विकासन्युज

वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । संघले वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयमा राख्दै आएको १५ बुँदे मागलाई लिएर सञ्चालन गरेको दबावमूलक कार्यक्रम अन्त्य भएका हुन् । संघले साउन २२ गतेदेखि विभिन्न १५ बुँदे माग राखी ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री र सचिवको सहभागितामा संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीसँग छलफल भएको थियो । छलफलमा संघले राखेका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समावेश भइरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ । त्यस्तै, व्यवसायीका अन्य माग तथा समस्याका सम्बन्धमा कानुनबमोजिम थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने मन्त्रालयले उल्लेख गरेको छ ।  विभागबाट समाधान हुन नसकेका विषयमा प्रचलित कानुनबमोजिम मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको पनि छलफलमा स्पष्ट पारिएको छ ।   छलफलपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजै देखि आफ्ना सम्पूर्ण दबाव मूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा पनि तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन् ।  दुवैजना आइतबार साँझ काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले धेरै विदेशी मुद्रा ल्याएकाले पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार जम्मा ५ हजार डलरसम्म मात्र ल्याउन पाइन्छ । ५ हजारभन्दा धेरै रकम देखिएकाले उनीहरू पक्राउ परेका हुन् । उनले केहीबेरमा यसबारे जानकारी दिए पनि बताए । प्रहरीले दुवै कर्मचारीको विवरण भने खुलाएको छैन ।

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्दै

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ भिगो ई२ लाई ‘फुल एसयूभी’का रूपमा नेपाली बजारमा प्रस्तुत गर्न लागेको जनाएको छ । नयाँ भिगो ई२ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने कम्पनीको जनाएको छ । नेपालमा नामी ब्रान्डले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । हालसम्म देशभर २ हजारभन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा रहेका छन् । भिगोले मनाङ, मुस्ताङ र शुक्लाफाँटालगायत चुनौतीपूर्ण गन्तव्यमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीले जनाएको छ । यस्ता यात्राले भिगोलाई भरपर्दो तथा प्रमाणित विद्युतीय एसयूभीका रूपमा स्थापित गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । नयाँ भिगो ई२ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिनेछ । दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि उपयुक्त विद्युतीय एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यो मोडल तयार गरिएको कम्पनीले जनाएको छ । भिगो ई२ को आधिकारिक मूल्य तथा सम्पूर्ण उत्पादनसम्बन्धी जानकारी अगस्ट १९ मा हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ ।

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ । ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिपमा आयोजित समारोह कम्पनीको ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल देशभरका बीमा सल्लाहकारको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको हो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसहित उच्च व्यवस्थापनको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारलाई बधाई तथा शुभकामना दिँदै कम्पनीप्रति देखाएको विश्वास र व्यवसाय वृद्धिमा पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा सल्लाहकार कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । कम्पनीका डेपुटी सीईओ निराजन कँडेलले जीवन बीमा व्यवसायमा टिमको महत्वबारे चर्चा गर्दै सहकार्य र टिमवर्कबाट सफलता हासिल गर्न सकिने बताए । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कसमस क्लब सञ्चालन गरेको छ । क्लबमा सहभागी हुन वैयक्तिक कोड तथा टिम व्यवसायमार्फत संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्ने बीमा सल्लाहकार क्लबको सदस्य बन्न योग्य हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सबै क्लब सदस्य तथा देशभरबाट वैयक्तिक कोड र टिम व्यवसायतर्फ उत्कृष्ट तीनमा पर्न सफल बीमा अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालले विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नृत्य प्रस्तुतिसमेत राखिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै आएको सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमा जोड दिँदै आएको जनाएको छ । कम्पनीले हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा दिइरहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा १७ हजारभन्दा बढी बीमा अभिकर्ता सक्रिय रहेको जनाएको छ ।

