काठमाडौं । इलेक्ट्रिकल उपकरण उत्पादन तथा आपूर्ति गर्ने चिनियाँ कम्पनी ग्वाङ्जी हुगान इलेक्ट्रिक पावर इक्विपमेन्ट कम्पनी लिमिटेड नेपालमा तीन वर्षका लागि कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखेको हो ।
नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा ग्वाङ्जी हुगान इलेक्ट्रिक पावर इक्विपमेन्ट कम्पनी कालोसूचीमा परेको हो । कम्पनीको ठेगाना चीनको ग्वाङ्जी प्रान्त, नानिङ सहरको जियाङनान जिल्लास्थित नम्बर ११ होङसेङ रोड रहेको छ । कम्पनीका मुख्य व्यक्ति वाङ जियाहाओ रहेका छन् ।
यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाडौंस्थित पालिका एडभरटाइजिङ एन्ड सप्लायर्सलाई पनि एक वर्षका लागि कालोसूचीमा राखेको छ । उक्त कम्पनीलाई कालोसूचीमा राख्न गण्डकी गाउँपालिका गोरखाले सिफारिस गरेको हो । कम्पनीका मुख्य व्यक्ति जापान गुरुङ रहेका छन् ।
कालोसूचीमा परेका दुवै कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।