भेट्रान निर्माण व्यवसायी शर्मा र बडु प्रहरी नियन्त्रणमा
काठमाडौं । शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक पिताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार उनीहरुलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हाे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भइरहेको छ, ठेक्का समयमा निर्माण सम्पन्न नगरेको र अनावश्यक रुपमा योजना ओगटेको आरोप लागेको छ,’ खड्काले विकासन्युजसँग भने ।
नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई थप सहजता प्रदान गर्दै नयाँ प्रिपेड ई–सिम अनलाइनमार्फत नै लिन सकिने व्यवस्था सुरु गरेको छ । टेलिकमले जारी गरेको विज्ञप्तिअनुसार अब नयाँ सिम लिनका लागि ग्राहकहरू स्वयं उपस्थित भएर कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले टेलिकमको आधिकारिक वेबसाइट esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको 'गेट न्यू प्रिपेड ई-सिम' मा क्लिक गर्नुपर्ने टेलिकमले जनाएको छ । वेबसाइटमा दिइएको निर्देशन अनुसार आफ्नो विवरण दर्ता गरिसकेपछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । भुक्तानी प्रक्रिया पूरा भएपछि सेवाग्राहीलाई इ–सिमको क्यूआर कोड प्राप्त हुनेछ, जसलाई आफ्नो मोबाइल सेटको सेटिङमा गएर स्क्यान गरेपछि सिम सक्रिय हुनेछ । टेलिकमले यसअघि नै प्रयोगमा रहेका भौतिक सिमलाई ई–सिममा बदल्ने सुविधा अनलाइनमै उपलब्ध गराउँदै आएकोमा अहिले नयाँ प्रिपेड सिमका लागि पनि यो सुविधा थप गरेको हो । यसका साथै नयाँ फिजिकल सिमका लागि आवश्यक पर्ने फारम भर्न तथा ग्राहक विवरण दर्ता वा अद्यावधिक गर्नका लागि समेत सोही पोर्टलमा अनलाइन केवाईसी सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
एसईई नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ सजिलो तरिका
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसमार्फत हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यलाई यस वर्ष पनि निरन्तरता दिने जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२/८३ को एसईई नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । परीक्षा नियन्त्रण कार्यालयले अन्तिम तयारी गरिरहेको र गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । ५ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै वेबसाइट डाउन हुने समस्याबाट बच्न ३५००१ सर्टकोडमार्फत एसएमएसबाटै नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि उच्च क्षमताको प्राविधिक पूर्वाधार तयार पारिएको कम्पनीले जनाएको छ । स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रा.लि.) ले सन् २०१० देखि नेपालमा नतिजा हेर्ने डिजिटल प्रणालीको विकास गर्दै आएको छ । सुरुवातमा क्याम्पस स्टार्टअपका रूपमा सुरु भएको यो सेवा अहिले राष्ट्रिय डिजिटल पूर्वाधारको महत्त्वपूर्ण हिस्सा बनेको छ । पहिले नतिजा थाहा पाउन गोरखापत्र कुर्नुपर्ने वा साइबर क्याफे जानुपर्ने बाध्यता रहेकोमा स्प्यारोले इन्टरनेट बिना नै सामान्य मोबाइलबाट एसएमएसमार्फत नतिजा हेर्ने सुविधा उपलब्ध गराउँदै आएको छ । स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले विद्यार्थीको तनावपूर्ण समयमा सहज सेवा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार देशका जुनसुकै स्थानमा रहेका विद्यार्थीले ३५००१ सर्टकोडमार्फत सजिलै नतिजा प्राप्त गर्न सक्नेछन् । एसएमएसबाट एसईई २०८३ को नतिजा हेर्ने तरिका : मोबाइलको मेसेज (SMS) एप खोल्नुहोस् नयाँ मेसेजमा SEE <स्पेस> आफ्नो सिम्बोल नम्बर टाइप गर्नुहोस् उक्त मेसेज ३५००१ मा पठाउनुहोस्
