहज राइडिङ अनुभवका कारण नयाँ पुस्ताका राइडरमाझ लोकप्रिय हुँदै आएको कम्पनीको दाबी छ । दैनिक प्रयोगलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको नयाँ टार्माक ब्ल्याक भेरियन्टमा हन्टर ३५० को मौलिक रोडस्टर डिजाइनलाई कायम राखिएको छ । यसमा एलोय ह्विल, राउन्ड ह्यालोजन हेडलाइट, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल उपलब्ध छन् । त्यस्तै, सिंगल च्यानल एबीएससँगै स्लिप एन्ड असिस्ट क्लच पनि दिइएको छ । यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ । हन्टर ३५० को टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रंग थपिएका छन् । मुम्बई यल्लो मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई आकर्षक र युवा लुक दिने कम्पनीको दाबी छ । त्यस्तै, मुनसट ह्वाइटमा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको छ । रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यदविन्दर सिंह गुलरियाले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताए । डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताका कारण यसको लोकप्रियता बढेको उनको भनाइ छ । नयाँ भेरियन्ट र रंगले थप राइडरलाई हन्टर ३५० रोज्ने अवसर प्रदान गर्ने उनले बताए । नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले पनि हन्टर ३५० ले नेपाली राइडरमाझ राम्रो सम्बन्ध बनाउन सफल भएको बताए । नयाँ भेरियन्ट र रंगले ग्राहकका लागि थप विकल्प सिर्जना गर्ने र यसले हन्टर ३५० को बजार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ टार्माक ब्ल्याक भेरियन्टको एक्स–शोरुम मूल्य ४ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, मुम्बई यल्लो र मुनसट ह्वाइट रंगमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ रहेको छ । नयाँ भेरियन्ट तथा रंगका हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका रोयल इन्फिल्डका अधिकृत डिलरमार्फत सुरु हुने कम्पनीले जनाएको छ ।
नुवाकोटका होल्डिङ सेन्टर र खानेपानीका मुहानमा गुणस्तर परीक्षण सुरु
काठमाडौं । बाढी तथा विपद्का कारण खानेपानीमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नुवाकोटका विभिन्न क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमन भइरहेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुर, युनिसेफ नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोट तथा वास क्लस्टर नुवाकोटको संयुक्त टोलीले जिल्लाका विभिन्न होल्डिङ सेन्टर तथा मुहानदेखि धारासम्मको खानेपानीको गुणस्तर परीक्षण गरिरहेको छ। बाढी तथा विपद्का कारण खानेपानीका स्रोतमा दूषित पदार्थ मिसिन सक्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षित तथा स्वच्छ खानेपानीको सुनिश्चितताका लागि परीक्षण तथा अनुगमन कार्यलाई निरन्तरता दिइएको मन्त्री लम्सालले बताए । विपद्का समयमा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्दै सर्वसाधारणलाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले मुहानदेखि धारासम्म पानीको गुणस्तर परीक्षण तथा आवश्यक अनुगमन भइरहेको उनले जनाए ।
बिहीबार भारत भ्रमणमा जाँदै अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्। उनी बिहीवार (भोलि) ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् । बुधवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुने अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ । विपद्पछिको पुनःनिर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य हुने जनाइएको छ । बिहीवार साँझ ५ बजे वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । यस्तै, शुक्रवार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ । सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । शुक्रवार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै, शनिवार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुने जनाइएको छ । शनिवार दिउँसो नै अर्थमन्त्री वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने मन्त्रालयले जनाएको छ । उनी शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ ।
२२ कम्पनीको १९.२५ अर्ब लाभांश, साढे ६ अर्ब बोनसमा नगद कति ?