सुजुकीको ‘पर्वोत्सव’ योजना : १ लाखसम्म नगद छुटदेखि निःशुल्क बीमासम्म

काठमाडौं । सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्पमार्फत ल्याइएको यो योजना कम्पनीका प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीमा लागू हुनेछ । योजनाअन्तर्गत ग्राहकले १ लाखसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा पाउनेछन् । मोडेलअनुसार सुविधा फरक हुने कम्पनीले जनाएको छ । यो योजना अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारालगायत सुजुकीका विभिन्न मोडेलमा लागू हुनेछ । ‘सुजुकी पर्वोत्सव’ साउन २७ गतेदेखि कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । देशभरका सुजुकी शोरूमबाट ग्राहकले योजनाको सुविधा लिन सक्नेछन् । यसअघि सञ्चालनमा रहेको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा जारी रहने कम्पनीले जनाएको छ । पहिलो १०० युनिट बिक्री पूरा भएपछि मोडेलअनुसारको ‘सुजुकी पर्वोत्सव’ सुविधा ई–भिटारामा समेत लागू हुनेछ । ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँगै उपलब्ध हुने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । होम चार्जर जडान भने ग्राहकको घरमा सम्भाव्यता रहेमा मात्र गरिने कम्पनीले जनाएको छ । सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले ‘सुजुकी पर्वोत्सव’ले चाडपर्वको अवसरमा ग्राहकलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने बताए । उनले सम्भावित ग्राहकलाई नजिकको सुजुकी शोरूम तथा भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडेलअनुसारका सुविधाबारे जानकारी लिन आग्रह गरेका छन् । सुजुकी नेपालले प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको बिक्री तथा बिक्रीपछिको सेवा देशभरका ४२ अधिकृत आउटलेटमार्फत प्रदान गर्दै आएको जनाएको छ ।

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यस सुविधामार्फत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपमा रहेको आईआरडी प्रोत्साहन कार्यक्रम मेनुमार्फत योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त भए/नभएको अवस्था सजिलै हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपछि १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् । कुमारी बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ । बैंकका अनुसार यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ । विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।

१६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ । आज तोलामा १ हजार ६ सय रुपैयाँ बढी ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको थियो । यससँगै सुनको मूल्य हिजो र आज गरी ५ हजार २ सय रुपैयाँ बढेको छ ।   त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ६० रुपैयाँले बढी ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आयातबाट आत्मनिर्भरतासम्म सिमेन्ट उद्योगको रूपान्तरणमा नबिल बैंकको साथ

