टाटा पन्च ईभी अब ४० किलोवाट ब्याट्रीमा, यस्ता छन् विशेषता
काठमाडौं । नेपाली बजारमा अत्यधिक रुचाइएको टाटा पन्च ईभी अब अझ शक्तिशाली र परिमार्जित भर्सनमा भित्रिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभी (४० किलोवाट) को मिडिया टेस्ट ड्राइभ आयोजना गर्दै यसका नयाँ विशेषताहरू सार्वजनिक गरेको हो । भक्तपुरको राधेराधेदेखि धुलिखेलको टेम्पल डर्टसम्म आयोजना गरिएको टेस्ट ड्राइभका क्रममा गाडीको अफ-रोड क्षमता, कम्फर्ट र ड्राइभिङ डाइनामिक्सको प्रदर्शन गरिएको थियो । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल डिभिजनका जनरल म्यानेजर सावन्तजंग सिजापतिका अनुसार नयाँ पन्च ईभी पहिलाको तुलनामा धेरै फरक र शक्तिशाली छ । ‘पहिलाको पन्च ईभी मुख्यतया सहर केन्द्रित (सिटी कार) थियो । तर, अबको ४० किलोवाट ब्याट्री प्याकसहितको पन्चले हाइवेमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछ,’ उनले भने । उनका अनुसार ३०० किलोमिटरभन्दा बढीको रेन्ज दिने भएकाले अब ग्राहकहरूले ढुक्कसँग एक सहरबाट अर्को सहरसम्म यात्रा गर्न सक्नेछन् । के-के छन् नयाँ विशेषता ? पहिला २५ किलोवाटमा उपलब्ध पन्च ईभीमा अहिले ४० किलोवाटको ठुलो ब्याट्री प्याक राखिएकाे छ ।नेपाली सडकलाई सुहाउँदो १९५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ । ५-स्टार सेफ्टी रेटिङ प्राप्त यो गाडीमा ६ वटा एयरब्याग र ६० भन्दा बढी सुरक्षा फिचर्सहरू रहेका छन् । ३६० डिग्री क्यामेरा, अपग्रेड गरिएको इन्फोटेनमेन्ट सिस्टम र फराकिलो क्याबिन स्पेसलगायत छन् । यसको आधिकारिक मूल्य र लन्चिङ आगामी नाइमा मोबिलिटी एक्स्पोमा गरिने सेजापतिले जानकारी दिए । ‘हामीले गाडीमा धेरै फिचर्स थपे पनि ग्राहकका लागि उचित मूल्य कायम गर्ने कोसिस गरेका छौं,’ उनले भने । साथै नाइमा एक्स्पोमा टाटाले पन्चबाहेक अर्को एउटा नयाँ मोडल पनि सार्वजनिक गर्ने बताएको छ । जसकाे बारेमा कम्पनीले केही पनि खुलाएकाे छैन । सिप्रदीले ईभी इको-सिस्टममा ठुलो लगानी गरेको छ । हाल देशभर २१ वटा ईभी केन्द्रित सर्भिस सेन्टर, ३८ वटा डीसी फास्ट चार्जर र १५० भन्दा बढी एसी चार्जरहरू सञ्चालनमा छन् । साथै प्रत्येक गाडीको खरिदमा घरमै निःशुल्क होम चार्जर जडान गरिदिने सुविधालाई पनि कम्पनीले निरन्तरता दिएको छ । नाइमा मोबिलिटी एक्स्पोमा बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष मूल्य र इमिडिएट डेलिभरी अर्थात् तुरुन्तै गाडी उपलब्ध गराउने योजनासहित टाटाले आफ्नो उपस्थिति बलियो बनाउने तयारी गरेको छ ।
लालपुर्जा बनाउन १ लाख ६० हजार घुस खाने चावहिलका खत्रीविरुद्ध मुद्दा
काठमाडौं । नापी कार्यालय चावहिलअन्तर्गत २ र ३ नम्बर नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार खत्रीले जग्गा हालसाबिक गरी जग्गाधनी पूर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस मागेका थिए । उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नगद रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट खत्रीले आफ्नो पदको दुरुपयोग गर्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। सोही आधारमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनबमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
कक्षा ९ का विद्यार्थीले विद्यालयमै चलाए गोली, ७ जनाको मृत्यु
काठमाडौं । थाइल्यान्डकोएक विद्यालयमा गोली चल्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् । राजधानी बैंककसँग जोडिएको नोनथाबुरी प्रान्तको बैंक क्रुआई जिल्लास्थित विद्यालयमा गोली चलेकाे हाे । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँच जना शिक्षक रहेका छन् । घटनामा संलग्न व्यक्ति विद्यालयकै कक्षा ९ का विद्यार्थी रहेको प्रहरीले जनाएको छ । थाइल्यान्डमा कक्षा ९ का विद्यार्थीको उमेर सामान्यतया करिब १४ वर्ष हुन्छ । