यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले विभिन्न ६ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । यी हुन् निर्णयहरू : १. सरकारी निर्णय प्रक्रिया, सरलीकरण, तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने । २. नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने । ३. नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने । ४. साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ती रकमसम्बन्धी कानुन कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिइ बीमा, क्षतिपूर्तीको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने । ५. चक्रीय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने । ६. नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।
युनाइटेड मोदी हाइड्रोले ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निकाल्ने
काठमाडौं । विद्युत् नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको छ । आयोगको भदौ २५ गते बसेको ३१९औँ बैठकको निर्णयअनुसार कम्पनीलाई हाल कायम चुक्ता पुँजीको आधारमा ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिइएको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । सो पुँजीको १:०.६५ अनुपातमा हकप्रद सेयर जारी गर्दा ७९ करोड ९८ लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले आयोगसमक्ष पेस गरेको थियो । तर, आयोगले कम्पनीले मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि लिएको ऋणलाई आधार मानेर ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो । कम्पनीले यसअघि मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ ऋण लिएको जनाएको छ । थप १२ करोड ५० लाख रुपैयाँ कर्जा समेत गरी कुल ८० करोड रुपैयाँ ऋण लिएकोमा हकप्रद सेयरबाट प्राप्त रकम बैंक कर्जा भुक्तानीमा प्रयोग गर्ने कम्पनीको योजना छ । युनाइटेड मोदी हाइड्रोपावरले पर्वत जिल्लामा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको दशौँ वार्षिक साधारणसभाले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई संशोधन गर्दै एघारौँ वार्षिक साधारणसभाले १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ९ बमोजिम उक्त पूर्वस्वीकृति दिएको जनाएको छ ।
अडानीलाई पछि पार्दै एसियाका सबैभन्दा धनी बने झाङ यिमिङ, को हुन् उनी ?
काठमाडौं । घरेलु सेयर बजारमा मंगलबार (हिजो) आएको भारी गिरावटसँगै अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा ठूलो कमी आएको छ । उनको नेटवर्थ एकैदिन ४.४४ अर्ब अमेरिकी डलरले घटेपछि उनले एसियाका सबैभन्दा धनी व्यक्तिको स्थान गुमाएका छन् । ब्लुमबर्गका अनुसार चीनको प्रविधि कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ अडानीलाई पछि पार्दै एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । दुवैको नेटवर्थ १०५ अर्ब डलर रहे पनि दशमलवपछिको गणनामा यिमिङ अगाडि छन् । अडानी एसियामा दोस्रो र विश्वका धनी व्यक्तिको सूचीमा २०औं स्थानमा झरेका छन् । यद्यपि, यस वर्ष उनको नेटवर्थमा २०.४ अर्ब डलर वृद्धि भएको छ । यिमिङको नेटवर्थ भने यस वर्ष ४०.३ अर्ब डलरले बढेको छ । कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै उनको नेटवर्थमा उल्लेख्य वृद्धि भएको हो । यो महिनामात्रै उनको सम्पत्ति १२ अर्ब डलरभन्दा बढी बढेको छ । को हुन् यिमिङ ? झाङ यिमिङ टिकटकका मालिक हुन् । । टिकटक विश्वभर लोकप्रिय भएपछि उनी विश्वका धनाढ्य व्यक्तिको सूचीमा तीव्र रूपमा माथि उक्लिएका हुन् । उनले सन् २०१२ मा बाइटडान्स स्थापना गरेका थिए । उनी सन् २०२१ मा बाइटडान्सको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष पदबाट अलग भएका थिए । पछिल्लो समय उनको नेटवर्थ तीव्र रूपमा बढ्दै गएपछि उनी एसियाका सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानमा समेत पुगेका हुन् । शीर्ष पाँचमा को–को छन् ? विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा एलन मस्क पहिलो स्थानमा कायम छन् । उनको नेटवर्थ ८९२ अर्ब डलर रहेको छ । मंगलबार मात्रै उनको नेटवर्थमा २४.