काठमाडौं । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो चरणको वडा अधिवेशन असोज ३ गतेदेखि उत्साहप्रद रूपमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म आयोजना हुने महाधिवेशनका लागि शनिबार देशका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
शनिबार अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली रहेका छन् ।
सम्पन्न अधिवेशनबाट नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूको चयन गरिएको छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लामा भोलि असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया निरन्तर जारी रहने कांग्रेसले जनाएको छ ।