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब १०ः३० बजेसम्म घटनास्थलको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको थिएन । गोली चलाएपछि संदिग्ध विद्यार्थीले आफूलाई पनि गोली हानेका थिए । प्रहरीले उनको पनि मृत्यु भएको पुष्टि गरेको छ । थाइल्यान्डका स्वास्थ्य मन्त्रीका अनुसार संदिग्धले विद्यालय जानुअघि आफ्ना हजुरबुबा र हजुरआमाको समेत हत्या गरेको आशंका गरिएको छ । दुवै जनाको शव उनीहरूको घरमा फेला परेको बताइएको छ । घटनामा प्रयोग भएको बन्दुक संदिग्धका हजुरबुबाको भएको बताइएको छ । उनका हजुरबुबा यसअघि विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहेको जनाइएको छ । घटनाप्रति थाइल्यान्डका प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै निन्दा गरेका छन्। उनले यस्तो घटना हुनु नहुने भन्दै पीडितप्रति दुःख व्यक्त गरेका छन् । ‘यो निकै दुःखद घटना हो । यस्तो हुनु हुँदैनथ्यो । म पीडितहरूका लागि मात्र दुःखी छैन, यस्तो घटना हुनै नहुनेमा पनि मलाई दुःख लागेको छ । हाम्रो देशमा यस्तो कसरी हुन सक्छ, ’ उनले भनेका छन् ।
देउवा पनि राष्ट्रिय भेलामा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जनाएको छ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी विवादमा पूर्वनिर्णय पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको र त्यसले राष्ट्रिय भेलाप्रति कार्यकर्ताको उत्साह थप बढाएको उनले बताए । उनले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अन्तिम न्यायिक निर्णयबाट आफूहरू न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरे । अदालतको पछिल्लो आदेशले राष्ट्रिय भेलाको उद्देश्य वा कार्यदिशामा कुनै परिवर्तन नआएको, बरु पार्टीभित्र वैचारिक तथा सांगठनिक अभियानलाई थप बल पुगेको उनको भनाइ थियो । कोइरालाका अनुसार सुरुमा १० देखि २० हजार प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता हुने अनुमान गरिएको भए पनि अदालतको आदेशपछि सहभागिता अपेक्षाभन्दा धेरै हुने संकेत देखिएको छ । उनले पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का स्वास्थ्य अवस्थाका कारण तथा नेता डा. शेखर कोइराला पूर्वनिर्धारित कार्यक्रमका कारण विराटनगरमा रहेकाले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको स्पष्ट पारे । यद्यपि राष्ट्रिय भेलाप्रति दुवै नेताको पूर्ण समर्थन रहेको उनले बताए । साउन २६ गते पूर्वसभापति देउवा स्वदेश फर्कने क्रममा सम्भावित धरपकडको चर्चा भइरहेका बेला कोइरालाले त्यस्तो कुनै सम्भावना नरहेको दाबीसमेत गरे । यदि कुनै प्रकारको हस्तक्षेप वा धरपकडको प्रयास भए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए । कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्थाले कांग्रेसलाई वैचारिक रूपमा पुनः एकताबद्ध र सांगठनिक रूपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय भेला त्यस दिशामा महत्त्वपूर्ण मोड साबित हुने दाबी गरे। उनले कांग्रेसका भातृ संस्था, शुभेच्छुक तथा देशभरका कार्यकर्तालाई भेलामा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल विचारलाई केन्द्रमा राखेर पार्टीलाई नयाँ ऊर्जा र नयाँ दिशा दिने अभियानका रूपमा राष्ट्रिय भेलालाई सफल बनाउन आग्रह गरे ।
सर्वोच्चको आदेशपछि कांग्रेस एकताबद्ध हुने सम्भावना बढ्यो : शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पार्टीभित्र एकताको सम्भावना थप बलियो बनेको बताएका छन् । शुक्रबार (आज) सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको आदेशले कांग्रेसभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको उल्लेख गर्दै राष्ट्रिय भेलाप्रति नेता–कार्यकर्ताको आकर्षण बढ्दै गएको दाबी गरे । उनका अनुसार भेलामा सहभागी हुनेको संख्या अपेक्षाभन्दा बढी हुने संकेत देखिएको छ । पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उल्लेख गर्दै कोइरालाले उनको आगमनका क्रममा कुनै धरपकड नहुनेमा विश्वास व्यक्त गरे । यदि त्यस्तो अवस्था सिर्जना भए त्यसको राजनीतिक प्रतिवाद गरिनेसमेत उनले चेतावनी दिए । ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन भन्ने हाम्रो विश्वास छ । यदि त्यस्तो भइहाले हामी विरोध गर्छौं,’ उनले भने । पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का अनुपस्थित हुनुको कारण स्वास्थ्य अवस्था रहेको जानकारी पनि उनले दिए। खड्काको स्वास्थ्यमा सुधार भइरहे पनि चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेकाले कार्यक्रममा सहभागी हुन नसकेको उनले बताए । त्यसैगरी, अर्का नेता डा. शेखर कोइरालाले पनि राष्ट्रिय भेलालाई समर्थन गरेको दाबी गर्दै उनले विराटनगरस्थित निजी निवास निर्माणको काममा व्यस्त रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।
१८५ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.०५ अंकले घटेर २६५० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ८४ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको २३ करोड, सानिमा बैंकको १७ करोड, खानीखोला हाइड्रोको १३ करोड र आँखु खोलाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.५४ प्रतिशत र एचएलआई लार्जको सेयर मूल्य ५.१८ प्रतिशतले बढेको छ ।
रिलायबल समृद्धि योजना–२ का साढे १२ करोड इकाइ नेप्सेमा सूचीकृत
काठमाडौं । रिलायबल समृद्धि योजना–२ का इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक, रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालित उक्त योजना साउन २२ गते नेप्सेमा सूचीकृत भएको हो । नेपाल धितोपत्र बोर्डबाट २०८३ वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति पाएको योजनाको अन्तिम बाँडफाँट असार ४ गते सम्पन्न भएको थियो । यस बन्दमुखी सामूहिक लगानी कोषमा १२ करोड ५० लाख इकाइ रहेका छन् । प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ र कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । योजनाको अवधि १० वर्ष तोकिएको छ । योजनाका इकाइहरूको दोस्रो बजारमा कारोबार भने साउन २५ गतेदेखि सुरु हुनेछ । रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि र सन्तुलित प्रतिफल उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
भदौदेखि आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, शिक्षक-कर्मचारीसँग भएका सहमति कार्यान्वयन गर्न र विभिन्न शैक्षिक तथा पेशागत माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने घोषणा गरेको हो । महासंघको तेस्रो राष्ट्रिय परिषद्ले पारित गरेका निर्णय सार्वजनिक गर्दै महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भए आन्दोलनका कार्यक्रम अघि बढाइने जनाएको छ । महासंघले नेपाल सरकार र शिक्षक महासंघबीच भएका पटक-पटकका सहमति कार्यान्वयन, गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित, शिक्षा क्षेत्रमा लगानी वृद्धि तथा विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेको छ। त्यस्तै, राहत, साविक उच्च माध्यमिक, अस्थायी करार, बालकक्षा, सिकाइ अनुदान, विशेष शिक्षा र प्राविधिक धारलगायतका अस्थायी प्रकृतिका शिक्षकको पेशागत सुरक्षा, स्थायित्व र सेवा–सुविधा सुनिश्चित गर्न तथा स्थायी शिक्षकको आवधिक बढुवा र निवृत्तिभरणका लागि अपुग सेवा अवधि थप गर्न सरकारसँग आग्रह गरेको छ । महासंघले प्रारम्भिक बालकक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकलाई चालु आर्थिक वर्षको बजेटमा तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसको विरोध गरेको छ । उनीहरूलाई पनि समान सुविधा उपलब्ध गराउन माग गरिएको छ । यसैगरी, मन्त्रिपरिषद्को २०८२ वैशाख १७ गतेको निर्णयअनुसार दुर्गम क्षेत्रमा कार्यरत सबै शिक्षकलाई दुर्गमभत्ता उपलब्ध गराउन, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीका लागि दरबन्दी सिर्जना गर्न तथा सिकाइ अनुदान शिक्षकलाई पनि दरबन्दीमा समेटी तलबभत्ताको व्यवस्था गर्न महासंघले सरकारसँग माग गरेको छ ।