प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन
काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रविन्द्र ढकाल चयन भएका छन् । कम्पनीको संचालक समितिको वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । नवनियुक्त अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफूलाई प्रतिस्पर्धी तथा प्रभावशाली स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ । ढकाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएसँगै कम्पनीको रणनीतिक विकास, सेवा विस्तार तथा पूँजी बजारमा प्रभावकारी उपस्थिति मजबुत बनाउने अपेक्षा गरिएको छ ।
पुरानै विषयमा रुमल्लिए विद्यार्थी, बजारलाई आवश्यक नयाँ विषय छन्
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरू अहिले नतिजाको पखाईमा छन् । नतिजा राम्रो आउने आशामा रहेका विद्यार्थीहरू कक्षा ११ मा भर्ना हुन राम्रा विद्यालयको खोजीमा छन् । कतिपय विद्यार्थी साथीभाइसँग विद्यालयको भिजिट गरिरहेका छन् भने कतिपय विद्यार्थी अभिभावकसँगै विद्यालयको अवलोकन गरिरहेका छन् । वृहस्पति विद्यासदन कक्षा ११ र १२ को पढाइका लागि विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने विद्यालय मध्ये एक हो । यहाँ प्लस टु अर्थात् कक्षा ११ मा १ सय २० जना विद्यार्थीमात्रै पढ्न पाउँछन् । जहाँ एक समूहमा ३० जना विद्यार्थी राखेर अध्ययन/अध्यापन गराइन्छ । विद्यालयको ध्यान धेरै विद्यार्थी तान्ने भन्ने हुँदैन । यो विद्यालयमा विज्ञान, व्यवस्थापन र मानविकीका विषयहरू पढाइ हुन्छ । कक्षा ११ मा विद्यार्थीले ७ वटा विषय पढ्नुपर्छ । जसमा तीनवटा अनिवार्य विषय, अंग्रेजी, नेपाली, सामाजिक अध्ययन अथवा म्याथम्याटिक्स छन् भने बाँकी तीन विषय अप्सनल अथवा रोजेर लिन सकिन्छ । कक्षा ११ मा भर्ना हुँदा विद्यार्थी आफू कुन क्षेत्रमा जान चाहन्छ भन्ने हेतुले विद्यार्थीको रुचि हेरेर विषय रोज्नुपर्ने हुन्छ । मानौं कसैलाई राजनीति, सामाजिक पढ्न मन लाग्यो भने त्यही अनुसारको विषय रोज्न सकिन्छ । यसमा अर्थशास्त्र पनि रोज्न सकिन्छ, राजनीतिक शास्त्र पनि लिने चलन आजभोलि बढ्दो छ । मेडिसिन अर्थात् चिकित्सा शिक्षा क्षेत्रतिर जानुछ भने त्यहीअनुसार फिजिक्स, केमेस्ट्री, बायोलोजी पढ्नुपर्छ । बिजनेसतिर जान मन छ भने अर्थशास्त्र, लेखा, व्यवसाय अध्ययन जस्ता विषय पढ्नुपर्छ । विद्यार्थीको आफ्नो उद्देश्यले विषय रोज्नुपर्छ । वृहस्पति विद्यासदनमा साइकोलोजी, सोसियोलजी पनि पढाइ हुन्छ । हामी विद्यार्थीलाई यो-यो विषय पढाइ हुन्छ भनेर मात्र भर्ना लिदैनौं, उनीहरूलाई यो विषय पढेर के-के विषयमा काम हुन्छ भन्नेबारे पनि बुझाउँछौं । यो विद्यालय २०४१ सालमा स्थापना भएको हो । हाल १ हजार १ सयको हाराहारीमा विद्यार्थी छन् भने कक्षा एकदेखि १२ सम्म पढाइ हुन्छ । प्रायः कक्षामा तीनदेखि चारवटा सेक्सन छन् । शिक्षक र अतिरिक्त क्रियाकलाप गर्ने (इसीएटिचर) गरेर एक सय बढी छन् भने अन्य स्टाफ एक सय ३० जना छन् । विद्यालयलाई राम्ररी चलाउन शिक्षकभन्दा नन शिक्षकको आवश्यकता पर्छ । वृहस्पति विद्यासदनका प्रधानाध्यापक कुमार थापा । यहाँ विद्यार्थी खेल्नका लागि पनि यहाँ प्रशस्त ठाउँ छ । विद्यालयभित्रै स्विमिङ पुल छ भने वाल क्लाइमिङ छ । स्केटिङ, फुट्सल खेल्ने ठाउँ ठूलोलाई छुट्टै र सानोलाई