काठमाडौं । लगानीकर्ताले कम्पनीमा पैसा लगाउँदा प्रतिफलको अपेक्षा गरेका हुन्छन् । आर्थिक वर्ष सकिएसँगै उनीहरूको चासो हुन्छ- आफूले लगानी गरेको कम्पनीले यस वर्ष कति लाभांश देला ? त्यसमाथि आर्थिक वर्ष सकिएको केही महिनामै नेपालीहरूको प्रमुख पर्व दशैंतिहार आउने भएकाले चाडपर्वअघि नै आफूले लगानी गरेको कम्पनीले नाफाको हिस्सा सेयरधनीलाई बाँडोस् भन्ने अपेक्षा लगानीकर्ताको हुन्छ । चाडपर्वको खर्च व्यवस्थापनदेखि लगानीबाट प्रतिफल प्राप्त गर्ने अवस्थासम्म, दशैंतिहारअघि आउने लाभांशले लगानीकर्ताको चासो थप बढाउने गरेको छ । विशेषगरी पुँजी बजारमा सूचीकृत कम्पनीले घोषणा गर्ने लाभांशलाई लगानीकर्ताले नजिकबाट नियाल्ने गर्छन् । कुन कम्पनीले नगद लाभांश दिँदैछ, कुनले बोनस सेयर, लाभांशको दर कति छ, साधारणसभा कहिले हुँदैछ र बुक क्लोजको मिति कहिले हो- यस्ता विषय अहिले लगानीकर्ताको प्राथमिकतामा छन् । उपलब्ध विवरणअनुसार हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २२ कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट यी २२ कम्पनीले आफ्ना सेयरधनीलाई कुल १९ अर्ब २५ करोड ८१ लाख रुपैयाँ लाभांश वितरण गर्ने भएका छन् । यसमध्ये ६ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर र १२ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ नगद लाभांश रहेको छ । लाभांश प्रस्ताव गर्नेमा वाणिज्य बैंकदेखि विकास बैंक, फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधनलगायत क्षेत्रका कम्पनी छन् । केही कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् भने केहीले नगद लाभांशमार्फत सेयरधनीलाई प्रतिफल दिने प्रस्ताव गरेका छन् । कतिपय कम्पनीले भने बोनस सेयर र नगद दुवैलाई समेटेर लाभांश प्रस्ताव गरेका छन् । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशतका दरले ६८ करोड ६० लाख ६८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशतका दरले १ अर्ब ३७ करोड २१ लाख ३७ हजार रुपैयाँ नगद लाभांश गरी कुल १५ प्रतिशत अर्थात् २ अर्ब ५ करोड ८२ लाख ६ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको ४ प्रतिशतका दरले १ अर्ब ५२ करोड ४६ लाख ३४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले २ अर्ब २८ करोड ६९ लाख ५१ हजार रुपैयाँ नगद लाभांश गरी कुल १० प्रतिशत अर्थात् ३ अर्ब ८१ करोड १५ लाख ८५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज १६ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ९ बजे २०औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लोसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज १२ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे २२औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लोसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको करसहित २.१० प्रतिशतका दरले ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँको ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ नगद गरी कुल ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । नबिल बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँको ५ प्रतिशतका दरले १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका १०.८० प्रतिशतका दरले २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ नगद गरी कुल ४ अर्ब २७ करोड ५० लाख ५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २२ गते बिहान साढे ९ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ४२औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ५.२६ प्रतिशतका दरले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । बुधबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँको ४ प्रतिशतका दरले १४ करोड ९३ लाख ६२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६.५२ प्रतिशतका दरले २४ करोड ३६ लाख ९७ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत अर्थात् ३९ करोड ३० लाख ५९ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २२ गते बिहान १० बजे एलिस रिसेप्सन गैरीधारा काठमाडौंमा २२औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँको १० प्रतिशतका दरले ६० करोड २१ लाख ३४ हजार रुपैयाँ बोनस सेयर र करसहित १० प्रतिशतका दरले ६० करोड २१ लाख ३४ हजार रुपैयाँ नगद लाभांश गरी कुल २० प्रतिशत अर्थात् १ अर्ब २० करोड ४२ लाख ६९ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले २०औँ वार्षिक साधारण सभा असोज २६ गते पोखरा, कास्कीमा बिहान साढे १० बजे बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३० करोड १३ लाख १८ हजार रुपैयाँ बोनस सेयर र करसहित १० प्रतिशतका दरले ५० करोड २१ लाख ९७ हजार रुपैयाँ नगद लाभांश गरी कुल १६ प्रतिशत अर्थात् ८० करोड ३५ लाख १५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको करसहित १०.५२ प्रतिशतका दरले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कालिञ्चोक दर्शनले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ६३ करोड रुपैयाँको ८.५ प्रतिशतका दरले ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बोनस सेयर र करसहित ०.४४ प्रतिशतका दरले २८ लाख १८ हजार रुपैयाँ नगद लाभांश गरी कुल ८.९४ प्रतिशत अर्थात् ५ करोड ६३ लाख ६८ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १६ गते बिहान ११ः३० बजे भक्तपुरस्थित जर्मन होम्स होटलमा १२औँ वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । स्नो रिभर्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतका दरले ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले ४९ लाख ३४ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत अर्थात् ९ करोड ८६ लाख ८४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते बिहान साढे ८ बजे काठमाडौंस्थित लिसरा रिसेप्सन्समा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतका दरले ३४ करोड ७२ लाख ८७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले कुल १५.