८ अर्ब डलरको गिरावट आएको छ । यद्यपि, यस वर्ष उनको नेटवर्थ २७३ अर्ब डलरले बढेको छ । सूचीमा ल्यारी पेज २९५ अर्ब डलरसहित दोस्रो, सर्गेई ब्रिन २७४ अर्ब डलरसहित तेस्रो, जेफ बेजोस २७४ अर्ब डलरसहित चौथो र माइकल डेल २५३ अर्ब डलरसहित पाँचौँ स्थानमा छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८१.३ अर्ब डलरको नेटवर्थसहित विश्वका धनी व्यक्तिको सूचीमा २३औँ स्थानमा छन् । मंगलबार उनको सम्पत्तिमा १.७८ अर्ब डलरको कमी आएको छ । यस वर्ष भने उनले कुल २६.४ अर्ब डलर सम्पत्ति गुमाइसकेका छन् ।
विमानस्थलमा यात्रुको लगेजमा प्रहरीले निगरानी बढाउँदै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूको लगेज हराएमा विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ । विमानस्थल सुरक्षा कार्यालयले यात्रुको लगेज सुरक्षा सतर्कता, निगरानी र सम्बन्धित निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाएको छ। यात्रुका सामान चोरी हुने, हराउने तथा क्षति हुने घटना न्यूनीकरणका लागि प्रहरीले विमानस्थलमा निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्रहरीको सक्रियता, निगरानी तथा सम्बन्धित निकायसँगको समन्वयका कारण पछिल्लो समय यात्रुका लगेज तथा व्यक्तिगत सामान चोरी तथा हराउने घटनामा उल्लेख्य कमी आएको प्रहरीको भनाइ छ। विमानस्थलबाट यात्रा गर्दा यात्रुले ह्याण्ड क्यारी अर्थात् आफूसँगै लैजाने झोलामा के–कस्ता सामान राख्न पाइन्छ र के–कस्ता सामान लैजान पाइँदैन भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। ह्याण्ड क्यारीमा के–के लैजान पाइँदैन ? ह्याण्ड क्यारीमा १०० ग्रामभन्दा बढी झोल पदार्थ, घोच्ने तथा धारिलो वस्तु, ग्यास लाइटर, सलाईलगायत बल्ने वस्तु राख्न पाइँदैन। त्यस्तै, फूलका बिरुवा, हरियो तरकारी, खुर्सानी, नरिवलको दानालगायत हवाई सुरक्षामा असर पार्न सक्ने वस्तुहरू पनि लैजान निषेध गरिएको छ। कानूनले वर्जित गरेका हातहतियार, खरखजाना, लागूऔषधलगायत अवैध वस्तु फेला परेमा भने सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई तत्काल कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । लैजान नमिल्ने सामान फेला परे के गर्ने ? हवाई उडानका लागि निषेध गरिएका तर कानूनले वर्जित नगरेका अचार, घ्यू लगायतका सामग्री प्रहरीले जाँचका क्रममा फेला पारेमा यात्रुको सुविधाका लागि सामान आफन्त वा चिनजानका व्यक्तिलाई जिम्मा लगाउने व्यवस्था गरिएको छ। त्यसका लागि यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरी सहायता कक्षमा आफन्त वा सम्बन्धित व्यक्तिलाई पठाउन सक्नेछन्। यसरी जिम्मा लगाइएका सामान लिन आउने व्यक्तिले ४८ घण्टाभित्र सम्पर्क गर्नुपर्ने प्रहरीले जनाएको छ। सामान बुझाउन सहज होस् भन्नका लागि यात्रुले सामान लिन आउने व्यक्तिको नाम, सम्पर्क नम्बर तथा आफूलाई सम्पर्क गर्न सकिने ह्वाटसएप लगायतका सम्पर्क नम्बर उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। विदेश जाँदा लगेजको तौल बढी भए के गर्ने ? विदेश यात्रा गर्दा लगेजको तौल तोकिएको सीमाभन्दा बढी भएमा यात्रुले अनावश्यक वा कम उपयोगी सामान तत्काल लगेजबाट निकाल्न सक्नेछन्। निकालिएका सामान आफूलाई विमानस्थलसम्म छोड्न आएका आफन्त वा साथीभाइलाई प्रहरीमार्फत जिम्मा लगाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। यसका लागि यात्रुले विमानस्थल परिसरमा रहेका जुनसुकै प्रहरी कर्मचारीसँग आवश्यक सहयोग लिन सक्नेछन्। प्रहरीले विमानस्थलमा यात्रा गर्ने यात्रुलाई आफ्नो लगेज तथा व्यक्तिगत सामानप्रति सचेत रहन, निषेधित वस्तु नलैजान र कुनै समस्या परे तत्काल नजिकै रहेको प्रहरी सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।
