विकासन्युज

लामो समयदेखि अस्पतालमा अनुपस्थित दुई स्टाफ नर्सलाई १५ दिनभित्र स्पष्टीकरण माग

काठमाडौं । वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ । अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार स्टाफ नर्स सातौँ तहकी सुनिता सिंह डंगोल २०८२ असोज १९ गतेदेखि र स्टाफ नर्स सातौँ तहकी सुनिता थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन् । अस्पतालले बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित रहेको भन्दै उनीहरूलाई विभागीय सजाय किन नगर्ने भन्ने विषयमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेस गर्न भनेको हो । तोकिएको अवधिभित्र स्पष्टीकरण पेस नगरेमा नियमावलीअनुसार आवश्यक कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।

बाढीपीडितका लागि त्रिभुवन विश्वविद्यालयले दियो ९ करोड २५ लाख

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । पदाधिकारी तथा कर्मचारीको तलब तथा भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बुधबार (आज) शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरे । राहतका लागि उपकुलपति, रेक्टर र रजिष्ट्रारले एक महिनाको तलब योगदान गरेका छन् । त्यस्तै, प्राध्यापक तथा प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिनबराबरको रकम सहयोग गरेका छन् । उपप्राध्यापक तथा उपप्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक–कर्मचारीबाट सात दिनबराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिनबराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिनबराबरको पारिश्रमिक कट्टा गरी राहत कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

जापानले नेपाललाई पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (आज) भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–जापान सम्बन्ध तथा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । राजदूत तोरुले दुःखको यस घडीमा नेपालप्रति संवेदना व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माणमा जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटवार्तामा नेपाल र जापानबीच आपसी सम्बन्धका विभिन्न आयाममा भइरहेको सहकार्यका साथै आगामी दिनमा सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।

यात्रुलाई अभद्र व्यवहार गर्ने १० जना पक्राउ

काठमाडौं । सार्वजनिक यातायातका यात्रुलाई दुःख दिने र अभद्र व्यवहार गर्ने १० जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकाबाट सार्वजनिक सवारीसाधनमार्फत उपत्यका बाहिर जाने यात्रुलाई बल्खु, स्यूचाटार र कलंकी क्षेत्रमा काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सहचालकले अनावश्यक दुःख हैरानी दिने गरेको जनगुनासो आएपछि प्रहरीले चेकजाँच गरेको थियो। मंगलबार प्रहरी प्रभाग बल्खु र कलंकीबाट खटिएको संयुक्त टोलीले सम्बन्धित क्षेत्रमा चेकजाँच गरेको हो। उनीहरूले चेकजाँचका क्रममा यात्रुलाई जबर्जस्ती आफूले भनेको गाडीतर्फ तान्ने, यात्रुको सामान तानेर हैरानी दिने गरेका थिए । सस्तो टिकटको प्रलोभन देखाउने तथा आफूले भनेकै सवारीसाधनमा यात्रा गर्न दबाब दिने गतिविधिमा संलग्न रहेको आशंकामा ३२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा १० जनाको संलग्नता देखिएपछि उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कालीप्रसाद पराजुली सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सचिव पदमा पराजुलीलाई बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको जानकारी दिए । रिक्त सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

ठमेलबाट ४७ जना पक्राउ , सबैलाई मुद्दा चलाइयो

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधि गर्नेलाई दुई दिनमा प्रहरीले ४७ जनालाई मुद्दा चलाएको छ ।  काठमाडौं प्रहरी परिसरका अनुसार रात्रीकालीन व्यवसायमा बिचौलियाको रूपमा काम गर्ने आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। मंगलबार २२ महिला, १३ पुरुष  र बुधबार ६ पुरुष ६ महिला  गरि जम्मा ४७ जना उपर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्म उनीहरूले सार्वजनिक स्थल तथा सडकमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक र सर्वसाधारणलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधि गर्ने गरेका थिए ।  डान्स, दोहोरी, बार र क्लबजस्ता रात्रीकालीन व्यवसायमा बिचौलियाको भूमिका निर्वाह गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा १४ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएकामध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धानका क्रममा ६ पुरुष र ६ महिला गरी १२ जनाको उल्लिखित गतिविधिमा संलग्नता देखिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको छ।

सरकारले सेयर कारोबारमा पूँजीगत लाभकर घटायो

काठमाडौं । सेयर बजारमा लगानी गर्नेहरूलाई राहत पुग्ने गरी सरकारले धितोपत्र कारोबारबाट हुने नाफामा लाग्ने पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका सेयर कारोबारमा लाग्ने करको दर घटाएको हो । निर्णयअनुसार प्राकृतिक व्यक्तिले ३६५ दिन वा सोभन्दा कम समय स्वामित्वमा राखेर बिक्री गरेको धितोपत्रबाट भएको नाफामा ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय होल्ड गरी बिक्री गरेको धितोपत्रबाट भएको नाफामा ३.५ प्रतिशत अग्रिम पूँजीगत लाभकर तिर्नुपर्नेछ । मन्त्रिपरिषद्को निर्णयमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभ तथा विनियम बजारको कारोबार गर्ने निकायमार्फत प्राकृतिक व्यक्तिले गरेको धितोपत्र कारोबारमा नयाँ करदर लागू हुने उल्लेख छ । यसअघि प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि धितोपत्र होल्ड गरेर बिक्री गर्दा नाफामा १० प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । नयाँ करदर नेपाल राजपत्रमा सूचना प्रकाशित भएको दिनदेखि कार्यान्वयनमा आउनेछ । यससँगै दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर १० प्रतिशतबाट ३.५ प्रतिशतमा झर्नेछ भने अल्पकालीन कारोबारमा कर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा सीमित हुनेछ । निर्णयले सेयर बजारका लगानीकर्ताको कारोबार लागत घटाउने अपेक्षा गरिएको छ ।

चिलिमे सुरुङमा थप एक शव फेला, मृतकको संख्या पाँच पुग्यो

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा बुधबार थप एकजनाको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र खोजी जारी राख्ने क्रममा उक्त शव फेला पारेको हो ।  यससँगै चिलिमेको सुरुङभित्रबाट निकालिएका मृतकको संख्या पाँच पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमेसहितका विभिन्न जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको थियो ।  बाढीका वेला काममै खटिएका आयोजनाका कामदार तथा कर्मचारीहरू बेपत्ता भएका थिए । सुरुङभित्र मानिसहरू थुनिएको वा बाढीले बगाएर पुर्याएको आशंकामा सेना र सशस्त्र प्रहरीका ११ जना सम्मिलित विशेषज्ञ उद्धार टोली लगातार खोजी कार्यमा खटिरहेको  छ ।  बाढीले पुर्याएको क्षतिका कारण आयोजनाको विद्युत् उत्पादन ठप्प हुनुका साथै उद्धार कार्यमा पनि ठूलो चुनौती थपिएको छ ।  सुरुङभित्र अझै अन्य मानिसहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले सुरक्षा सतर्कता अपनाएर खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।