विकासन्युज

डडेल्धुरामा कांग्रेसको वडा अधिवेशनमै विभाजन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशनलाई लिएर पार्टीभित्र विभाजन देखिएको छ ।  जिल्ला सभापति भीमबहादुर साउदसहितका नेताहरू वडा अधिवेशन प्रक्रियामा सहभागी हुँदा उपसभापति डिल्लीराज जोशीसहित बहुमत जिल्ला सदस्य तथा केही स्थानीय तहका सभापति प्रक्रियाबाट बाहिरिएका हुन् । जिल्ला सभापति साउदले आइतबार डडेल्धुराका ५२ वटै वडामा अधिवेशन प्रक्रिया सुरु भएको जानकारी दिए । उनका अनुसार सबै वडामा निर्धारित प्रक्रियाअनुसार अधिवेशन अघि बढिरहेको छ । तर उपसभापति जोशी भने जिल्लामा वडा अधिवेशन सर्वसम्मत रूपमा अघि बढेको दाबी अस्वीकार गर्छन् । उनका अनुसार अमरगढी नगरपालिका तथा गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका सभापतिसहित जिल्ला कार्यसमितिका बहुमत सदस्य अधिवेशन प्रक्रियामा सहभागी भएका छैनन् । जोशीले डडेल्धुराका करिब ७० प्रतिशत क्रियाशील सदस्यसमेत अधिवेशन प्रक्रियामा सहभागी नभएको दाबी गरे । उनका अनुसार जिल्लामा पार्टीको एउटा पक्षले मात्र अधिवेशन प्रक्रिया अघि बढाएको छ । डडेल्धुरामा देखिएको विवाद कांग्रेसभित्र १५औं महाधिवेशनलाई लिएर चर्किएको आन्तरिक संघर्षको स्थानीय तहसम्मको प्रभावका रूपमा देखिएको छ।   विशेष महाधिवेशनबाट अघि बढाइएको महाधिवेशन प्रक्रियाप्रति पूर्वसभापति देउवा पक्षले असहमति जनाउँदै आएको छ ।  यही विवादका बीच वडा अधिवेशन सुरु भएपछि डडेल्धुरामा समेत पार्टीका दुई धार स्पष्ट देखिएको हो । कांग्रेसले शनिबारदेखि देशभर वडा अधिवेशन सुरु गरेको हो । पहिलो दिन ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको पार्टीले जनाएको छ ।  आइतबार पनि अधिकांश जिल्लामा अधिवेशन जारी छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तथा सिराहामा भने निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन कांग्रेसको महाधिवेशन प्रक्रियाको प्रारम्भिक तह हो । वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले आगामी गाउँ–नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला तथा केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्वको आधारसमेत यही प्रक्रियाबाट तयार हुन्छ । त्यसैले डडेल्धुरामा अधिवेशनमा सहभागी र असहभागी समूहबीचको विवादले आगामी प्रतिनिधि चयनमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।  एकातर्फ जिल्ला सभापति साउदले ५२ वटै वडामा प्रक्रिया सुरु भएको बताउँदा अर्कोतर्फ उपसभापति जोशीले बहुमत जिल्ला नेतृत्व र ठूलो संख्यामा क्रियाशील सदस्य प्रक्रियाबाट बाहिर रहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, परराष्ट्रले मिति तय गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी अघि बढेको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक कार्यसूची तय भइनसके पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा आएको संकेत र भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणपछि परराष्ट्र मन्त्रालयले भ्रमणको मिति तय गर्ने तयारी थालेको हो । भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ र ‘नवभारत टाइम्स’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नोभेम्बरमा नयाँदिल्ली जान सक्ने समाचार प्रकाशित गरेका छन् । शाहले प्रधानमन्त्रीका रूपमा यसअघि आफ्नो विदेश भ्रमण २०२७ बाट सुरु गर्ने बताएका थिए । तर, भारतबाट आएको निमन्त्रणापछि उनको विदेश भ्रमणको तालिका परिवर्तन हुन सक्ने देखिएको हो ।  प्रधानमन्त्री शाहको सचिवालयले पनि भारत भ्रमणको तयारी भइरहेको बताएको छ । सचिवालयका अनुसार भ्रमणको मिति र औपचारिक कार्यक्रमबारे अहिले नै निश्चित भइसकेको छैन । भ्रमणको तयारी र मिति तयको काम परराष्ट्र मन्त्रालयले गरिरहेको सचिवालयका एक सदस्यले जानकारी दिए ।  अर्थमन्त्री वाग्लेले आफ्नो पहिलो भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित रिसर्च एन्ड इन्फर्मेसन सिस्टम फर डेभलपिङ कन्ट्रिज (आरआईएस) मा विज्ञ तथा थिंक ट्यांकका प्रतिनिधिसँग छलफल गरेका थिए । त्यस क्रममा उनले नेपाल–भारत आर्थिक सम्बन्ध, उद्योग–उद्योगबीचको सहकार्य, रोजगारी सिर्जना तथा औद्योगिक विकासलाई सरकारले दिएको प्राथमिकताबारे जानकारी गराएका थिए । वाग्लेले भारतबाट नेपालमा निजी क्षेत्रको लगानी बढाउनुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाएका छन् । भारतबाट नेपालमा निजी लगानीको पछिल्लो ठूलो लहर करिब २५ वर्षअघि आएको उल्लेख गर्दै उनले नेपालले भारतीय लगानीको नयाँ चरण आकर्षित गर्न चाहेको बताएका छन् । नेपालले भारतसँगको द्विपक्षीय व्यापार तथा पारवहन सन्धिलाई समयअनुकूल बनाउने विषयलाई समेत प्राथमिकतामा राखेको छ । सन् २०२३ मा पारवहन सन्धि संशोधन गरिएको थियो भने त्यसपछि रेलमार्फत हुने माल ढुवानी तथा बल्क कार्गो कनेक्टिभिटी विस्तारका लागि थप समझदारी भएको थियो । अर्थमन्त्री वाग्लेले भारतीय वित्तमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँगको भेटमा नेपालमा हालै आएको विनाशकारी अकस्मात् बाढीपछि पुनर्निर्माण र भारतबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल गरेका छन् । नेपालमा आएको विपद्पछि भारतले उद्धार तथा राहतमा सहयोग गर्दै आएको छ । पछिल्लो समय पनि भारतले नेपाललाई विपद्बाट पुनःस्थापनाका लागि थप राहत सामग्री पठाएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमण तय भएमा नेपाल–भारत सम्बन्धसँगै आर्थिक तथा व्यापारिक विषय भ्रमणको महत्वपूर्ण एजेन्डा बन्न सक्नेछ । विशेषगरी द्विपक्षीय व्यापार, पारवहन, भारतीय निजी लगानी, उद्योग–उद्योग सहकार्य तथा विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल हुन सक्ने देखिन्छ । तर, प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति भने अहिलेसम्म नेपाल सरकार वा भारतीय पक्षबाट सार्वजनिक रूपमा पुष्टि भएको छैन । त्यसैले नोभेम्बरमा भ्रमण हुने विवरणलाई अहिले नै निश्चित कार्यक्रमका रूपमा लिन सकिने अवस्था छैन । यसैबीच प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) मा सहभागी हुन मंगलबार असोज ६ गते अमेरिका जाँदैछन् । उनले संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत हुने उच्चस्तरीय सप्ताहमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । प्रधानमन्त्री शाहको अमेरिका भ्रमण नेपालमा अगस्ट २६ मा मध्य नेपालका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि हुन लागेको हो । महासभामा प्रधानमन्त्री शाहले नेपालमा परेको विपद्, त्यसबाट भएको क्षति तथा पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगको विषय उठाउने कार्यसूची छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तन र जलवायुजन्य विपद्का कारण हिमाली तथा विकासशील मुलुकले भोग्नुपरेका समस्यालाई प्रमुखताका साथ उठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको आमबहसलाई सम्बोधन गर्नेछन् । न्यूयोर्कमा रहँदा शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको असर तथा जलवायुजन्य विपद्बारे नेपालको धारणा उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नेछन् । परराष्ट्रमन्त्री शिशिर खनाल भने आइतबार नै न्यूयोर्क प्रस्थान गरेका छन् । उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । साथै, विभिन्न देशका समकक्षी तथा अन्य उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर रायलगायत सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

