याडियाले नेपालमा तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्यो
काठमाडौं । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले जीएस७०, जीटी७० र जीटी८० गरी तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटरहरू आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर बजारमा ल्याइएको हो । जीएस७० दैनिक सहरी यात्रालाई लक्षित गरी तयार गरिएको मोडल हो । जीटी७० लामो दूरीका यात्रुका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । प्रिमियम सेग्मेन्टको जीटी८० भने उच्च प्रदर्शन, आकर्षक डिजाइन र उन्नत फिचरसहित बजारमा ल्याइएको छ । तीनै मोडलमा ब्लुटुथ कनेक्टिभिटी, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन, स्मार्ट एप, फेमिली सेयरिङ, की–लेस प्रणाली, ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टमजस्ता सुविधा दिइएको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ स्कुटरमा तीन वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ । हाल यी स्कुटर देशभर रहेका २० आधिकारिक याडिया डिलरमार्फत बिक्री भइरहेको र आगामी दिनमा बिक्री तथा सेवा सञ्जाल थप विस्तार गरिने कम्पनीको योजना छ । नाइमा अटो शो अवधिभर तीनै मोडलमा १० हजार रुपैयाँसम्म विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ग्राहकले नजिकको याडिया शोरुममा पुगेर टेस्ट राइड, फाइनान्स सुविधा र थप जानकारी लिन सक्नेछन् ।
नेपाल प्रहरीको गत आवमा करिब ६९ अर्ब खर्च
काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्षमा ६८ अर्ब ७२ करोड ८२ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीलाई कुल बजेट ७३ अर्ब ६७ करोड ५९ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरेर प्राप्त भएको थियो । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अबीनारायण काफ्लेले गत आर्थिक वर्षमा ६८ अर्ब ७२ करोड ८२ लाख ५३ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार ४ अर्ब ९४ करोड ७७ लाख १९ हजार रुपैयाँ खर्च हुन सकेन । प्रवक्ता काफ्लेले प्रहरीका लागि आर्थिक वर्ष २०८३ / ०८४ मा ६५ अर्ब ७१ करोड विनियोजन भएको जानकारी दिए । गत आर्थिक वर्षको तुलनामा ७ अर्ब ९६ करोड ५९ लाख ७२ हजार कम भएको उनले जानकारी दिए । गत आर्थिक वर्ष २०८२/ ०८३ मा १ हजार २६४ जनाले राजीनामा दिएका छन् । विभिन्न दर्जाका प्रहरीले एकै वर्षमा राजीनामा दिएका हुन् । एक वर्षमा १२ सयभन्दा बढी प्रहरीले राजीनामा दिएको उनले जानकारी दिए । उनका अनुसार ६ सय ८१ जनाले अनिवार्य अवकाश लिएका छन् । विभिन्न ठाउँमा २६ हजार ४१५ जनाको सरुवा भएको छ। ५ हजार २७ जनाको बढुवा भएको छ । २ हजार ४८८ जनाको नयाँ नियुक्ति तथा पदस्थापना भएको छ ।
नेपाल फिनटेक एक्स्पो असोज २३ देखि, ६५ भन्दा बढी स्टल रहने
काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (एफएएन) ले नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने भएको छ । एक्स्पोको दोस्रो संस्करण आगामी असोज २३, २४ र २५ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना हुने आयोजकले जनाएको छ । पहिलो संस्करणको सफलतापछि आयोजना हुन लागेको यस वर्षको एक्स्पो थप भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय सहभागितासहित सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो संस्करण दुई दिन सञ्चालन भएकोमा यसपटक एक्स्पो लगातार तीन दिन सञ्चालन हुनेछ । आयोजकका अनुसार एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी स्टल तथा दुईवटा एक्सपेरियन्स जोन रहनेछन् । स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागितामा कृत्रिम बौद्धिकत (एआई), डिजिटल बैंकिङ, डिजिटल पेमेन्ट, एम्बेडेड फाइनान्स, लेन्डिङ टेक्नोलोजी लगायतका अत्याधुनिक फिनटेक प्रविधि तथा समाधान प्रदर्शन गरिनेछ । यस्तै, विभिन्न कम्पनीले आफ्ना नवीनतम उत्पादन तथा सेवाको अफिसियल प्रडक्ट लन्च तथा प्रडक्ट रिभिलसमेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । एक्स्पोको उद्घाटन समारोह