काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा आज शनिबार १२ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ ।
यस्तै, मोरङको उर्लाबारी, पथरी तथा आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणको परीक्षण तथा सञ्चालन र दुहबी-दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले तोकिएको समयअघि नै काम सम्पन्न भएमा निर्धारित समयभन्दा अगावै विद्युत् आपूर्ति सुचारु हुन सक्ने जनाएको छ ।