सामुदायिक विद्यालयको पिउने पानीको परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीले पिउने पानी सुरक्षित भए/नभएको परीक्षण गर्ने भएको छ ।  महानगरले विद्यालयसँगै वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा प्रयोग हुने पानीको समेत प्रयोगशाला परीक्षण गर्ने तयारी गरेको हो ।  विद्यालयका बालबालिकालाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाको स्वास्थ्य विभागले पानीको नमूना संकलन र परीक्षण प्रक्रियाका लागि सम्बन्धित व्यक्तिलाई अभिमुखीकरण दिन थालेको छ ।  वडा नं. १ बाट सुरु गरिएको अभिमुखीकरण क्रमशः सबै वडाका जनप्रतिनिधि, वडा सचिव, विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा पानीका उत्पादक र वितरकसम्म पु‍र्याइने महानगरले जनाएको छ ।  महानगरपालिकाको स्वास्थ्य विभागअन्तर्गत समुदाय, स्वास्थ्य संस्था र विद्यालयमा पानी स्वच्छता कार्यक्रमकी फोकल पर्सन राधिका कुइँकेलका अनुसार तालिम प्राप्त व्यक्तिले पानीको नमुना संकलन गर्नेछन् ।  संकलन गरिएका ती नमुनाको प्रयोगशाला परीक्षणपछि प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।  विद्यालयमा बालबालिका दिनको ठूलो हिस्सा बिताउने भएकाले उनीहरूले नियमित रूपमा प्रयोग गर्ने पिउने पानीको गुणस्तर स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। धारा, जार वा अन्य स्रोतबाट आउने पानी सफा र सङ्लो देखिँदैमा पिउनयोग्य छ भन्ने सुनिश्चित नहुने भएकाले महानगरले प्रयोगशाला परीक्षणमार्फत पानीको वास्तविक अवस्था पहिचान गर्न लागेको हो ।