छुट्टै छ भने किक्रेट खेल्ने ठाउँ पनि छ, बास्केटबल खेल्ने ठाउँ छ । केही खेल्ने ठाउँ विद्यालयको छतमा पनि छ भने म्युजिक, डान्सका लागि पनि त्यही अनुसारको ठाउँ उपलब्ध छ । विद्यालय २९ रोपनी जग्गामा छ, जसको भाडा मासिकरूपमा तिरिँदै आइएको छ । वृहस्पतिले कस्ता विद्यार्थी छनोट गर्छ ? हामीले विद्यार्थी तान्ने तथा छान्ने गर्दैनौं । विद्यार्थी यो विद्यालय रोजेर आउनेलाई भर्ना गर्छ । कतिपय विद्यार्थीलाई एकोहोरो डर, भयवाला वातावरणभन्दा पनि काउन्सिलिङ गर्ने, कनेक्ट गर्ने, बुझ्ने वातावरण मनपर्न सक्छ भने यो विद्यालय उपयुक्त हुन सक्छ । यहाँ तीन जना काउन्सिलर (परामर्शदाता) छन् । उनीहरूले विद्यार्थीलाई दुई तरिकाले परामर्श दिन्छन् । एउटा गाइडेन्स काउन्सिलिङ हुन्छ भने अर्को साइकोसोसेल काउन्सिल हुन्छ । आजभोलि कतिपय विद्यार्थीलाई कसैले मेरो कुरा सुनिदेओस्, बुझिदेवोस्, मलाई कसैले बुझिरहेको छैन भन्ने मानसिकता हुन्छ । त्यस्ता विद्यार्थीलाई मनोसामाजिक परामर्श आवश्यक हुन्छ । यो विद्यालयमा यस्तो खालको वातावरण छ । विद्यालयमा दुई सिफ्टमा पढाइ हुँदैन । धेरैजसो विद्यालयमा बिहान र साँझ दुई सिफ्टमा पढाइ हुन्छ । हाम्रोमा विद्यार्थीहरू बिहान साढे ८ बजेसम्म विद्यालय आइपुग्छन् अनि अपरान्ह साढे तीन बजेसम्म पढेर जान्छन् । विद्यालयमा पनि पाठ्यक्रममा भएको कुरा मात्र नभइ अन्य क्रियाकलाप गर्ने हुनुपर्छ । हाम्रो विद्यालयमा स्विमिङ पुल छ जहाँ स्विमिङ गर्न सक्नुहुन्छ । भित्ते आरोहण (वाल क्लाइमिङ) छ त्यहाँ पनि विद्यार्थी अभ्यास गर्न सक्नुहुन्छ । स्केटिङ, फुट्सल, बास्केटबल लगायतका खेल खेल्ने ठाउँ छ । योसँगै डान्स, म्युजिक पनि विद्यार्थी सिक्न सक्नुहुन्छ । कक्षा ११, १२ शैक्षिक यात्रा जीवनको अभिन्न पार्ट हो यहाँ पढाइ सँगसँगै एउटा सुन्दर जीवन जिउन चाहनेका लागि यो विद्यालय उपयुक्त हुन्छ । विद्यालयबारे बुझ्न विद्यार्थीको लाइन नतिजा नआउँदै विद्यालयबारे बुझ्न थुप्रै विद्यार्थी आइरहेका छन् । यो विद्यालयमा प्रायः काठमाडौं उपत्यकाभित्रैकै विद्यार्थी पढ्न आउँछन् । हामी विद्यार्थी एक्लैभन्दा पनि अभिभावकसँगै आउँदा राम्रो ठान्छौं । एक्लै आइरहनुभएका विद्यार्थीलाई अभिभावकसँगै लिएर आउनूहोस् भन्ने सल्लाह पनि दिन्छौं । कोही विद्यार्थी साथीहरूसँग कुरा गरेर साथीको पछाडि लागेर आइरहनुभएको छ । यसमा घरको सल्लाह पनि धेरै आवश्यक हुन्छ । हामीकहाँ एसईई पास भइसकेपछि अभिभावकले पनि छोराछोरीलाई स्वतन्त्र छोडिदिएको पाइन्छ । विद्यालयदेखि विषयसम्म छनोटको कुरा छोराछोरीलाई छोडिदिएको पाइन्छ । तर अभिभावकले चटक्कै यसरी छोडेको राम्रो होइन । कक्षा ११ मा पढ्ने छोराछोरी हर्लक्कै बढेर ठूलो भए पनि अझै ऊ एक्लैले फैसला लिन सक्ने अवस्था हुँदैन । विद्यालयले दिने सेवा-सुविधा कुनै पनि विद्यायमा विद्यार्थी छिरिसकेपछि आफू सुरक्षित रहेको महसुस गर्नुपर्छ । हामीकहाँ यस्तो खालको वातावरण छ । विद्यालयको गेटभित्र पसिसकेपछि विद्यार्थीको जिम्मा हामीले लिएका हुन्छौं । बाहिर निस्कने समय नहुँदासम्म ऊ बाहिर निस्कन पाउँदैन । विद्यार्थी आएको अनि गएको रेकर्ड राख्छौं । दिनमा ६, ७ वटा विषयहरू पढाइ हुन्छन् । सबै शिक्षकले आ–आफ्ना विषयको रेकर्ड राखेका हुन्छन् । कुनै एक विद्यार्थी पिरेडको बेला कक्षामा छैन भने तुरुन्त अभिभावकलाई एसएमएस जान्छ । अर्को हामी काउन्सिलिङमा धेरै विश्वास राख्छौं । कुनै विद्यार्थीलाई केही समस्या हुँदा उसलाई चिन्ने, बुझ्ने गर्छौं । हामी