१ अर्ब ३४ करोडको हुण्डी कारोबारमा संलग्न मुखिया पक्राउ

काठमाडौं । एक अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मलेसियालगायतका देशबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा ठूलो रकमको कारोबार पुष्टि भएपछि धनुषाका २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको हो ।

शहीदनगर नगरपालिका–४ का मुखियालाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले बुधबार (आज) साँझ करिब ५ः२० बजे शहीदनगर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी कुल १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।

मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 

साथै उक्त अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सीआईबीले अवैध आर्थिक कारोबार तथा आपराधिक गतिविधिसम्बन्धी सूचना उपलब्ध गराउनसमेच सर्वसाधारणलाई आग्रह गरेको छ । सूचनादाता तथा प्राप्त सूचनाको गोपनीयता कायम राखिने प्रहरीले जनाएको छ ।

Share News