४ जिल्लामा आज १२ घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा आज शनिबार १२ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ । यस्तै, मोरङको उर्लाबारी, पथरी तथा आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणको परीक्षण तथा सञ्चालन र दुहबी-दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयअघि नै काम सम्पन्न भएमा निर्धारित समयभन्दा अगावै विद्युत् आपूर्ति सुचारु हुन सक्ने जनाएको छ ।
लिपमोटर बी ०३ याक्स सार्वजनिक, सुरुवाती मूल्य ४५ लाख ९९ हजार
काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले नयाँ विद्युतीय एसयूभी लिपमोटर बी ०३ याक्स नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच कम्पनीले यस गाडीको बिक्री सुरु गरेको जानकारी दिएको हो । लिपमोटर स्टेलान्टिसको आधिकारिक साझेदार ब्रान्ड हो । स्टेलान्टिस अन्तर्गत जीप, प्युजो, सिट्रोन र मासेराटी जस्ता ब्रान्डहरू पर्दछन् । नेपालमा सार्वजनिक गरिएको यो गाडी प्रिमियम डिजाइन र उच्च प्रविधिका साथ उपलब्ध छ । गाडीका विशेषताहरूको बारेमा जानकारी दिँदै साङ्ग्रिला मोटर्सका महाप्रबन्धक किरण श्रेष्ठले यसमा १४५ किलोवाट क्षमताको शक्तिशाली मोटर र ५३ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको बताए । कम्पनीका अनुसार यो गाडीले एक पटकको फुल चार्जमा ५०५ किलोमिटर सम्मको रेन्ज दिनेछ । साथै नेपाली सडकलाई मध्यनजर गर्दै यसमा १९० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ । आधुनिक फिचरहरूले भरिपूर्ण यस गाडीको भित्री भागमा १४.६ इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन, १०।२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, १२ वटा स्पिकर र ६४ रङको एम्बियन्ट लाइटिङ उपलब्ध छ । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, एडास लेभल २ सुरक्षा प्रविधि, ३६० डिग्री क्यामेरा र ट्रान्सपेरेन्ट च्यासिस जस्ता सुविधाहरू रहेका छन् । नेपाली बजारका लागि लिपमोटर बी ०३ याक्स प्रो म्याक्सको मूल्य ४५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, पहिलो १०० ग्राहकलाई ४४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो गाडी विभिन्न पाँच आकर्षक रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रिमियम एसयूभी खोज्ने ग्राहकहरूका लागि यो गाडी उत्कृष्ट विकल्प हुने साङ्ग्रिला मोटर्सको विश्वास छ ।
कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित ३ जना पक्राउ
काठमाडौं । नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी पत्नी शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा पक्राउ पक्राउ परेको जानकारी दिए । पक्राउ परेका तीनैजना बैंकिङ कसुर मुद्दामा फरार थिए । अब तीनै जनामाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेका तीनै जनालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बुझाइसकिएको छ । प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरिएको, नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको तथा धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको भनी अनुसन्धान अघि बढाइएको थियो । यसअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा तीन अर्ब २० करोडभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइएको छ । हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार छन् । अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायतका व्यक्ति पनि रहेका छन् । बैंकको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो ।
ग्रिनप्लाई नेपालले करिब साढे १६ लाख कित्ता आईपीओ जारी गर्ने
