काठमाडौं । ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा भारतसहित ४० भन्दा बढी देशले चीनलाई अमेरिकी ट्यारिफबाट जोगिन सहयोग गरेको दाबी गरिएको छ ।
चीनले आफ्ना सामान कम आयात शुल्क लाग्ने देश हुँदै अमेरिका पठाएर उच्च अमेरिकी ट्यारिफबाट बच्ने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा क्यानडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरियासहित विभिन्न देशको नाम उल्लेख गरिएको छ ।
ह्वाइट हाउसका अनुसार यी देशमार्फत चीनले अर्बौँ डलर बराबरको अमेरिकी ट्यारिफबाट बच्ने प्रयास गरेको थियो ।
अमेरिकाका व्यापार सल्लाहकार पिटर नाभारोले यस्तो व्यवस्थाका कारण ‘अमेरिकी रोजगारी र अर्बौं डलरको राजस्वमा क्षति पुगेको’ बताएका छन् ।
यता वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीको प्रश्नको जवाफ दिँदै अमेरिकी आरोपप्रति प्रतिक्रिया जनाएका छन् । उनले ‘व्यापार युद्धमा कसैको पनि जित हुँदैन’ भनेका छन् ।
उनले अमेरिकाले लगाएको ट्यारिफसम्बन्धी उपाय तथा चिनियाँ कम्पनीलाई लक्षित गर्न सरकारी शक्तिको प्रयोग गरिएको भन्दै विरोध गरेका छन् ।
चिनियाँ प्रवक्ताले तेस्रो मुलुक हुँदै सामान पठाउने प्रक्रियालाई लिएर कुनै पनि एकपक्षीय कारबाही वा सम्झौताले तेस्रो देशको हितमा क्षति पुर्याउन नहुने बताएका छन् ।
बीबीसीले प्रतिवेदनमा उल्लेख गरिएका भारत, क्यानडा, मेक्सिको, जापान, दक्षिण कोरिया लगायतका देशका दूतावाससँग पनि यस विषयमा प्रतिक्रिया मागेको जनाएको छ ।
अमेरिका र चीनबीच ट्यारिफ तथा प्रतिबन्धलाई लिएर तनाव बढिरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भेटवार्ता हुने तयारीसमेत भइरहेको छ ।
ह्वाइट हाउसले सरकारी तथा निजी क्षेत्रका अनुमानलाई उद्धृत गर्दै करिब ३० अर्बदेखि ३०० अर्ब डलरसम्मका सामान उच्च ट्यारिफ लाग्ने देशबाट कम ट्यारिफ भएका देश हुँदै अमेरिका पुगेको दाबी गरेको छ ।