नेपाल फिनटेक एक्स्पो असोज २३ देखि, ६५ भन्दा बढी स्टल रहने

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (एफएएन) ले नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने भएको छ । 

एक्स्पोको दोस्रो संस्करण आगामी असोज २३, २४ र २५ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना हुने आयोजकले जनाएको छ ।

पहिलो संस्करणको सफलतापछि आयोजना हुन लागेको यस वर्षको एक्स्पो थप भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय सहभागितासहित सञ्चालन गर्ने तयारी गरिएको छ । 

पहिलो संस्करण दुई दिन सञ्चालन भएकोमा यसपटक एक्स्पो लगातार तीन दिन सञ्चालन हुनेछ ।

आयोजकका अनुसार एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी स्टल तथा दुईवटा एक्सपेरियन्स जोन रहनेछन् । 

स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागितामा कृत्रिम बौद्धिकत (एआई), डिजिटल बैंकिङ, डिजिटल पेमेन्ट, एम्बेडेड फाइनान्स, लेन्डिङ टेक्नोलोजी लगायतका अत्याधुनिक फिनटेक प्रविधि तथा समाधान प्रदर्शन गरिनेछ ।

यस्तै, विभिन्न कम्पनीले आफ्ना नवीनतम उत्पादन तथा सेवाको अफिसियल प्रडक्ट लन्च  तथा प्रडक्ट रिभिलसमेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

एक्स्पोको उद्घाटन समारोह भने पहिलो दिन अर्थात् ९ अक्टोबर २०२६ मा हेरिटेज गार्डेन परिसरमा रहेको क्लासिक भेन्युमा आयोजना गरिनेछ ।

 सहभागी तथा विशिष्ट अतिथिको सहज व्यवस्थापन, पर्याप्त पार्किङ सुविधा र ठूलो संख्यामा सहभागी हुने अपेक्षालाई ध्यानमा राख्दै उद्घाटनका लागि उक्त स्थान छनोट गरिएको आयोजकको भनाइ छ ।

यस वर्षको एक्स्पोमा ६ हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप, विकास साझेदार, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ ।

फिनटेक एलायन्स नेपालमा हाल ५३ वटा कर्पोरेट सदस्य आबद्ध छन् । संस्थाले नेपालको फिनटेक इकोसिस्टमलाई सुदृढ बनाउन नियमित रूपमा फिनटेच फ्राइडे र फिनटेक सोसल लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यस्तै, सीटी‌ओ रिट्रिट जस्ता कार्यक्रममार्फत प्रविधि क्षेत्रका नेतृत्व तहबीच सहकार्य, अनुभव आदान–प्रदान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको संस्थाले जनाएको छ ।

एक्स्पोका लागि विभिन्न स्पोन्सरसिप अवसरसमेत खुला गरिएको छ ।

Share News