दाङको हापुरेमा कजारिया टायल्सको नयाँ शोरुम सञ्चालनमा
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले दाङको हापुरेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हापुरे मार्बल प्रा.लि.द्वारा व्यवस्थापन गरिने यस शोरुमले स्थानीय बासिन्दा, आर्किटेक्ट तथा डिजाइनरहरूलाई कम्पनीका उच्च गुणस्तरीय टायल्स र इन्टेरियर समाधानहरूको उत्कृष्ट अनुभव प्रदान गर्ने जनाएको छ । शोरुमको औपचारिक उद्घाटन आइतबार सम्पन्न भएको हो । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि तथा हापुरे मार्बल प्रा.लि.को टोलीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय समुदायलाई नयाँ शोरुमको अवलोकनका लागि स्वागत गरिएको थियो । नयाँ शोरुमलाई ग्राहकमैत्री र सहज किनमेल अनुभव हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । यहाँ कजारियाका अत्याधुनिक फ्लोर तथा वाल टायल्सका विभिन्न कलेक्सन उपलब्ध छन् । ग्राहकहरूले विभिन्न टेक्सचर र फिनिस प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने भएकाले घर तथा परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ । उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले हापुरे मार्बल प्रा.लि.सँगको सहकार्यमा दाङका बासिन्दासम्म आफ्ना उत्पादन पुर्याउन पाउँदा खुसी लागेको बताए । उनले ग्राहकलाई उच्च गुणस्तरका सामग्री उपलब्ध गराउँदै सपनाको घर सजाउन सहयोग गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको उल्लेख गरे । नयाँ शोरुम हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ । कम्पनीले हापुरे तथा आसपासका क्षेत्रका बासिन्दालाई नयाँ कलेक्सन अवलोकन गर्न हार्दिक आमन्त्रण गरेको छ ।
प्राधिकरण कञ्चनरूप वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण सप्तरीस्थित कञ्चनरूप वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दास विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्राहकसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । दासमाथि चार्जिङ स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोप छ । सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले दासलाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
३८ अंकले बढ्यो नेप्से, फर्स्ट माइक्रोको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७८३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । साथै सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेसनल हाइड्रोको १७ करोड, एसवाई प्यानलको १६ करोड, रिडि पावरको १५ करोड ८८ लाख र साहस ऊर्जाको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । फर्स्ट माइक्रो फाइनान्सको सेयर मूल्य १४.१९ प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ १.०२ प्रतिशत, डेभलपमेन्ट बैंक १.३६ प्रतिशत, फाइनान्स १.८१ प्रतिशत, होटल तथा टुरिजम ०.६९ प्रतिशत, हाइड्रो १.७९ प्रतिशत, इन्भेष्टमेन्ट १.२५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.९९ प्रतिशत, उत्पादन तथा प्रसोधन १.३० प्रतिशत, माइक्रोफाइनान्स १.७० प्रतिशत, म्युचल फन्ड ०.०६ प्रतिशत, नन लाइफ इन्स्योरेन्स १.६० प्रतिशत, अन्य २.११ प्रतिशत र ट्रेडिङको १.१५ प्रतिशतले बढेका छन् ।
सभामुख र उपसभामुख नहुँदा सभा चलाउन ७ सदस्य मनोनित
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सभामुख र उपसभामुख नहुँदा सभा सञ्चालन गर्न सात सदस्य मनोनित गरेका छन् । सोमबार (आज) प्रतिनिधि सभाको बैठकमा उनले मनोनित गरेको जानकारी गराएका हुन् । मनोनित हुने सदस्यमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बू, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी छन् रहेका छन् ।