दर्ताबिना औषधि पसल सञ्चालन नगर्न औषधी व्यवसायी संघको आग्रह

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौंले जिल्लाभित्र सञ्चालित औषधि पसललाई कानुनी मापदण्ड पालना गर्दै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । औषधि व्यवस्था विभागसँगको छलफलपछि संघले सूचना जारी गर्दै दर्ताबिना औषधि पसल सञ्चालन नगर्न, अनुगमनबाट बच्न बिहान–बेलुका वा सार्वजनिक बिदाका दिन मात्र पसल खोल्ने प्रवृत्ति रोक्न तथा आफ्नो नाममा रहेको औषधि बिक्री–वितरणसम्बन्धी अनुमति वा व्यावसायिक प्रमाणपत्र अरूलाई भाडामा नदिन सचेत गराएको हो । सङ्घका अनुसार औषधि व्यवसाय सामान्य व्यापारभन्दा फरक र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यवसायीले कानुनी अनुशासन तथा पेसागत मर्यादा कायम गर्न आवश्यक छ । संघले लागुऔषध, एन्टिबायोटिक्स तथा चिकित्सकको पुर्जा आवश्यक पर्ने औषधि बिनापुर्जा वा अनधिकृत रूपमा बिक्री–वितरण नगर्न पनि आग्रह गरेको छ । थोक व्यवसायीलाई समेत दर्ता नभएका वा वैधानिकता पुष्टि नभएका खुद्रा औषधि पसलमा औषधि आपूर्ति नगर्न भनिएको छ । सूचनाको उल्लङ्घन गरी गैरकानुनी वा अनधिकृत गतिविधिमा संलग्न हुने तथा त्यस्ता गतिविधिमा सहयोग गर्ने व्यवसायीलाई संघले संरक्षण नगर्ने जनाएको छ। नियामक निकायको अनुगमनका क्रममा कैफियत भेटिए प्रचलित कानुनअनुसार पसल बन्द, सिलबन्दी, औषधि जफत तथा अन्य दण्डात्मक कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ ।  सङ्घका महासचिव शुभमान श्रेष्ठले व्यवसायीलाई आफ्ना व्यावसायिक गतिविधिको तत्काल पुनरावलोकन गरी कानुनी मापदण्डअनुसार सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए । यसैबीच, संघले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ संशोधन विधेयकबारे पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । संघले स्तनपानको संरक्षणसँगै शिशुको सुरक्षित पोषणको अधिकार सुनिश्चित हुनुपर्ने जनाएको छ । आमाको दूधलाई प्राथमिकता दिँदै दूध उपलब्ध हुन नसक्ने विशेष अवस्थामा स्वीकृत र गुणस्तरीय वैकल्पिक पोषण उपलब्ध गराउने व्यवस्था हुनुपर्ने उसको माग छ । यस्ता वैकल्पिक पोषण सामग्रीको सुरक्षित र पारदर्शी बिक्री–वितरणका लागि योग्य औषधि पसलमार्फत व्यवस्था गर्नुपर्ने धारणा पनि संघले अघि सारेको छ।

प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस् : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्छ कि मिल्दैन भनेर सोध्ने र अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत त्यसबारे जानकारी गराउने अभ्यास रहेको दाबी गरे । ओलीले भने, ‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ । प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ । तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस् । त्यस्तो नगर्नुहोस् ।’ उनले सञ्चारकर्मीहरूलाई अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न नगर्न आग्रह गरे ।