काठमाडौं । सहरका अग्ला भवन, तराईलाई पहाडसँग जोड्ने राजमार्ग, नदीमाथि निर्माण भएका पुल, जलविद्युत् आयोजना, औद्योगिक करिडोर र मुलुकभर विस्तार भइरहेका आवासीय परियोजनालगायत सबै विकास संरचनाको साझा आधार हो- सिमेन्ट । पूर्वाधार निर्माणको मेरुदण्ड मानिने सिमेन्ट उद्योगले पछिल्लो दुई दशकमा नेपालको अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ । एक समय आफ्नै आवश्यकताका लागि अधिकांश सिमेन्ट विदेशबाट आयात गर्ने नेपाल आज आत्मनिर्भर मात्र बनेको छैन, निर्यातको सम्भावना बोकेको मुलुकका रूपमा पनि उभिएको छ । यो परिवर्तनमा उद्योगीको लगानी वा प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रको दीर्घकालीन वित्तीय साथ पनि उत्तिकै महत्त्वपूर्ण छ । यही यात्रामा नबिल बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै देशका १० वटा सिमेन्ट उद्योगमा गत आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ८ अर्ब ८० करोड ६४ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । यी उद्योगहरूको सुरुवातदेखि नै बैंकले लगानी गर्दै आएको हो । यो लगानी केवल वित्तीय कारोबार नभएर पूर्वाधार निर्माण, औद्योगिकीकरण, रोजगारी सिर्जना र समृद्ध नेपालको आधार निर्माणमा गरिएको दीर्घकालीन प्रतिबद्धता भएको बैंकले जनाएको छ । आजभन्दा दुई दशकअघि नेपालको अवस्था फरक थियो । देशभित्र सिमेन्ट उत्पादन गर्ने उद्योगहरू सीमित थिए । निर्माण सामग्रीको बढ्दो माग पूरा गर्न भारतलगायत अन्य मुलुकबाट ठूलो परिमाणमा सिमेन्ट आयात गर्नुपर्ने अवस्था थियो । यसले विदेशी मुद्रा बाहिरिने मात्र होइन, निर्माण क्षेत्रलाई समेत आयातमा निर्भर बनाएको थियो । आर्थिक उदारीकरणपछि निजी क्षेत्रको लगानी बढ्दै गयो । आधुनिक प्रविधियुक्त सिमेन्ट उद्योग स्थापना भए । स्वदेशमै प्रशस्त मात्रामा उपलब्ध चुनढुंगा, माटो तथा अन्य कच्चा पदार्थको उपयोग गर्दै उद्योगहरूले उत्पादन क्षमता विस्तार गरे । परिणामस्वरूप नेपालले छोटो अवधिमै आयात प्रतिस्थापनको सफल उदाहरण प्रस्तुत ग¥यो । आयात प्रतिस्थापन र पछि गएर निर्यातसमेत गर्न सकिने तथा चुनढुंगाजस्ता कच्चा पदार्थ पनि पर्याप्त भएकाले सरकारले सिमेन्ट उद्योगलाई सडक र विद्युत्को पहुँच उपलब्ध गराउने निर्णयसमेत ग¥यो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले भने, ‘हामीले सिमेन्टको महत्त्व बुझेर पहिलेदेखि नै यस क्षेत्रमा लगानी गरिरहेका थियौँ । सरकारले पनि प्राथमिकता दिएपछि हामीले यस क्षेत्रलाई थप प्राथमिकतामा राखेका हौँ ।’ नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष तथा कसमस सिमेन्ट उद्योगसँग आबद्ध उद्योगी ध्रुवराज थापाका अनुसार नेपालको सिमेन्ट उद्योगले पछिल्लो १०-१२ वर्षमा गरेको प्रगति असाधारण छ । ‘करिब २० वर्षअघि नेपालले आवश्यक सिमेन्टको झन्डै ८५ प्रतिशत आयात गथ्र्यो। आज हामी आत्मनिर्भर छौँ। पछिल्ला वर्षहरूमा निर्यातसमेत गरिरहेका छौँ,’ थापाले भने । उनका अनुसार नेपालले लगभग शून्य अवस्थाबाट उद्योग स्थापना गर्दै छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरेको छ । अहिले विभिन्न चुनौतीका बाबजुद नेपालबाट वार्षिक करिब ५ देखि ७ अर्ब रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भइरहेको छ । उद्योगले पूर्ण क्षमता उपयोग गर्न सके यो निर्यात १०० देखि १५० अर्ब रुपैयाँसम्म पुग्न सक्ने थापाको विश्वास छ । बैंकिङ क्षेत्र: उद्योगको अदृश्य मेरुदण्ड एउटा आधुनिक