विकासन्युज

माछापुच्छ्रे बैंकका ८ शाखा समायोजन, कुन-कुन हुन् ?

काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन गरेको छ । बैंकले सोमबार (साउन १८ गते) देखि लागू हुने गरी महानगरपालिकाभित्र सञ्चालनमा रहेका केही शाखालाई नजिकका शाखामा समायोजन गरेको जनाएको छ ।  बैंकका अनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखामा, काठमाडौंको बालाजु शाखा गोंगबु शाखामा, खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भू शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा समायोजन गरिएको हो । त्यस्तै, कास्कीको लामाचौर शाखा बगर शाखामा तथा पर्साको वीरगञ्ज (लिंक रोड) शाखा आदर्शनगर शाखामा समायोजन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले समायोजनपश्चात् सञ्चालनमा रहेका शाखाबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा यथावत रूपमा प्राप्त गर्न सक्नेछन् ।

उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या ११ लाख

काठमाडौं । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या सोमबारसम्म करिब ११ लाख नजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको छ । यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्यासमेत समावेश छ । उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ । विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ गतेदेखि साउन १५ गतेसम्म क्यूआरबाट कारोबार गरेका १० लाख ७४ हजार ७९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य छन् । यस्तै, शनिबारदेखि खुला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन् ।  ‘सोमबार मध्याह्नसम्म उपहारका लागि कुल १० लाख ८२ हजार ६२२ वटा कारोबार र बिल योग्य देखिएका छन् । जसमा क्यूआरबाट कारोबार गरेका १० लाख ७४ हजार ७९६ छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेस गरिएको संख्या ३ हजार ४२७ रहेको छ,’ उनले भने ।  विभागले पहिलो १५ दिन (साउन १ देखि १५ गतेसम्म) मा १५ जनालाई दैनिक एक-एक लाख र एक जनालाई बम्परमा १० लाख रुपैयाँ पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दै छ । पहिलो प्रोत्साहन कार्यक्रम साउन १६ गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेका कारण केही ढिलाइ भएको विभागको भनाइ छ । विभागले पहिलो प्रोत्साहन उपहार घोषणा गर्ने अघिल्लो दिनसम्म नगद कारोबार गरेर बिल लिएका उपभोक्तालाई आफ्नो बिल प्रणालीमा प्रविष्ट गर्न अनुरोध गरेको छ । विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याएको छ। चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन कार्यक्रम घोषणा गरेका थिए । कार्यक्रम अन्तर्गत १ सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्छन् । जसलाई सरकारले हरेक दिन एक जनालाई कर कट्टी गरेर एक लाख र १५-१५ दिन गरेर महिनामा दुई जनालाई बम्परमा १०-१० लाख उपहार दिनेछ। बम्पर उपहारको १० लाख नगदमा भने कर कट्टी हुनेछ ।

ओझाको संयोजकत्वमा बीमा क्षेत्र सुधारका लागि अध्ययन समिति गठन

काठमाडौं। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन् ।  समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन् । समितिलाई बीमा क्षेत्रको समग्र अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी पानी पर्ने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भू-भाग नजिक रहेको छ। यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, पहाडी भू-भागका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । कर्णालीका पहाडी तथा सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा पनि यस्तै मौसम रहनेछ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गरी जानकारी लिन पनि अनुरोध गरेको छ ।

एनएमबि बैंकको नाफा ४ अर्ब नाघ्यो, व्यवसाय विस्तार ९.३३ प्रतिशत बढ्यो

काठमाडौं । एनएमबी बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ४०.६० प्रतिशत बढेर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशत बढेर ९ अर्ब ४२ करोड ६२ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड ८ लाख ६८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ अर्ब ३ करोड ४० लाख ६७ हजार रुपैयाँ, सञ्चालन नाफा ६ अर्ब ११ करोड ७५ लाख ६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ४५ लाख ८६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १० अर्ब ८८ करोड ४५ लाख १८ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ९.०८ प्रतिशत रहेको छ ।  २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९० करोड १७ लाख ३४ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १२.१७ प्रतिशत बढेर ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी ९.३३ प्रतिशत बढेर २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८२.७७ प्रतिशत रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १४.८० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २०.१८ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ११.८५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ । 