भने पहिलो दिन अर्थात् ९ अक्टोबर २०२६ मा हेरिटेज गार्डेन परिसरमा रहेको क्लासिक भेन्युमा आयोजना गरिनेछ । सहभागी तथा विशिष्ट अतिथिको सहज व्यवस्थापन, पर्याप्त पार्किङ सुविधा र ठूलो संख्यामा सहभागी हुने अपेक्षालाई ध्यानमा राख्दै उद्घाटनका लागि उक्त स्थान छनोट गरिएको आयोजकको भनाइ छ । यस वर्षको एक्स्पोमा ६ हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप, विकास साझेदार, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ । फिनटेक एलायन्स नेपालमा हाल ५३ वटा कर्पोरेट सदस्य आबद्ध छन् । संस्थाले नेपालको फिनटेक इकोसिस्टमलाई सुदृढ बनाउन नियमित रूपमा फिनटेच फ्राइडे र फिनटेक सोसल लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै, सीटी‌ओ रिट्रिट जस्ता कार्यक्रममार्फत प्रविधि क्षेत्रका नेतृत्व तहबीच सहकार्य, अनुभव आदान–प्रदान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको संस्थाले जनाएको छ । एक्स्पोका लागि विभिन्न स्पोन्सरसिप अवसरसमेत खुला गरिएको छ ।
कामना सेवा विकास बैंकको १५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको ४१९औं बैठकले साधारण सेयरधनीका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै, अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त २०८३ सम्मका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने निर्णय गरिएको बैंकले जनाएको छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको २०औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार गत आर्थिक वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नाइमा अटो एक्स्पोमा डोङफेङका दुई बस सार्वजनिक हुँदै
काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङका दुई बस नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा अटो एक्स्पोमा बसका दुई मोडल सार्वजनिक गर्ने जनाएको छ । डोङफेङ चीनको सरकारी स्वामित्वमा रहेको अग्रणी अटोमोबाइल कम्पनी हो । कम्पनीले बस, ट्रक, विद्युतीय सवारीसाधन, व्यावसायिक सवारी तथा विशेष प्रयोजनका सवारी उत्पादन गर्दै आएको छ । यसको उत्पादन १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको कम्पनीले जनाएको छ । नेपालमा विद्युतीय ठूला बसप्रति बढ्दो मागलाई ध्यानमा राख्दै डोङफेङका बस भित्र्याइएको कम्पनीको भनाइ छ । पहिलो चरणमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस सार्वजनिक गरिनेछ । त्यसपछि ३८ र ५२ सिट क्षमताका ९ र १२ मिटरका बस पनि नेपाल ल्याइने कम्पनीले जनाएको छ । बसको मूल्य र विस्तृत प्राविधिक विवरण भने अटो एक्स्पोमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । अन्य कम्पनीका समान क्षमताका बसभन्दा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइने दाबी पनि गरिएको छ । एक्स्पोमै बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था रहने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको सुविधा हिमालयन अर्गनाइजेशनअन्तर्गतका शाखा तथा डिलरमार्फत देशभर उपलब्ध हुनेछ ।
मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष लाइसेन्स (स्पेसल एक्जामिनेसन) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ९३.४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार विभिन्न विशेषज्ञता (स्पेसालिटी) तर्फ सञ्चालन गरिएको परीक्षामा १ हजार १३ जना सहभागी भएका थिए । तीमध्ये ९४७ जना उत्तीर्ण, ६५ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोक्का भएको छ । त्यसैगरी, नेपालका मेडिकल तथा डेन्टल कलेजका स्नातकको विशेष परीक्षामा ९ सय १९ जना सहभागी भएकामध्ये ९ सय ४ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण भएका छन् । यस समूहको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ। कलेजगत नतिजाअनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, किस्ट मेडिकल कलेज, पाटन एकेडेमी अफ हेल्थ साइन्सेज, नेपाल मेडिकल कलेज, नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल), पोखरा एकेडेमी अफ हेल्थ साइन्सेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, लुम्बिनी मेडिकल कलेज, नेपाली आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, नेपालगञ्ज मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्तिपुर डेन्टल कलेजले शतप्रतिशत नतिजा हासिल गरेका छन् । यस्तै, विशेषज्ञता तहको नतिजामा अधिकांश विषयमा शतप्रतिशत सफलता देखिएको छ । रेडियो डायग्नोसिस/रेडियोलोजीमा भने सबैभन्दा कम ७३.