७८ प्रतिशत अर्थात् ३६ करोड ५५ लाख ६५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते बिहान ११ काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ । माण्डु हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको करसहित १२ प्रतिशतका दरले १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । भदौ १८ गते सम्पन्न सभाले उक्त लाभांश पारित गरिसकेको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब ४ लाख ३ हजार रुपैयाँको ५ प्रतिशतका दरले २० करोड २० लाख २९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले १ करोड ६ लाख २६ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् २१ करोड २६ लाख ४६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २७ गते बिहान १० बजे काठमाडौंस्थित होटल क्रिस्टलमा २९औँ वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । युनाइटेड इदी-मार्दी एण्ड आर.बी. हाइड्रोपावरीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ४८ करोड ३८ लाख ६५ हजार रुपैयाँको ५ प्रतिशतका दरले २ करोड ४१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले १२ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् २ करोड ५४ लाख ६६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको करसहित ३० प्रतिशतका दरले ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ३२औँ वार्षिक साधारण सभा असोज २२ गते अनुपम फुड ल्यान्ड एन्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौंमा बिहान ९ बजे बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ८ करोड ७५ लाख ५६ हजार रुपैयाँको १५ प्रतिशतका दरले १ करोड ३१ लाख ३३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ६.०५ प्रतिशतका दरले ५२ लाख ९९ हजार रुपैयाँ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात् १ करोड ८४ लाख ३३ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १९ गते बिहान साढे ११ बजे ललितपुरस्थित द प्लाजामा ३५औँ वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज असोज ५ गतेदेखि असोज १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ५ गतेको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतका दरले ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले १७ लाख ८९ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत अर्थात् ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
१ अर्ब ३४ करोडको हुण्डी कारोबारमा संलग्न मुखिया पक्राउ
काठमाडौं । एक अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मलेसियालगायतका देशबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा ठूलो रकमको कारोबार पुष्टि भएपछि धनुषाका २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको हो । शहीदनगर नगरपालिका–४ का मुखियालाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले बुधबार (आज) साँझ करिब ५ः२० बजे शहीदनगर नगरपालिका–४ बाट पक्राउ गरेको हो । सीआईबीका अनुसार मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी कुल १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । साथै उक्त अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीआईबीले अवैध आर्थिक कारोबार तथा आपराधिक गतिविधिसम्बन्धी सूचना उपलब्ध गराउनसमेच सर्वसाधारणलाई आग्रह गरेको छ । सूचनादाता तथा प्राप्त सूचनाको गोपनीयता कायम राखिने प्रहरीले जनाएको छ ।
बाढीपीडितका लागि काठमाडौं विश्वविद्यालयले दियो ८५ लाख
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ । केयूका एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले बुधबार (आज) शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई ८५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । केयूको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले केयूले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो । विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने अपेक्षासहित कोषमा रकम हस्तान्तरण गरेको केयूले जनाएको छ ।
मेगा ड्रिमको ३९ करोडभन्दा बढी हिनामिना प्रकरणमा एक जना पक्राउ
काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको करोडौं रुपैयाँ हिनामिना तथा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको छविसपाथिभरा गाउँपालिका–४ झुटेडा घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ शान्ति टोल बस्ने ३६ वर्षीय महाशंकर रेग्मी रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका–४ चण्डोल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । रेग्मीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । प्रहरीका अनुसार मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना भएको भन्दै विभिन्न व्यक्तिहरूले छुट्टाछुट्टै जाहेरी दिएका दिए । रामचन्द्र सिपाईसहित १६२ जनाको जाहेरीका आधारमा २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ हिनामिना भएको आरोपमा प्रहरी वृत्त बौद्धमार्फत अनुसन्धान भइरहेको छ । त्यस्तै, थप ५९ जनाको जाहेरीका आधारमा २ करोड ६२ लाख ३६ हजार १७१ रुपैयाँ हिनामिना भएको आरोपमा पनि अनुसन्धान भइरहेको छ । १५६ जनाको जाहेरीका आधारमा १५ करोड ४ लाख ८६ हजार ३ रुपैयाँ ६५ पैसा हिनामिना भएको आरोपमा प्रहरी वृत्त बालाजुमार्फत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यी छुट्टाछुट्टै जाहेरीमा उल्लेख भएको रकम जोड्दा ३९ करोडभन्दा बढी हुन्छ । प्रहरीका अनुसार अनुसन्धानकै क्रममा फरार रहेका रेग्मीलाई पक्राउ गरिएको हो । उक्त कसूरसम्बन्धी घटनामा प्रहरी वृत्त बालाजुमा हालसम्म थप ४६ जनाको जाहेरीसमेत प्राप्त भएको छ । ती जाहेरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।