व्यवसायीलाई भाग्ने अवस्थामा पुर्याउँदै राज्य

काठमाडौं । प्रहरीले सोमबार बिहानै उद्योगी तथा व्यवसायी बेनी गोपाल मुन्दराको घरमा प्रहरीले छापा मार्यो । विराटनगर महानगरपालिका–७ स्थित उनको निवासमा प्रहरीले छापा मारेको हो । घरमा गैरकानुनी वस्तुहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।  पूर्वको प्रतिष्ठित व्यापारिक घराना देवनारा समूहको घरमा मात्र नभइ कार्यालयमासमेत प्रहरी प्रवेश गरेको थियो ।  प्रहरीले छापा मार्ने क्रममा बाटोसमेत ब्लक गरेको थियो । घण्टौंसम्म सोही आसपासको क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत दिइएको थिएन । प्रहरीले व्यापारीको घरमा छापा मारेपछि कोशी प्रदेशका व्यापारी तथा उद्योगी त्रसित बनेका छन् । मुन्दराको घरमा प्रहरीले छापा मारेपछि राज्यप्रति व्यवसायी पुनः आशंकित बनेका छन् । प्रमाणबिना व्यवसायीमाथि गरिएको धरपकडले मनोबल खस्किने मोरङ व्यापार संघका एक पदाधिकारीले बताए । उनका अनुसार राज्यले अपुष्ट सूचनाकै भरमा व्यवसायीको घरमा प्रहरी जानुले व्यवसायीको मानमर्दन गर्न खोजेको छ । प्रहरी र राज्यले गरेको व्यवहारले व्यवसायीहरू सन्तोषजनक ढंगले व्यापार गर्न नपाइने त्रास फैलिने उनको भनाइ छ ।  ‘कुनै पनि व्यवसायी वा घरानाविरुद्ध कारबाही गर्नुअघि ठोस प्रमाण हुनुपर्छ,’ उनले भने, ‘राज्यसँग शक्ति छ भन्दैमा कमजोरमाथि धरपकड गर्न हुँदैन । हतारमा कारबाही गरेर व्यवसायीलाई त्रसाउन खोजेको जस्तो देखिन्छ ।’ नेपालमा वर्षौंदेखि लगानीकर्ताहरूले नीतिगत अस्थिरता र प्रशासनिक अनिश्चितताको गुनासो गर्दै आएका छन् । उद्यमीहरूलाई गिराउने काम राम्रो नभएको ती पदाधिकारीको भनाइ छ ।  कुनै व्यक्ति वा संस्थालाई शंकाको आधारमा अनुसन्धान गर्नु अस्वाभाविक भएको मोरङ उद्योग वाणिज्य संघका अर्का पदाधिकारी बताउँछन् । अपराधको गम्भीरतासँग व्यवसायीको सामाजिक प्रतिष्ठा पनि ख्याल गरिनुपर्ने उनको भनाइ छ ।   प्रहरी परिचालन गरेर समस्याको समाधान नहुने उनको बुझाइ छ । ‘अनुसन्धान गर्न पाइन्छ, नपाइने होइन । तर सयमको पनि ख्याल गर्नुपर्छ । बिहानै आएर अरूको प्रतिष्ठाको कदर पनि त गर्नुपर्छ,’ उनले भने । व्यवसायीको लागि राज्य पनि जवाफदेही हुनुपर्ने उनको भनाइ छ । सरकारको यस्ता व्यवसायीलाई लगानी गर्न सोच्नुपर्ने अवस्था आएको उनले बताए । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् । जसको समूहअन्तर्गत हाल आधा दर्जन उद्योग सञ्चालनमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रले विशेष सूचनाको आधारमा घर खानतलासी गरिएको जानकारी दिए । ‘जुन सूचनाको आधारमा प्रहरी गएको थियो त्यस्तो कुनै प्रमाण फेला परेन,’ उनले भने, ‘प्रहरीले आफ्नो काम कर्तव्यमात्र निभाएको हो । हाम्रो उद्देश्य व्यवसायीलाई दुःख दिनु होइन ।’ स्रोत नखुलेको पैसा र सुनचाँदी भएको खबर आएको मिश्रको दावी छ । प्रहरी सूचना बिना कहिले पनि नजाने उनको भनाइ छ ।   मुन्दराको घरमा छापा मार्दा केही पनि नभेटिए पनि उनीमाथि भने अनुसन्धान जारी रहेको मिश्रले जानकारी दिए  मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकडप्रति व्यवसायीहरूले आपत्ति जनाउँदै सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न र धरपकड नगर्नसमेत आग्रह गरेका छन् ।   पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन पनि राज्यलाई उनीहरूले आग्रह गरेका छन् । 