सिमेन्ट उद्योग स्थापना गर्न अर्बौं रुपैयाँ लगानी आवश्यक पर्छ । खानी विकासदेखि क्लिंकर प्लान्ट, ग्राइन्डिङ युनिट, विद्युत् पूर्वाधार र आधुनिक उपकरणसम्म ठूलो लगानी आवश्यक पर्ने भएकाले बैंकिङ क्षेत्रको सहकार्य अपरिहार्य हुन्छ । उद्योगी थापाका अनुसार कुनै पनि उत्पादनमूलक उद्योगको विकासमा बैंकहरूको भूमिका निर्णायक हुन्छ । ‘हामीले लगभग शून्य अवस्थाबाट उद्योग सुरु गरेका थियौँ। उद्योग आजको अवस्थामा पुग्नुमा बैंकहरूको लगानी नै मुख्य आधार हो। नबिल बैंकले सुरुदेखि नै सिमेन्ट उद्योगमा लगानी गर्दै आएको छ र उद्योगको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ,’ उनले भने । उत्पादनमूलक क्षेत्रमा नबिल बैंकको प्रतिबद्धता उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार नबिल बैंकले विभिन्न सिमेन्ट उद्योगको स्थापनाकालदेखि नै लगानी गर्दै आएको छ । हाल देशका १० वटा सिमेन्ट उद्योगमा ८ अर्ब ८० करोड ६४ लाख ९२ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यो लगानीले उद्योगको उत्पादन क्षमता विस्तार, प्रविधिको आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार निर्माणमा प्रत्यक्ष योगदान पु¥याइरहेको छ ।  सिमेन्ट उद्योगको प्रभाव केवल कारखानासम्म मात्र सीमित छैन । उद्योग स्थापना भएका क्षेत्रमा सडक विस्तार भएका छन्, विद्युतको पहुँच बढेको छ तथा स्थानीय यातायात, होटल, व्यापार, निर्माण सामग्री आपूर्ति र सेवा क्षेत्र विस्तार भएका छन् । हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने स्थानीय सरकारको राजस्वसमेत बढेको छ । यसरी सिमेन्ट उद्योगले स्थानीय स्रोत-साधनको उपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ । उद्योगले उल्लेखनीय प्रगति गरेको भए पनि निर्माण क्षेत्रको सुस्तता, ऊर्जा लागत, ढुवानी खर्च, बजार मागमा आएको कमी तथा उत्पादन लागत वृद्धिले उद्योगलाई दबाबमा राखेको छ । उद्योगीहरूका अनुसार अबको आवश्यकता नयाँ उद्योग खोल्नेभन्दा पनि सञ्चालनमा रहेका उद्योगहरूको क्षमता पूर्ण रूपमा उपयोग गर्ने वातावरण तयार गर्नु हो । त्यसका लागि पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने, उद्योगमैत्री नीति लागू गर्ने, निर्यातलाई सहज बनाउने तथा उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानीलाई थप प्रोत्साहन गर्ने नीति आवश्यक छ । कुनै पनि राष्ट्रको विकास केवल सरकारी बजेटले मात्र सम्भव हुँदैन। त्यसका लागि निजी क्षेत्रको लगानी, उद्योगको उत्पादन क्षमता र बैंकिङ क्षेत्रको वित्तीय विश्वास समान रूपमा आवश्यक पर्छ । सिमेन्ट उद्योगमा नबिल बैंकले गरेको कर्जा लगानी केवल कर्जा प्रवाह मात्र होइन । यो सडक, पुल, जलविद्युत् आयोजना, विद्यालय, अस्पताल, औद्योगिक पूर्वाधार तथा लाखौँ नेपालीको भविष्यमा गरिएको लगानी हो । बैंकमा भएको पुँजी उद्योगमा पुग्छ, उद्योगले उत्पादन बढाउँछ, उत्पादनले रोजगारी सिर्जना गर्छ, रोजगारीले आय बढाउँछ र आयले अर्थतन्त्रलाई चलायमान बनाउँछ । यही आर्थिक चक्रले आत्मनिर्भर, उत्पादनमुखी र समृद्ध नेपालको आधार तयार गर्छ । सिमेन्ट उद्योगले नेपाललाई आयातमा निर्भर मुलुकबाट आत्मनिर्भर राष्ट्र बनाएको छ । अब उद्योगको लक्ष्य निर्यात विस्तार गर्दै नेपालको आर्थिक रूपान्तरणमा थप योगदान पु¥याउनु हुनुपर्छ । यही यात्रामा नबिल बैंकको दीर्घकालीन वित्तीय साथ उद्योगको वृद्धिसँगै राष्ट्र निर्माणको यात्रामा पनि महत्त्वपूर्ण साझेदारी बनेको छ