सर्वोच्चले भन्यो : विद्यार्थी संगठन खारेज नगर्नू
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयभित्र रहेका विद्यार्थी संगठनहरू खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वर्तमान सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध आठ विद्यार्थी संगठनले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन पनि आदेश दिएको जनाएको छ । सरकारको निर्णयपछि विद्यार्थी संगठनहरूले लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै विरोध जनाउँदै आएका थिए । अदालतको आदेशसँगै तत्कालका लागि विश्वविद्यालयमा विद्यार्थी संगठनहरू यथावत रहने भएका छन् ।
नियमावलीको विवादित प्रावधान फिर्ता गर्न कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली मस्यौदामा राखिएका केही प्रावधानप्रति गम्भीर आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले नियमावलीमार्फत भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयास गरिएको भन्दै विरोध जनाएका हुन् । उनले नियमावलीको नियम ४७ को उपनियम ३ प्रति आपत्ति जनाउँदै संसद् संविधान र प्रचलित कानुनभन्दा माथि हुन नसक्ने बताए । 'भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयास किन गरिएको हो ? संसद् संविधान र कानुनभन्दा माथि कसरी हुन सक्छ ?' भन्दै उनले प्रश्न उठाए । राईले आफूलाई इलामका जनताले 'बेदाग प्रतिनिधि' का रूपमा संसद्मा पठाएको उल्लेख गर्दै दाग बोकेर फर्किन नचाहने बताए । उनले नियमावलीका विवादित प्रावधानहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ सँग बाझिएको दाबी गरे । उनले संसद्, संसदीय समिति र सांसदहरूको हकमा प्रचलित अन्य कानुन लागू नहुने व्यवस्था गर्न खोजिएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए । 'नियम २३९ मा विशेष कानुन सरह लागू हुन्छ भनिएको छ । नियमावली कसरी विशेष कानुन हुन्छ ?' भन्दै उनले प्रश्न गरे । राईले प्रतिनिधिसभा सदस्यलाई विशेष अधिकार दिने गरी नियमावलीमा गरिएको व्यवस्था लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत भएको जिकिर गरे । उनले विवादित नियमावली तत्काल टेबुल नगरी पुनः समितिमा फिर्ता पठाउन माग गर्दै पर्याप्त छलफल, सहमति र पुनर्लेखनपछि मात्र सदनमा ल्याउनुपर्ने बताए ।
प्रतिनिधिसभा बैठक सञ्चालन
काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । सोमबार केहीबेरअघि सुरु भएको प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै अवरोध गरेका थिए । बैठक प्रारम्भ हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा सहयोग गर्न र अवरोध हटाउन आग्रह गरेका थिए । त्यसपछि सदन सुरु भएको छ ।
मेरोविरुद्ध समाचार लेखेर अपमान गरियो : सांसद खरेल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । उनले सोमबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद खरेलले म स्विजरल्याण्ड गएको भोलिपल्ट सुटुक्क भागे’ भन्ने आशयमा प्रकाशित समाचार भ्रामक र तल्लोस्तरको पत्रकारिता भएको टिप्पणी गरे । उ नले उक्त समाचारले आफ्नो राजनीतिक जीवन र पार्टीको अपमान गरेको बताए । ‘यो निरर्थक र तल्लोस्तरको पत्रकारिता हो । मेरो राजनीतिक जीवन र पार्टीप्रति अपमान गरिएको छ,’ उनले भने । सांसद खरेलले आफूले कुनै निर्णय वा फाइल अगाडि बढाएको प्रमाण भए राजनीतिक जीवनबाटै बिदा हुन तयार रहेको चुनौती दिए । ‘एउटा मिटिङ, एउटा फाइल अगाडि बढाउने निर्णय भएको छ भने म राजनीतिक जीवनबाट बिदा हुन सक्छु,’ उनले भने । उनले समाचार लेख्ने सञ्चारमाध्यम, सम्पादक तथा सञ्चालकलाई कारवाही हुनुपर्ने धारणा राखे । साथै, प्रेस काउन्सिल नेपाललाई अझ शक्तिशाली बनाउन आवश्यक रहेको धारणा पनि उनले राखे ।