५३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । उक्त विषयमा ६८ जनामध्ये १८ जना अनुत्तीर्ण भएका छन्, जुन सबैभन्दा धेरै अनुत्तीर्ण हुने विषय बनेको छ । त्यसैगरी, प्रोस्थोडोन्टिक्समा १५ जनामध्ये एक जना तथा पेडियाट्रिक्स मा ६१ जनामध्ये दुईजना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । काउन्सिलका अनुसार उक्त परीक्षा नेपालका मेडिकल तथा डेन्टल कलेज तथा प्रतिष्ठानमा अध्ययन पूरा गरेका चिकित्सकका लागि सञ्चालन गरिएको थियो ।
गोकर्णेश्वरका बासिन्दाले ह्याम्स अस्पतालमा सहुलियतमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने
काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी र सम्बन्धित अधिकारीको उपस्थिति रहेको थियो । सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने गोकर्णेश्वरका स्थायी बासिन्दाले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट र सहुलियत पाउनेछन् । दुवै पक्षका अनुसार सहकार्यले आर्थिक रूपमा उपचार गर्न कठिनाइ भएका नागरिकलाई राहत पुग्नुका साथै गुणस्तरीय विशेषज्ञ उपचारमा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । सम्झौताको उद्देश्य स्थानीय तहमा स्वास्थ्य सेवाको सुदृढीकरण, नियमित स्वास्थ्य परीक्षणको प्रवर्द्धन, स्वास्थ्य सचेतना अभिवृद्धि तथा दीर्घरोगको समयमै पहिचान र उपचारमा सहयोग गर्नु रहेको जनाइएको छ । कार्यक्रममा ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यबाट नागरिकसम्म गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा पुर्याउन सकिने बताए । समुदायमा नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान र उपचारको पहुँच विस्तारमा अस्पताल प्रतिबद्ध रहेको उनको भनाइ थियो । नगरप्रमुख रिसालले पनि सम्झौताले गोकर्णेश्वरका नागरिकलाई सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । यसबाट उपचारको आर्थिक भार कम हुनुका साथै जनस्वास्थ्य प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनले बताए । ह्याम्स अस्पतालले मुटु तथा रक्तनली रोग, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी र क्रिटिकल केयरलगायत विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
केही दिनभित्रै ग्यास आपूर्ति सहज हुन्छ, हतारिएर सञ्चय नगर्नू : उद्योगमन्त्री
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्या अस्थायी रहेको बताउँदै केही दिनभित्रै अवस्था पूर्ण रूपमा सामान्य हुने विश्वास व्यक्त गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री कुमारीले ग्यास अभावबारे फैलिएका अफवाह र भ्रमपूर्ण सूचनाले उपभोक्तामा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै संयमता अपनाउन आग्रह गरिन् । उनले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गर्दै सरकारले आपूर्तिलाई नियमित र सहज बनाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिइन् । मन्त्री कुमारीले वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सबै ग्यास डिलरलाई खरिदकर्ताको विवरण अभिलेखीकरण गर्न निर्देशन दिइएको बताइन् । साथै, वैकल्पिक सिलिन्डरको व्यवस्था नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरिएको उनले स्पष्ट पारिन् । उनका अनुसार सरकारको प्राथमिकता सबै उपभोक्ताले समान र न्यायोचित रूपमा ग्यास प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको छ । केही दिनभित्र आपूर्ति प्रणाली पूर्ण रूपमा सहज हुने भएकाले हल्लाको पछि नलाग्न उनले सर्वसाधारणलाई पुनः आग्रह गरिन् ।