विकासन्युज

घाटाका संस्था नाफामा, बन्द उद्योग सञ्चालनमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वर्षौंदेखि बन्द, घाटामा रहेका तथा निराशाजनक अवस्थामा पुगेका सरकारी स्वामित्वका राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालन गरी प्रतिस्पर्धी बनाउने सरकारको प्रयासले सकारात्मक परिणाम दिन थालेको बताएका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योगको पुनर्जीवनका लागि सरकारले सुरुदेखि नै सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताए ।  ‘जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्,’ उनले भने । उनका अनुसार कानुनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेका छन् । सरकारले सार्वजनिक गरेको विवरणअनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको प्रधानमन्त्री शाहको भनाइ छ ।  नेपाल औषधि लिमिटेडले आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्यसमेत लिएको छ । चालु आर्थिक वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । हाल लिमिटेडबाट ११ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।  यसैगरी, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको प्रधानमन्त्री शाहले बताए । परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने तयारी छ । नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा पनि सुधार देखिएको प्रधानमन्त्रीको दाबी छ । गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो । सो अवधिमा निगमको सिट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो । निगमले जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरेको जनाएको छ । दुग्ध विकास संस्थान (डीडीसी)मा पनि सुधारका प्रयास थालिएको प्रधानमन्त्री शाहले बताएका छन् । किसानको दूधको बक्यौता भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको र बक्यौता रकम ७२ करोडबाट घटाएर ३५ करोड रुपैयाँमा सीमित गरिएको जनाइएको छ । किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । डीडीसीको सुधारपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको दाबी गरिएको छ । कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू तथा दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको जनाइएको छ । डीडीसीले खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गर्नुका साथै नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी गरेको छ । त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समितिको उत्पादन र कारोबारमा समेत वृद्धि भएको प्रधानमन्त्री शाहले बताए । सरकार गठनपछि वैद्यखानाले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको र गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको जनाइएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो । वैद्यखानाले हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ काम गरिरहेको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेकोमा चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै, पाउडर र ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत लिइएको छ । प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रूग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरे । उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनको भनाइ छ । 

आइएमई लाइफले असारमा गर्याे ७ करोड बढी बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८३/८४ को असार महिनामा ७ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले असारमा १८९ वटा दाबीबापत कुल ७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका अनुसार असार महिनाको कुल दाबी भुक्तानीमा म्यादी बीमाको हिस्सा सबैभन्दा बढी रहेको छ । म्यादी बीमातर्फ १४६ वटा दाबीको २ करोड ५२ लाख ४ हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै, परम्परागत बीमातर्फ २४ वटा दाबी बापतको २ करोड ४२ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । यसैगरी, वैदेशिक रोजगार बीमातर्फ १९ वटा दाबीको २ करोड ११ लाख ५१ हजार रुपैयाँ भुक्तानी गरिएको छ । 

ओभरलोडमा ५ लाख जरिवाना, ट्रक व्यवसायी महासंघको आपत्ति

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवाना सम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार (ओभरलोड) नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको बताए । उनका अनुसार विधेयकमा समेटिएका वजनको हद निर्धारण, तौल पुलमार्फत अनिवार्य वजन परीक्षण तथा सडक संरचनाको संरक्षणसम्बन्धी व्यवस्था आवश्यक र स्वागतयोग्य छन्। तर, उनले यस्ता धेरै व्यवस्था यसअघि नै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५६ मा समावेश रहेको उल्लेख गर्दै ती कानुन पनि संशोधनको क्रममा संसद्मा रहेकाले एउटै विषय दोहोरिने (डुप्लिकेशन) अवस्था सिर्जना हुन सक्ने बताए। बानियाले कानुन बनाउनु मात्रै पर्याप्त नहुने भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनका अनुसार नेपालमा हाल पनि पर्याप्त कानुनी रहेका र नियमनकारी निकायको उदासीनता, आवश्यक बजेट र जनशक्तिको अभावका कारण प्रभावकारी अनुगमन हुन सकेको छैन । यसकै फाइदा उठाउँदै केही उद्योगी तथा व्यवसायीले ओभरलोड ढुवानीजस्ता कार्यबाट लाभ लिइरहेको उनको भनाइ छ । विधेयकको दफा १३ अनुसार तोकिएको सीमा भन्दा बढी भार बोकेको मालवाहक सवारी साधनलाई तौल पुलमा परीक्षण गरी बढी भार तत्काल अनलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, दफा १३ को उपदफा (१) वा (३) विपरीत मालवाहक सवारी सञ्चालन गरेमा सवारीधनीलाई प्रतिपटक तत्काल ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । महासंघले विशेष गरी यही जरिवाना व्यवस्थाप्रति असहमति जनाएको छ । अध्यक्ष बानियाले एकै पटक पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था यातायात व्यवसायीका लागि अत्यधिक आर्थिक भार हुने भएकाले यसलाई व्यवहारिक बनाउनुपर्ने बताए ।

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल कोशी, मधेश र बागमती प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यस्तै, आज राति देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

गैरकानुनी रुपमा ट्रेडमार्क प्रयोग गरेको भन्दै २ कम्पनी विरुद्ध उजुरी, ७ दिनको अल्टिमेटम