विद्यार्थीलाई परीक्षामा मात्र पास गराउने तरिकाले पढाउँदैनौं । पढाइ भनेको सिकाइ हो । सिकाइमा विद्यार्थीले मिहिनेत गर्नैपर्छ । यसका लागि हाम्रा शिक्षकहरूले निकै मिहिनेत गर्नुहुन्छ । हामी एक समूहमा ३० जना विद्यार्थी मात्रै राख्छौं । हाम्रा कक्षाकोठाहरू ठूला छन् । जहाँ मल्टिमिडिया प्रोजेक्टहरू छन्, बोर्डहरू पनि छन् । विद्यार्थीलाई पढ्न मनलाग्ने खालको राम्रो वातावरण छ । शिक्षकको पढाइले मात्र पुगेन भने अन्य धेरै कर्मचारीहरू पनि हुनुहुन्छ, विद्यार्थीले उहाँहरूबाट धेरै कुरा सिक्न सक्नुहुन्छ । छात्रवृत्ति धेरै हाम्रो विद्यालयले विद्यार्थीबाट मासिक, वार्षिक ठ्याक्कै यति नै लिन्छौं भन्ने गाह्रो छ, किनकि विषय हेरे शुल्क बढी घटी भन्ने हुन्छ । यसका बाबजुद हामीले छात्रवृत्तिको पनि व्यवस्था गरिरहेका छौं । विद्यार्थीको योग्यता र आवश्यकता अनुसार हामीले भर्ना शुल्कदेखि मासिक शुल्कमा पनि छुट गराएको हुन्छौं । शुल्कको कुरामा म के भन्छु भने गुणस्तर कायम राख्न हामीलाई रिसोर्स चाहिन्छ र विद्यालयलाई अभिभावकले तिर्ने शुल्क बाहेक अरु कुनै पनि स्रोत हुँदैन । गुणस्तर बढाउन खोज्दा शुल्क अलिकती महंगो भइदिन्छ । समग्रमा हाम्रो शुल्कको कुरा गर्ने हो भने कक्षा ११ मा एक वर्षमा भर्ना सहित वर्षको एभ्रेजमा १ लाख ७० हजारदेखि ८० हजारसम्म आउँछ । यसमा विभिन्न छुट पनि हामीले गरेका छौं भने महानगरले सिफारिस गरेका विद्यार्थीलाई पनि पढाउनुपर्ने हुन्छ । हाम्रो विद्यालयको पढाइलाई हेर्दा केही महंगो जस्तो देखिन्छ तर विद्यालयभित्र विद्यार्थीलाई गरिने हेरचाह, गुणस्तर सिकाइ, विद्यार्थीले पढाइसँगै खेल्ने वातावरण पनि राम्रो छ । कक्षाभित्र भन्दा कक्षा बाहिरका क्रियाकलापमा पनि हामीले विद्यार्थीलाई सहभागि गराएका हुन्छौं । हाम्रो यहाँको विद्यार्थीले राष्ट्रिय मात्र होईन अन्तराष्ट्रिय विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्छन् । विद्यार्थीको आकर्षण व्यवस्थापनमा एसईईपछि पढ्न मिल्ने थुप्रै विषय भए पनि सबैभन्दा धेरै विद्यार्थीको आकर्षण आजभोलि व्यवस्थापनमा देखिन्छ । त्यस्तै विज्ञान विषय लिएर पढ्ने विद्यार्थी पनि धेरै हुनुहुनछ भने मानविकी लिएर पढ्ने विद्यार्थी निकै कम देखिन्छन् । तर प्राविधिक धारका विषय पनि उत्तिकै महत्त्वपूर्ण छन् । ११÷१२ पढ्दा पनि प्राविधिकधार महत्वपूर्ण मानिन्छ भने ११, १२ नपढेर पनि डिप्लोमा कोर्सहरू राम्रा छन् । सिटीईभीटी, टीभइभीटी अन्तर्गत गएर पनि राम्रो सीप सिक्न सकिन्छ । जहाँ सयौं कार्सहरू उपलब्ध छन् । वर्षमा पाँच लाख विद्यार्थी एसईई दिन्छन् जम्मा जम्मी तीन, साढे तीन लाख विद्यार्थी पास हुन्छन् । यि मध्ये सबैले एकेमेडिमक नै गरी प्रोफेसर बैज्ञानिक हुनुपर्छ भन्ने छैन । किन कि पेशाले भोलि कहाँ कहाँ पुगिन्छ थाह हुँदैन । पेशाले विभिन्न क्षेत्रमा पुगे पनि पढाइ स्नातक स्नातोकोत्तरतिर केन्द्रित छ । यसका विकल्पका बाटा छन् । सबैको लागि किताबी ज्ञान नहुन पनि सक्छ । त्यसैले एसईईपछि गरिने सीपमूलक कोर्सहरू छन् जहाँ चाप घटेको छ । तर त्यहाँ पनि राम्रो करिअर बनाउन सकिन्छ। कुनै पनि विषय नराम्रो भन्ने हुँदैन । राम्रोसँग पढ्यो भने जुनसुकै विषय पढ्दा पनि राम्रो गर्न सकिन्छ । नेपालमा आजभोलि धेरै विद्यार्थी प्लस टु गरेर विदेश जाने चलन बढ्दो छ । विदेशी कोर्स हेर्ने हो भने सीपमुलक बढी हुन्छन् । कतिपय विद्यार्थी एकेडेमिक कोर्समा सुरुमा स्नातक गरे पनि पछि ग्राजुएट डिप्लोमा, एड्भान्स डिप्लोमा भनेर