लागूऔषधसहित काठमाडौंको नागपोखरीबाट ४ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका–१ नागपोखरीबाट सोमबार (आज) २९६.७५ ग्राम ब्राउन सुगर, २ सय २० चक्की ट्रामाडोल र १ सय ३० नाईट्रोभेट क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४३ वर्षीय प्रभात तिवारी, काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी र ललितपुर जिल्ला बाग्डोल–४ बस्ने ५१ वर्षीय सविन श्रेष्ठलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनीहरूको साथबाट १ लाख ९८ हजार ३ सय ७५ नेपाली रुपैयाँ, १ हजार जापानी येनसहित अन्य विदेशी मुद्रा , २ वटा सञ्चार सेट, ३ थान ल्यापटप, १ थान प्रिन्टर, ४ थान मोबाइल सेट, लागूऔषधमा मिसाउने केमिकल २२ बोतल समेत बरामद भएको छ । उनीहरूले प्रयोग गरेको बा ७ च ५१८० नम्बरको गाडी समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।  प्रभात तिवारी लागूऔषध  मुद्दाका फरार अभियुक्तसमेत हुन् । 

अन्तर्राष्ट्रिय ऋण वा अनुदानका लागि मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य गरिँदै

काठमाडौं । सङ्घीय संसद्को अर्थ समितिले विचाराधीन नेपाल राष्ट्र बैंकसम्बन्धी विधेयकका पहिलो आठ दफा परिमार्जनसहित पारित गरेको छ । सोमबार बसेको समितिको बैठकले दफावार छलफलपछि दफा १ देखि ८ सम्मका प्रावधानमा सहमति जुटाएको हो । समितिका सचिव लक्ष्मण अर्यालका अनुसार दफा १, २, ३ र ५ प्रस्तावित रूपमै पारित भएका छन् । दफा ४ मा भने राष्ट्र बैंकको उद्देश्य थप स्पष्ट पारिएको छ । बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता कायम गर्ने, बैंकिङ, वित्तीय तथा बाह्य क्षेत्रको स्थायित्व कायम गर्ने र नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग गर्ने उल्लेख गरिएको छ । दफा ६ बाट सरकारी वित्त तथा विकासात्मक कार्य (क्वासी–फिस्कल अपरेसन) सम्बन्धी व्यवस्था हटाइएको छ । त्यस्तै, उपदफा २ मा ‘कर्जा’ शब्दपछि ‘सापटी’ शब्द थप गरिएको छ । दफा ७ बाट पनि सरकारी वित्त तथा विकासात्मक कार्यसँग सम्बन्धित व्यवस्था हटाइएको छ । समितिले दफा ८ को उपदफा ५ मा महत्वपूर्ण संशोधन गरेको छ। अब अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट ऋण वा अनुदान प्राप्त गर्न अर्थ मन्त्रालयको सट्टा नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य हुने व्यवस्था गरिएको छ । सरकारले विधेयकमा नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको स्वीकृतिमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट ऋण, अनुदान वा प्राविधिक सहायता लिन सक्ने व्यवस्था प्रस्ताव गरेको थियो । समितिले त्यसलाई परिमार्जन गर्दै मन्त्रिपरिषद्को स्वीकृतिलाई अनिवार्य बनाएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी स्पष्ट व्यवस्था नभएको समितिले उल्लेख गरेको छ । हालको ऐनले विदेशी सरकार, विदेशी केन्द्रीय बैंक, विदेशी बैंक तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग बैंकिङ तथा भुक्तानी सेवा आदान–प्रदानको व्यवस्था गरे पनि ऋण वा अनुदान प्राप्त गर्ने विषय स्पष्ट रूपमा उल्लेख गरिएको छैन । समितिले प्रारम्भिक आठ दफामा सहमति जुटाएसँगै अब बाँकी दफामाथिको छलफल क्रमशः अगाडि बढाइने जनाएको छ ।