काठमाडौं । प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार (आज) सम्पन्न विशेष साधारण सभाले जारी पुँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको थियो । आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले विशेष साधारण सभामार्फत संस्थापक सेयरको मूल्यसमेत निर्धारण गरेको छ । सभाले संस्थापक सेयरको अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्रिनप्लाई नेपालले पछिल्ला वर्षमा वित्तीय रूपमा समेत सुधार गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको बिक्री अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बढेर करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको दाबी गरिएको छ । यसले कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन क्षमता तथा व्यवसायिक स्थायित्व बलियो रहेको देखाउने कम्पनीको भनाइ छ । ग्रिनप्लाईले आफ्नो उत्पादनको करिब ३० प्रतिशत नेपाली बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको जनाएको छ । निर्यातका लागि कम्पनीले भारतीय बजारमा बीआईएस सर्टिफिकेशन समेत प्राप्त गरेको छ । निर्यात प्रवद्र्धनबापत नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पूँजीगत संरचनामा पनि सुधार भएको जनाएको छ । कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा आएको छ । यस अवधिमा कम्पनीमा ६ करोड रुपैयाँ नयाँ सेयर पुँजी थपिएको थियो । नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरसी) अनुरूप सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति (नेट ट्यांजिबल एसेट) करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
स्पा उद्योगको क्षमता विकासमा नेपाल स्पा संघको जोड
काठमाडौं । नेपाल स्पा संघले ‘स्पा उद्योगको क्षमता विकास’ विषयक क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । शुक्रबार काठमाडौंस्थित शंकर होटलमा एक कार्यक्रम आयोजना गरेर नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक र गुणस्तरीय बनाउने उद्देश्यले अन्तक्रिया सम्पन्न गरेको हो । नेपाल स्पा संघको सहकार्यमा आयोजित कार्यक्रममा स्पा उद्योगको वर्तमान अवस्था, उद्योगका चुनौती तथा सम्भावना, व्यवसाय सञ्चालनका मापदण्ड, आचारसंहिता, मानव संसाधन व्यवस्थापन तथा नैतिक व्यावसायिक अभ्यासलगायतका विषयमा सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी मानव संशाधन, उद्योगका मापदण्ड तथा नैतिक व्यावसायिक अभ्यास लगायतका विषयमा समूहगत छलफल गराइएको थियो । पाँचवटा समूहमा करिब सय जना सहभागीले छलफल गरी आ–आफ्नो समूहको निष्कर्ष तथा सुझाव प्रस्तुत गरेका थिए । साथै सहभागीहरूबाट स्पा तथा वेलनेस उद्योगको वर्तमान अवस्था र आगामी आवश्यकतासम्बन्धी सर्वेक्षणसमेत गरिएको थियो । सर्वेक्षणको संक्षेप तथा निष्कर्ष नेपाल स्पा संघका सचिव रामदेव महतोले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरज घिमिरे तथा नेपाल पर्यटन बोर्डकी सदस्य सोभिता श्रेष्ठ ढकालले विशेष मन्तव्य राख्दै नेपालको स्पा तथा वेलनेस उद्योगको विकास, सम्भावना र आगामी दिशाका विषयमा धारणा प्रस्तुत गरेका थिए । नेपालको स्पा तथा वेलनेस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन गुणस्तरीय सेवा, दक्ष जनशक्ति, स्पष्ट व्यावसायिक आचारसंहिता, सुरक्षित तथा मर्यादित कार्य वातावरण र उद्योगका साझा मापदण्ड आवश्यक रहेकोमा कार्यक्रममा सहभागीहरूले जोड दिएका थिए । पोखरा, भैरहवा, इटहरीलगायत देशका विभिन्न प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा पनि यस्तै क्षमता विकास तथा अन्तरक्रियात्मक कार्यक्रम स्पा संघले जनाएको छ । नेपालको पर्यटन तथा वेलनेस क्षेत्रको महत्वपूर्ण अंगका रूपमा विकसित हुँदै गएको स्पा उद्योगलाई थप मर्यादित, सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउन व्यवसायी, श्रमिक, सरकारी निकाय तथा अन्य सरोकारवालाबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको छ ।
हुलास फिनसर्भको नाफामा छलाङ, एकै वर्षमा ८४ प्रतिशत वृद्धि
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीले यस अवधिमा ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख ७० हजार को तुलनामा ८४.४५ प्रतिशतले बढी हो । कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा इन्स्टा फाइनान्स क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप मजबुत बनाएको छ । आर्थिक वर्षभर कम्पनीको कर्जा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि भई १२ अर्ब २२ करोड पुगेको छ, जसमा विशेषगरी सवारी साधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिङ) को महत्त्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ, जसले कम्पनीको प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुली प्रणालीलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ । कम्पनीको समग्र वित्तीय अवस्था पनि थप सुदृढ बनेको छ । कुल