कोर्समा गएको पाइन्छ । विदेशमा गएर यस्तो कोर्स गर्ने हो भने नेपालमा पनि यस्ता कोर्ष गर्दा राम्रो हुन्छ । घट्दो अभिभावकको दबाव आजभोलि अभिभावकको दबाब पनि घटेको छ । पहिले अरूको छोराछोरी राम्रो भएको हेर्दै आफ्ना छोराछोरीलाई पनि यही विषय पढ्न र उस्तै मान्छे बन्न दबाब दिइन्थ्यो तर आजभोलि यो चलन धेरै हटिसकेको छ । आफ्नो सपना छोराछोरीमार्फत पुरा गर्न लगाउने जता लहरो गयो त्यतै छोराछोरीलाई दबाब दिने गरिन्थ्यो । आफ्ना सन्तानले विषय पढ्न सक्छ कि सक्दैन भनेर बुझ्नुपर्छ, दबाब दिई यो पढ त्यो पढ भन्नु राम्रो राम्रो होइन । अभिभावकले नै छोराछोरीलाई धेरै सहयोग र हौसला प्रदान गर्नुपर्छ। विद्यार्थी आफूले आफैलाई चिन्ने आफूले आफैलाई चिन्न निकै गाह्रो हुन्छ । यो उमेरमा आइपुग्दासम्म हामीले समेत आफैलाई चिन्न सकेका छौं कि छैनौं भन्ने हुन्छ । आफूलाई चिन्ने दुई तीनवटा तरिका छन् । पहिलो भनेको आफू आफैसँग बस्ने, म को हुँ, कस्तो छु, मैले अहिलेसम्म के गरिरहेको छु, के कुरामा मेरो रुचि धेरै छ भन्ने कुरा सोचेर यहाँबाट पनि धेरै कुरा बुझिन्छ, सिकिन्छ । म आममानिससम्म बसेर रमाउन सक्ने हो कि म एक्लै बसेर कोर्न सक्ने हो वा हिसाब गर्न रमाउन सक्ने हो कि, कसैलाई सेवा गर्न रमाउने हो कि भन्नेबारे आफूलाई चिन्न सकिन्छ । दोस्रो आफ्नो कुन–कुन काममा अरूले तारिफ गर्छन्, तिम्रो यो–यो कुरा राम्रो छ, तिमीले यो कुरा गर्न सक्छौं, तिम्रो लेखन राम्रो छ, तिम्रो शब्द चयन राम्रो छ भनेर भन्यो भने पनि हामीले त्यस विषयमा विचार गर्न सकिन्छ । अहिले सबै विद्यार्थीको हातमा स्मार्टफोन छ, इन्टरनेटको पहँुच छ, यस्तो बेला विद्यार्थी संसारसँग जोडिएका हुन्छन् । सिक्न, बुझ्न चाहनेहरूका लागि आजभोलि अरू कसैको कुरा प्रायः सुन्न आवश्यक हुँदैन । बजारमा कस्तो नयाँ विषय आएको छ, यसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार कस्तो छ, यो पढिसकेपछि आफूले गर्न सक्ने केके हो भन्नेबारे खोज्न सकिन्छ । भविष्य छनोट गर्ने धेरै बुकहरू पाइन्छ, यस्ता किताब पढ्ने गर्यो भने पनि धेरै कुराहरू बुझिन्छ । हामी अहिलेसम्म पनि यसमा ठीक हुन्छ कि त्यसमा ठीक हुन्छ भनेर चेक गर्दै हिँड्छौं भने अहिलेको पुस्ता झन् एउटै ठाउँमा बस्ने किसिमको छैन । त्यसैले यस्ता कुराहरू जानिराख्यो, बुझिराख्यो भने फाइदा हुन सक्छ । बजारमा नयाँ विषयहरू हामीले पढाउने भनेको विज्ञान, व्यवस्थापन र मानविकी अन्तगर्तका विषय हुन् । यहाँ मनोविज्ञान, समाजशास्त्र र होटल म्यानेजमेन्ट पढाइ हुन्छ । बजारमा नयाँ–नयाँ विषयहरू प्रशस्त छन् । जसको बजारमा आवश्यकता पनि छ । मनोविज्ञान, बाल विकासतर्फ पनि यस्ता विषयहरू छन् भने हस्पिटालिटी अन्तर्गत पनि थुप्रै नयाँ विषय छन् । बजारमा यस्ता थुप्रै ६०–७० वटा विषयहरू छन् कि जसमा हामीले कुरै गरेका छैनौं । हामी अझै पनि सीमित विषयमै घुमिरहेका छौं । हामीले यी–यी विषयहरू पनि छन् भनेर विद्यार्थीलाई धेरै जानकारी दिन सकेका छैनौं । हामीकहाँ आएका विद्यार्थीलाई कहिलेकाँही जानकारी गराउँछौं तर के हुँदो रहेछ भने जसले जे पढ्यो, त्यही पछाडि विद्यार्थी र अभिभावक हिँडिरहेका हुन्छन् । कहिलेकाँही हामीले प्रयास गर्दा पनि विद्यार्थीले नसुन्ने गरेको पाइन्छ, यस्ता कुरामा नियामक निकायबाट भनिदिँदा, बोली दिँदा अझ राम्रो हुन्थ्यो होला जस्तो लाग्छ । (वृहस्पति विद्यासदनका प्रधानाध्यापक कुमार थापासँग गरिएको कुराकानीमा आधारित)
धानभन्दा बढी आम्दानी दिने ‘सेतो सुन’ मखना खेती झापामा सुरु