प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा पदबाट हटाउने विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्षको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको बताएका हुन् ।  उनका अनुसार बलथली बैठकपछि विभिन्न मस्यौदा तथा १३ वटा समूहबाट आएका सुझावलाई समेटेर तीन जना नेतालाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो ।   रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेलले तयार पारेको एकीकृत प्रतिवेदनलाई आधार बनाएर कार्यदलले थप छलफल गरी साझा प्रतिवेदन तयार गरेको उनले बताए ।   उनका अनुसार पार्टीको विशेष महाधिवेशन वा विशेष विधान महाधिवेशन तत्काल नबोलाउने सहमति भएको छ । तर नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय आउन सक्ने र त्यसलाई रोक्न नसकिने उनले बताए । यस्तै, पार्टीको नियमित विधान महाधिवेशनमा विगतका निर्णय तथा विधानसम्बन्धी विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।  ७० वर्षे उमेर हद र दुई कार्यकाल लगायतका विषय नियमित विधान महाधिवेशनमा छलफलको विषय बन्न सक्ने बस्नेतले बताए ।  कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति गरेको उनले जानकारी दिए ।  पार्टीको एकता सुदृढ गर्ने तथा वर्तमान सरकारको ‘अधिनायकवादी, प्रतिशोधपूर्ण र जनविरोधी’ गतिविधिविरुद्ध आन्दोलन अघि बढाउने उद्देश्यले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको उनको भनाइ छ । बस्नेतले कार्यदलको प्रतिवेदनमा १३ वटा समूहबाट आएका सुझावलाई अनुसूचीमा समावेश गरिने जानकारी दिए ।  कार्यदलको साझा प्रतिवेदन आइतवारकै सचिवालय बैठकमा र सोमवार बस्ने केन्द्रिय कमिटी बैठकमा पेश गरिने उनले बताए ।  उनका अनुसार कार्यदलले तयार गरेको २९ पृष्ठको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।  बस्नेतले कार्यदलको प्रतिवेदनलाई लिएर बाहिर आएका विभिन्न चर्चा तथा सामाजिक सञ्जालमा भएका प्रचारबाट भ्रममा नपर्न पनि आग्रह गरे ।

प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा अभिकर्तालाई सम्मान, व्यवसायिक क्षमता विकास तथा मनोरञ्जनात्मक गतिविधि समेटिएको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । सो अवसरमा उनले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए । यस्ता सम्मानले अभिकर्ताहरूलाई थप उत्साह र आत्मविश्वासका साथ व्यवसायमा अघि बढ्न प्रेरणा दिने उनको भनाइ थियो । आगामी दिनमा पनि अभिकर्तालाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीको निरन्तर साथ र सहयोग रहने उनले प्रतिबद्धता जनाए । आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाउँदै कम्पनीले आर्थिक वर्ष २०८३/८४ लाई थप सफलताको वर्ष बनाउन सहभागीहरूलाई प्रेरित गरेको थियो । कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को सफलताले नयाँ आर्थिक वर्षको लक्ष्य हासिल गर्न थप ऊर्जा मिलेको बताए । कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणले अभिकर्ताको व्यवसायिक क्षमता विकासमा सहयोग पुगेको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरबाट कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कर्पोरेट क्लब अवार्डबाट सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफले आफ्ना अभिकर्ताको क्षमता विकास र मनोबल बढाउन विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।

राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउन कार्यदलको सिफारिस

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  निर्वाचन परिणामको समीक्षा र त्यसपछि पार्टीको सांगठनिक अवस्थाबारे बहस चलिरहेका बेला कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकलाई औपचारिक रूपमा अघि बढाउने निष्कर्ष निकालेको हो । आइतबार बसेको १५ सदस्यीय कार्यदलको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टी नेतृत्वलाई सुझाव दिने विषयमा सर्वसम्मत निर्णय गरेको कार्यदलका सदस्य एवं सचिव महेश बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकले कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा  र महासचिव शङ्कर पोखरेलले तयार पारेका छुट्टाछुट्टै मस्यौदालाई आधार बनाएर एकीकृत प्रतिवेदन तयार गर्ने सहमति पनि गरेको छ । ‘दुवै मस्यौदालाई मिलाएर एकीकृत मस्यौदा तयार गरी सचिवालयमा पेस गर्ने सहमति भएको छ,’ बस्नेतले भने । कार्यदलले तयार गर्ने प्रतिवेदनमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन र आगामी सांगठनिक दिशासँग सम्बन्धित विषयहरू समेटिने बताइएको छ ।  राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सिफारिस पनि यही समग्र समीक्षाको एउटा महत्त्वपूर्ण निष्कर्षका रूपमा आएको हो । एमालेभित्र पछिल्लो निर्वाचनपछि पार्टीको संगठन, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक रणनीतिबारे विभिन्न तहमा समीक्षा भइरहेको छ ।  निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको विषयलाई लिएर पार्टीभित्रै समीक्षा र पुनर्गठनको आवश्यकता उठ्दै आएको छ ।  यही पृष्ठभूमिमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको थियो ।