काठमाडौं । उद्योग विभागले ट्रेडमार्कको गैरकानुनी प्रयोगसम्बन्धी उजुरी परेका दुई कम्पनीलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । विभागले युनिक लिक्विड सप एण्ड डिटर्जेन्ट्स प्रोडक्ट्स र चौतारी सोप इन्डष्ट्रिजलाई ७ दिनभित्र आफ्ना सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेश गर्न र उपस्थित हुन निर्देशन दिएको हो ।  मोरङको विराटनगर महानगरपालिका–४ स्थित युनिक लिक्विड सप एण्ड डिटर्जेन्ट्स प्रोडक्ट्स र सुनसरीको सोनापुरस्थित चौतारी सोप इन्डष्ट्रिजले गैरकानुनी रुपमा फेना ट्रेडमार्क प्रयोग गरेको भन्दै विभागमा उजुरी परेको थियो ।  भारतको फेना प्राइभेट लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता कृष्ण ट्रेडस भएको दाबी गरिएको छ । विभागले यसअघि ७ दिने म्याद सूचना पठाएको भएपनि हालसम्म कुनै लिखित प्रतिक्रिया पेश नभएको तथा म्याद तामेली प्रतिवेदनसमेत प्राप्त नभएको जनाएको छ ।  विभागले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानूनबमोजिम प्रक्रिया अघि बढाइने चेतानी दिएको छ । साथै, पछि कुनै उजुरी गर्न नपाउनेसमेत विभागको भनाइ छ । 

काठमाडौं महानगरले विद्यालयहरूको लेखापरीक्षण गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरूको लेखापरीक्षण गर्ने भएको छ । काठमाडौं महानगर शिक्षा ऐन-२०७५ को नियम १७ को खण्ड ब बमोजिम महानगर क्षेत्रभित्रका विद्यालयहरूको गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम लेखापरीक्षण गर्न लागेको हो ।  महानगरपालिकाले ३० दिनभित्र इच्छुक दर्तावाल लेखापरीक्षकले आवश्यक कागजात स्क्यान गरी इमेलमार्फत आशयपत्र पेश गर्नुपर्ने जनाएको छ । आशयपत्र पेश गर्दा कुनै शुल्क नलाग्ने र आवेदकले स्पष्ट सम्पर्क नम्बर तथा इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न इच्छुक लेखापरीक्षकले लेखापरीक्षण गर्ने आशयको निवेदनसँगै लेखापरीक्षण इजाजतपत्र, आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण गरेको प्रमाण, करचुक्ता प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । फर्म वा कम्पनीका हकमा अद्यावधिक प्रमाणपत्रसमेत बुझाउनुपर्ने महानगरपालिकाले जनाएको छ । हार्डकपी भने स्वीकार नगरिने जनाएको छ । यस्तै, संस्थागत विद्यालयका हकमा सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएको इजाजतपत्र र करचुक्ता प्रमाणपत्र भएका कम्तीमा तीन जना दर्तावाल लेखापरीक्षकको सिफारिस गरी महानगरपालिकाको शिक्षा विभागमा पठाउनुपर्नेछ । महानगरपालिकाका अनुसार विगतमा महानगरपालिकाबाट नियुक्त भएका लेखापरीक्षकले आफूलाई खटाइएको विद्यालयको लेखापरीक्षण तोकिएको समयमा सम्पन्न नगरेको वा समयमै प्रतिवेदन नबुझाएको भए त्यस्ता लेखापरीक्षकलाई छनोट प्रक्रियामा समावेश गरिने छैन । लेखापरीक्षण सम्पन्न भएपछि प्रतिवेदनको एक प्रति सम्बन्धित विद्यालय, एक प्रति शिक्षा विभाग र एक प्रति आन्तरिक लेखापरीक्षण एकाइमा सक्कल रूपमा बुझाउनुपर्नेछ । साथै, प्रतिवेदनको विद्युतीय प्रति पनि महानगरपालिकाले तोकेको इमेल ठेगानामा पठाउनुपर्नेछ । तोकिएको समयमा सक्कल तथा विद्युतीय प्रति पेश नगरेमा नियुक्ति बदर गरी सूचीमा रहेका अन्य लेखापरीक्षकलाई नियुक्त गर्न सकिने महानगरपालिकाले जनाएको छ । लेखापरीक्षणबापतको पारिश्रमिक काठमाडौं महानगरपालिका विद्यालय लेखापरीक्षण कार्यविधि, २०७५ अनुसार उपलब्ध गराइनेछ ।

काठमाडौंका यी क्षेत्रमा शनिबार र आइतबार बिजुली जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । रत्नपार्क वितरण केन्द्र र काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत केबल जडान, चार्जिङ, पोल जडान, स्ट्रक्चर फिटिङ तथा फिडर प्रिभेन्टिभ मेन्टेनेन्सको काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म टेकु, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ बर्से इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । उक्त क्षेत्रमा भीमसेनस्थान फिडरअन्तर्गत विद्युत् आपूर्ति बन्द गरिनेछ । त्यस्तै, शनिबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । यी क्षेत्रमा डिल्लीबजार फिडरबाट विद्युत् आपूर्ति हुँदै आएको छ । यसैगरी आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, ¥याडिसन होटल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । उक्त क्षेत्रमा लाजिम्पाट फिडरअन्तर्गत विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा सुचारु गरिने जनाएको छ । विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

बालेन भन्छन्- नआत्तिनुहोस्, सही समय आउन केही समय लाग्छ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन आग्रह गरेका छन् । उनले अहिले देखिएको र सुनिएकोभन्दा वास्तविकता फरक हुन सक्ने बताएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् ।’ उनले वास्तविकता बुझ्नुअघि सुनेको वा देखेको कुरामै मात्र निर्भर हुन नहुने संकेत गरेका छन् । साथै, आवश्यक पर्दा एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’