चन्द्रकला भण्डारी झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको । कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उनले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गरेनन् । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उनले आफ्नो जग्गा भाडामा दिए । 'वर्षौंदेखि धान र मकैको खेती गर्दै आएको थिएँ', उनी भन्छन्, 'यसपालि मखनाखेती गर्छु भन्दै आउनेलाई जग्गा दिएँ । नयाँ खेती अरे, हेरौँ कस्तो हुँदोरहेछ ।' जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट्ठा जग्गा झापा गाउँपालिका–४ का शाहिल शेखलाई मखनाखेतीका लागि भाडामा दिएका छन् । स्थानीय किसानहरूका लागि यो एक प्रकारको प्रयोग हो भने व्यवसायीका लागि ठूलो सम्भावनाको ढोका । मखनाखेती यहाँका बासिन्दाका लागि नौलो भएकाले सबैलाई यसको सम्भावनाबारे कौतुहलता छ । विर्तामोडका जनक खड्काले त झन आफ्नो २० बिघा जग्गा यही मखनाखेतीका लागि दिएका छन् । यसरी धेरै किसानबाट भाडामा लिइएको १०० बिघा जमिनमा अहिले मखनाकोखेती विस्तार भइसकेको छ । कचनकबलमा मखनाखेती भित्र्याउने श्रेय शाहिल शेखलाई जान्छ । उनले भारतको पूर्णियामा रहेका आफ्ना नातेदारसँग साझेदारी गरेर कचनकबलमा यो नौलो कृषि व्यवसायको थालनी गरेकी हुन् । नेपालमा मखनाको व्यावसायिक खेतीको इतिहास खासै नभएका बेला शेखले १०० बिघाभन्दा बढी जग्गा भाडामा लिएर ठूलो लगानी गरेकी छन् । दुई महिनाअघिदेखि रोप्न सुरु गरिएको मखना अहिले खेतका गराहरूमा कतै वयस्क हुँदैछ भने कतै भर्खर पात पलाउँदैछ । डिप बोरिङ गरेर खेतमा निरन्तर सिँचाइको व्यवस्था गरिएको छ, किनकि मखनालाई गरामा निरन्तर भरिएको पानी चाहिन्छ । शेखका अनुसार भारतमा मखना प्रतिकिलो एक हजार रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ । एक बिघा जमिनमा झण्डै १०० केजी मखना उत्पादन हुने उनको अनुमान छ । यदि यो अनुमान सही ठहरियो भने कचनकबलको सिमखेतले धानको तुलनामा कयौँ गुणा बढी आर्थिक लाभ दिने निश्चित छ । मखना, जसलाई अङ्ग्रेजीमा ‘फक्स नट’ वा ‘लोटस सिड’ पनि भनिन्छ । यो एक प्रकारको जलीय बिरुवा हो । कमलको फूलजस्तै देखिने यसको बोटमा काँडेदार पातहरू हुन्छन् र यसको दानादार फल पानीमुनि फल्छ । स्वास्थ्यको दृष्टिकोणले मखनालाई ‘सुपरफुड’ मानिन्छ । सेतो दाना हुने र बजार भाउ उच्च भएकाले यसलाई ‘सेतो सुन’ भनिएको हो । धानखेतीमा जस्तै माटो हिल्याएर मखनाको बीउ र बिरुवा रोप्ने कार्य गरिन्छ । पानी सुक्यो भने मखनाको बोट र पातहरुमा असर पर्ने भएकाले खेती गरिएको मिसखेतमा वैकल्पिक सिँचाइको भरपर्दो व्यवस्था मिलाइएको हुन्छ । यसमा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । मधुमेह, मुटुसम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेहरूका लागि यो अमृत समान मानिन्छ । यसमा कोलस्टोरलको मात्रा शून्य हुन्छ । नेपालमा हाल मखना पूर्ण रूपमा भारतबाट आयात हुन्छ । भुटेर बनाइने ‘मखना फूल’ खाजाका रूपमा र पूजाआजामा प्रसादका रूपमा निकै लोकप्रिय छ । मखनाखेतीले जग्गाधनीलाई मात्र होइन, स्थानीय मजदुरहरूलाई पनि नयाँ रोजगारी दिएको छ । काँडेदार पातका बीचबाट पानीमुनि फल्ने दाना टिप्नु, रोप्नु र गोडमेल गर्नु चुनौतीपूर्ण काम हो । यसका लागि भारतबाट दक्ष प्राविधिकहरू ल्याइएका छन् भने उनीहरूलाई सघाउन स्थानीयले पनि काम पाएका छन् । स्थानीय मजदूरले दैनिक रु ६०० देखि ९०० सम्म पारिश्रमिक पाइरहेका छन्, जसले गाउँको अर्थतन्त्रलाई थप चलायमान बनाएको छ । स्थानीय ५९ वर्षीय राहिबुद्दिन मियाँ यस खेतीलाई कौतुहलका साथ नियालिरहेको बताउँछन् । 