सम्पत्ति रु. ८ अर्ब ४३ करोड बाट बढेर १२ अर्ब ६४ करोड पुगेको छ भने कुल स्वपुँजी (इक्विटी) १ अर्ब ४९ करोड बाट बढेर १ अर्ब ८९ करोड पुगेको छ । यस अवधिमा शुद्ध ब्याज आम्दानी २२ करोड १० लाख बाट बढेर ४८ करोड ४६ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । त्यस्तै, सञ्चालन नाफा पनि ३३ करोड ५२ लाख ८० हजार बाट बढेर ६१ करोड ४६ लाख ८० हजार पुगेको छ । प्रमुख वित्तीय सूचकहरूमा पनि कम्पनीले उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ । वार्षिकीकृत स्वपुँजी प्रतिफल १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ भने वार्षिकीकृत आधारभूत प्रतिसेयर आम्दानी २६.०४ बाट बढेर ४८.०४ पुगेको छ । साथै कम्पनीको कोषको लागत ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा झरेको छ । ब्याजदर अन्तर १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ भने कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ । हुलास फिनसर्भका एक प्रतिनिधिका अनुसार निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त हुनु तथा नेपालको वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसँग सम्बन्धित चुनौती कायम रहे पनि कम्पनीले व्यवसाय विस्तार, सञ्चालन दक्षता, सुदृढ जोखिम व्यवस्थापन तथा प्रभावकारी कर्जा असुली रणनीतिका कारण उल्लेखनीय वित्तीय उपलब्धि हासिल गर्न सफल भएको हो । कम्पनीले आगामी दिनमा दिगो रूपमा कर्जा पोर्टफोलियो विस्तार गर्दै सम्पत्तिको गुणस्तर थप सुदृढ बनाउने, कर्जा असुली प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने रणनीतिलाई निरन्तरता दिने जनाएको छ । साथै दीर्घकालीन रूपमा आफ्ना सबै सरोकारवालाको हित र मूल्य अभिवृद्धिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।
गाभीले नेपाललाई करिब ४ करोड डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले सन् २०२७ देखि २०३० सम्मको अवधिमा नेपाललाई करिब ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप र १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ । सरकार र गाभीबीच आगामी चार वर्षको रणनीतिक सहकार्यबारे भएको उच्चस्तरीय छलफलमा खोप सहयोग र नगद अनुदान उपलब्ध गराउने गाभीले प्रस्ताव गरेकाे हो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा गाभीको आगामी सहयोगबारे छलफल भएकाे थियाे । प्रस्तावअनुसार गाभीबाट प्राप्त हुने सहयोगका लागि नेपालले १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरिसकेको छ । हाल गाभीले सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ प्रकारका खोपमध्ये पाँचवटामा सहलगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ । बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी वित्तीय रूपमा दिगो बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
याडियाले नेपालमा तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्यो
काठमाडौं । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले जीएस७०, जीटी७० र जीटी८० गरी तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटरहरू आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर बजारमा ल्याइएको हो । जीएस७० दैनिक सहरी यात्रालाई लक्षित गरी तयार गरिएको मोडल हो । जीटी७० लामो दूरीका यात्रुका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । प्रिमियम सेग्मेन्टको जीटी८० भने उच्च प्रदर्शन, आकर्षक डिजाइन र उन्नत फिचरसहित बजारमा ल्याइएको छ । तीनै मोडलमा ब्लुटुथ कनेक्टिभिटी, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन, स्मार्ट एप, फेमिली सेयरिङ, की–लेस प्रणाली, ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टमजस्ता सुविधा दिइएको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ स्कुटरमा तीन वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ । हाल यी स्कुटर देशभर रहेका २० आधिकारिक याडिया डिलरमार्फत बिक्री भइरहेको र आगामी दिनमा बिक्री तथा सेवा सञ्जाल थप विस्तार गरिने कम्पनीको योजना छ । नाइमा अटो शो अवधिभर तीनै मोडलमा १० हजार रुपैयाँसम्म विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ग्राहकले नजिकको याडिया शोरुममा पुगेर टेस्ट राइड, फाइनान्स सुविधा र थप जानकारी लिन सक्नेछन् ।