काठमाडौं । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ। कारखाना सञ्चालनका लागि आवश्यक सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए ।
यस्तै, सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै त्यसका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने योजनालाई पनि अघि सारेको छ । यही क्रममा बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।
उद्योगमन्त्री गौरीकुमारी यादवले नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने कपासको उत्पादन बढाउन निजी क्षेत्र र व्यवसायीलाई खेतीमा लगानी गर्न आह्वान गरेकी छन् । कपडा उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थमा विदेशी निर्भरता घटाउँदै स्वदेशी उत्पादन बढाउने उद्देश्यले कपास खेती विस्तारमा जोड दिइएको उनले बताइन् ।
मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग भेट गरी कपास खेती विस्तारका सम्भावनाबारे छलफलसमेत गरेकी छन् । छलफलमा कृषि मन्त्री चौधरीले दाङ, बाँके र बर्दियालगायतका जिल्लामा कपास खेतीका लागि अनुकूल वातावरण रहेको बताइन् ।
नेपालमा कपास खेतीको सम्भावना भए पनि व्यावसायिक स्तरमा पर्याप्त उत्पादन हुन नसक्दा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमै निर्भर हुनुपर्ने अवस्था छ । सरकारले कपास उत्पादन र उद्योग सञ्चालनलाई एकीकृत रूपमा अघि बढाउन सके आयात घटाउनुका साथै किसानको आम्दानी र रोजगारीका अवसर बढाउन सकिने अपेक्षा गरेको छ ।
हेटौँडा कपडा उद्योगसँगै बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने तयारीले कपास उत्पादनदेखि धागो र त्यसपछि कपडा उत्पादनसम्मको स्वदेशी औद्योगिक शृंखला निर्माण गर्ने आधार तयार हुने देखिएको छ ।
सरकारले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अघि सारेको छ। कपास खेती विस्तार गरेर विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादनको आधार बलियो बनाउने र औद्योगिक रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।