'भारतबाट बीउ र प्राविधिक आएका छन्', उनी भन्छन्, 'राम्रो फाइदा हुने देखियो भने अर्को वर्षदेखि हामी आफैँ पनि यो खेती गर्न सिक्नेछौँ ।' कुनै पनि नयाँ सुरुआत जोखिममुक्त हुँदैन । जेलेल मियाँले धानखेती गर्दा प्रतिबिघा ७० देखि १०० मनसम्म उत्पादन हुने गरेको थियो । मखनाका लागि लिइएको भाडा दर त्यो तुलनामा कम भए पनि जोखिम मोलेको बताउँदै मियाँ भन्छन्, 'खेती कस्तो हुने हो भन्ने यकिन नभएकाले अहिले सस्तोमै जग्गा दिएका हौँ ।' आगामी दुई महिनापछि मखनाले फल दिन थाल्नेछ । अहिले फूल फुल्ने मौसम हो । यदि यो खेतीको परीक्षण सफल भयो भने कचनकबलको सिमखेतमा मात्र होइन, नेपालका अन्य तराईका जिल्लामा पनि मखनाखेतीको लहर चल्नेछ । बर्खामा जलमग्न भएर खेती कठिनाइ व्यहोर्दै आएका कचनकबलका किसानहरु मखनाखेतीप्रति आकिर्षत हुँदैछन् । तराई क्षेत्रका सिमखेत मात्र होइन, सदाबहार पानी रहने प्राकृतिक र कृत्रिम पोखरीहरुमा समेत मखनाखेतीको राम्रो सम्भावना छ । सप्तरी, धनुषा र महोत्तरीलगायतका मधेस प्रदेशका जिल्लामा यसको सानो आकारमा खेती गरिएको पाइएको छ । मखनाखेती गरिएको जग्गामा अटुट रुपमा पानी जम्ने हुनाले माछापालन गरेर दोहोरो लाभ लिन सकिने जानकारहरु बताउँछन् । माछाको मलले मखनालाई उर्बर बनाउने र मखनाको पातले माछालाई सुरक्षा प्रदान गर्ने कचनकबलका मखनाखेती सञ्चालक शाहिल शेख बताउँछन् । झापा र मोरङसँग सीमा जोडिएको भारतको विहार प्रदेश विश्वकै मखनाखेतीको प्रमुख उत्पादक हो । विश्व बजारमा विहारको मखनाले ९० प्रतिशत स्थान ओगटिरहेको जनाइएको छ । विहारको उत्पादन प्रविधि, जनशक्ति र अनुभव नेपालको तराई क्षेत्रका लागि उपयोगी नमूना हुने देखिन्छ । विहारको मधुवनी, दरभंगा, कटिहार, पूर्णिया, सहरसा र सीतामणि मखनाखेतीको पकेट क्षेत्र मानिन्छन् । झापाको कचनकबलमा मखनाखेती गर्न पूर्णियाबाटै लगानी साझेदार आएका हुन् । भारत सरकारले गत वर्ष मखनाखेतीलाई अनुदान दिन र प्रोत्साहित गर्न ‘मखना बोर्ड’ गठन गरेको छ । महँगो मूल्यमा बिक्री हुने र धानको तुलनामा बढी आम्दानी हुने भएकाले निकट भविष्यमा झापाको कचनकबल गाउँपालिका क्षेत्रलाई मखनाखेतीको पकेट क्षेत्र विकास गरेर लैजान सकिने सम्भावना छ । यसका लागि स्थानीय सरकारले पनि सरोकार बढाउनुपर्ने शेख बताउँछन् । कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई यस नवीन कृषि प्रयासलाई सकारात्मक रूपमा लिन्छन् । 'यो हाम्रा लागि एउटा नमूना खेती हो, यसबाट किसानले कति वास्तविक फाइदा पाउँछन् भन्ने कुरा हेर्नुछ', उपाध्यक्ष भट्टराई भन्छन्, 'बाली पाकेपछि मात्र थाहा हुन्छ । यदि यो खेती सफल भयो भने पालिकाले किसानहरूलाई मखनाखेतीतर्फ आकर्षित गर्न विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउनेछ ।' कचनकबल स्तम्भ रहेको नेपालकै होचो भूभाग अवलोकन गर्न बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक कचनकबलमा आउने गरेका छन् । कचनकबल स्तम्भ नजिकै रहेको मखनखेतीले समेत पर्यटक आकर्षित गर्ने सम्भावना देखिएको उपाध्यक्ष भट्टराई बताउँछन् । उनले मखनाखेतीमा लागिरहेका व्यवसायीहरुसँग सम्पर्क र संवाद गरेर खेतीको सम्भावनाबारेमा जानकारी लिने कार्य भइरहेको बताए । नेपालले वार्षिक करोडौँको मखना भारतबाट आयात गर्दै आएको छ । कचनकबलमा सुरु भएको यो जमर्कोले मुलुकलाई मखनामा आत्मनिर्भर बनाउने नयाँ बाटो अवश्य देखाउनेछ । धानको विकल्पमा उच्च मूल्य दिने खेतीका रूपमा मखनाले कचनकबलका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ । सिमखेतको टिलपिल पानीमा तैरिइरहेका ती ठूला हरिया पातहरू एउटा बिरुवा मात्र होइनन्, ती त झापाका किसानका सपना हुन् । जसले भोलिका दिनमा ‘सेतो सुन’ फलाएर गाउँकै अनुहार बदल्ने अठोट बोकेका छन् । रासस
रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता
काठमाडौं । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, आईपीओ निष्काशनका लागि आवश्यक पूर्वतयारी गर्ने तथा ‘रोड टु आईपीओ’ प्रक्रिया अघि बढाउन नबिल इन्भेष्टमेण्टले परामर्श तथा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिप काठमाण्डौं अन्तर्राष्ट्रिय चेन ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल हो । होटलमा ३०८ कोठा तथा सुइट रहेका छन् भने साना–ठूला गरी १० वटा बैठक हलसमेत उपलब्ध छन् । कोठाहरू आधुनिक सुविधासहित डिजाइन गरिएका छन् र अतिथिहरूलाई उच्चस्तरीय सेवा प्रदान गरिन्छ । होटलमा अत्याधुनिक हेल्थ क्लब, स्पा तथा इन–हाउस रेस्टुरेन्टमार्फत अन्तर्राष्ट्रियस्तरको भोजन सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने सुविधासम्पन्न बैठक हलहरू पनि रहेका छन् । सम्झौताअनुसार नबिल इन्भेष्टमेण्टले होटललाई आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीमा सहयोग गर्नेछ । पूर्वतयारी पूरा भएपछि नियामक निकायसमक्ष सार्वजनिक निष्काशनको अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दक्षिण एसियाकै प्रतिष्ठित अवार्डका लागि भिलेज हाइल्याण्ड रिसोर्ट मनोनयनमा
काठमाडाैं । दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड दक्षिण एसियाली ट्राभल अवार्ड (एसएटीए) २०२६ का लागि नेपालको भिलेज हाइल्याण्ड रिसोर्ट मनोनयनमा परेको छ । भक्तपुरको सूर्यविनायक–८ र काभ्रेको पनौती नगरपालिका– १ को बीचमा पर्ने रानीकोटमा रहेको याे रिसोर्ट अत्याधुनिक सुविधा र ग्राहकमैत्री सेवाका कारण पछिल्लो समय ग्राहकहरूको रोजाइमा पर्दै आएको छ । दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने यो अवार्डमार्फत हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायीलाई सम्मान गरिँदै आएको छ । यही क्रममा मनोनयन खुला गरिएको र त्यहाँ सेवा लिएका सेवाग्राहीहरूको अनुभव र रेटिङको आधारमा उत्कृष्ट होटल छनोट गरिने आयोजकले जनाएको छ। प्रतिष्ठित अवार्डका लागि मनोनयनमा पर्नु रिसोर्टको लागि मात्रै नभएर सिंगो नेपाली पर्यटन उद्योगका लागि समेत गर्वको विषय रहेको रिसोर्टका सञ्चालक रामसुन्दर बाँकेले बताए । रिसोर्ट क्षेत्रमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने व्यवस्था रहेको छ । यहाँको रानीकोट किल्ला तथा आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको अवलोकन गर्न सकिन्छ । रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको छ । रानीकोट क्षेत्रमा अवस्थित रिसोर्टबाट काठमाडौं उपत्यकासहित लाङटाङ हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत एसएटीए २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकहरूलाई अनलाइन भोट गर्न आग्रह गरेको छ । दक्षिण एसियाली ट्राभल अवार्ड्स सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो । यसमा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली देशका पर्यटन तथा होटल व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।