एफएनसीसीआईको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थशास्त्री तथा विकास रणनीतिकार डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ । उनले भोलि (बिहीबार) देखि कार्यभार सम्हाल्ने एफएनसीसीआईले जनाएको छ । एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठले डा. तिवारीको नियुक्तिले महासंघको संस्थागत क्षमता र नीतिगत पैरवीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार डा. तिवारीसँग नेपालको आर्थिक प्रणालीबारे गहिरो ज्ञान, अन्तर्राष्ट्रिय अनुभव तथा निजी क्षेत्रको पैरवीमा लामो अनुभव रहेकाले अहिलेको महत्त्वपूर्ण समयमा उनको नेतृत्व उपयोगी हुनेछ । श्रेष्ठले भने, ‘नेपालको आर्थिक ढाँचामाथिको गहिरो ज्ञान, विश्वव्यापी अनुभव र सरोकारवालाको विश्वासले डा. तिवारीको नेतृत्वमा एफएनसीसीआईको संस्थागत हैसियत थप उचाइमा पुग्नेछ । उहाँको नेतृत्वले नीतिगत पैरवीलाई धारिलो बनाउन, प्रभावकारी सुधारका एजेन्डा कार्यान्वयन गर्न र नेपाली उद्यमलाई थप गतिशील तथा विश्व प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’ डा. तिवारी यसअघि पनि एफएनसीसीआईसँग जोडिएका थिए । उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको सचिवालयमा कार्यवाहक महानिर्देशकका रूपमा नेतृत्व गरेका थिए । करिब २५ वर्षको व्यावसायिक अनुभव भएका तिवारीले समष्टिगत आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी क्षेत्र सहकार्यका क्षेत्रमा काम गरेका छन् । उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका बहुपक्षीय संस्था तथा विकास साझेदार संस्थामा कार्यकारी तथा परामर्शदाताका रूपमा जिम्मेवारी सम्हालेका छन् । पछिल्लो समय उनी यूएसएआईडीको ‘टायर नेपाल’ परियोजनामा निजी क्षेत्र एकीकरण निर्देशकका रूपमा कार्यरत थिए । डा. तिवारीले नेपालको वित्तीय तथा व्यावसायिक क्षेत्रमा समेत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) का महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वरिष्ठ प्राविधिक विज्ञ तथा नेपाल–जर्मन उद्योग वाणिज्य संघका रणनीतिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् । त्यसैगरी, उनी नेपाल आर्थिक संघका मानार्थ महासचिव, नर्वेको फिल डा. जान–उ. सान्डाल इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान फेलो तथा त्रिभुवन विश्वविद्यालयको सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचारविरोधी अध्ययन विभागका प्राध्यापकसमेत हुन् । पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गरेका तिवारीले कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडेजस्ता राष्ट्रिय सञ्चारमाध्यममा वरिष्ठ आर्थिक पत्रकारका रूपमा समेत काम गरेका थिए । नेपालमा संरचित सार्वजनिक–निजी संवादको अभ्यास विकास गर्न पनि तिवारीको महत्वपूर्ण भूमिका रहेको एफएनसीसीआईले जनाएको छ । उनले आईएफसीअन्तर्गतको उच्चस्तरीय नेपाल बिजनेस फोरम व्यवस्थापन गरेका थिए । साथै, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिट्टा) र औद्योगिक व्यवसाय ऐनलगायत महत्त्वपूर्ण आर्थिक कानुन निर्माणमा समेत उनले योगदान गरेका छन् । निजी क्षेत्रको प्रतिस्पर्धात्मकतामा केन्द्रित अर्थशास्त्रमा विद्यावारिधि गरेका तिवारीले व्यापार कूटनीति र औद्योगिक विकाससम्बन्धी विभिन्न अध्ययन तथा कृति प्रकाशित गरेका छन् ।
नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमा सम्झौता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंकमा कार्यरत कर्मचारीको जीवन बीमा गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराइनेछ । यसबाट कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप मजबुत बनाउन सहयोग पुग्ने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् । सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले कर्मचारीको सुरक्षा, कल्याण र दीर्घकालीन हितका लागि जीवन बीमाको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । नेशनल लाइफले ग्राहक तथा संस्थागत साझेदारको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ ।
६ प्रदेशले नसकेपछि संघीय सरकारले नै स्मार्ट लाइसेन्स छापिदिने
काठमाडौं । प्रदेश सरकारहरुले समयमै सम्झौता नगर्दा रोकिएको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ संघीय सरकारले नै गरिदिने भएको छ । पुर्वाधार विकास मन्त्रालयले सेवाग्राहीको मर्कालाई ध्यानमा राख्दै हाललाई यातायात व्यवस्था विभागबाटै लाइसेन्स छाप्ने निर्णय गरेको हो । मन्त्रालयका सहसचिव कृष्ण राज पन्थका अनुसार लाइसेन्स वितरण, नवीकरण र यसको राजस्व संकलन गर्ने सम्पूर्ण एकल अधिकार प्रदेश सरकारको हो । तर, प्रदेशहरुले छपाइको जिम्मा लिन ढिलाइ गरेपछि जनताले सास्ती पाउन नपरोस् भनेर केन्द्रबाटै छाप्ने व्यवस्था मिलाइएको हो । ‘संविधानतः यातायात कार्यालयहरु र लाइसेन्ससम्बन्धी सम्पूर्ण अधिकार प्रदेशकै हो,’ सहसचिव पन्थले विकासन्युजसँग भने, ‘यसअघि रोकिएका (ब्याकलग) करिब २७ लाख लाइसेन्स संघीय सरकारले छापेर दिने र त्यसपछि प्रदेशहरु आफैँले छाप्ने सहमति मन्त्रीस्तरीय विषयगत समितिमा भएको थियो । हामीले २७ लाख लाइसेन्स छापेर दिइसकेका छौं ।’ संघीय सरकारले ब्याकलग सकेपछि प्रदेश सरकारहरु आफैले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ) सँग सम्झौता गरेर लाइसेन्स छाप्नुपर्ने थियो । यसका लागि मन्त्रालयले मापदण्डसमेत बनाइदिएको थियो । तर, मधेश प्रदेश बाहेक अन्य प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गर्न नसक्दा लाइसेन्स वितरण रोकिएको थियो । ‘अहिले मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफैँ लाइसेन्स प्रिन्ट गरिरहेको छ। त्यहाँ कुनै समस्या छैन,“ सहसचिव पन्थले स्पष्ट पारे, ‘तर, अरु प्रदेशले विभिन्न कारणले सम्झौता गर्न सकेनन् । प्रदेश वा संघ जसले नगरे पनि अन्ततः सेवाग्राहीले लाइसेन्स पाएनन् भन्ने मुख्य गुनासो आएपछि हामीले यो कदम चालेका हौं । ’ अन्य प्रदेश सरकारहरुले हाललाई आफैँले गर्न नसकेको भन्दै निवेदन दिएपछि मात्रै यातायात व्यवस्था विभागले नै प्रिन्ट गरेर पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । यद्यपि, संघीय सरकारले गरिदिने यो व्यवस्था अल्पकालीन मात्रै भएको सहसचिव पन्थले बताए । ‘अन्त्यमा यो काम प्रदेश सरकारले नै गर्नुपर्छ । हरेक प्रदेशले आफै सुरक्षण मुद्रणसँग सम्झौता गरेर प्रिन्ट गर्नुपर्छ, त्यो उहाँहरुको जिम्मेवारी भित्रै पर्छ,’ पन्थले भने, ‘तर, अहिले केही समयका लागि जनतालाई मर्का नपरोस् भनेर विभागबाटै छापेर दिने निर्णय गरेका हौं । ’
विदेशी महिलाको चरित्र हत्या, २३ वर्षीय युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का २३ वर्षीय प्रशान्त जयसवाल रहेका छन् । प्रहरीका अनुसार जयसवाल सामाजिक सञ्जालमार्फत एक विदेशी महिलासँग चिनजान भई साथी तथा प्रेम सम्बन्धमा थिए । सो क्रममा खिचिएका तस्बिरहरू महिलाका आफन्त तथा परिवारका सदस्यको सामाजिक सञ्जालमा पठाएर उनको चरित्र हत्या गरेको आरोप छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा घटनामा जयसवाल संलग्न रहेको खुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा भदौ ३० गते उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका जयसवालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।