काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । संघले वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयमा राख्दै आएको १५ बुँदे मागलाई लिएर सञ्चालन गरेको दबावमूलक कार्यक्रम अन्त्य भएका हुन् ।
संघले साउन २२ गतेदेखि विभिन्न १५ बुँदे माग राखी ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री र सचिवको सहभागितामा संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीसँग छलफल भएको थियो ।
छलफलमा संघले राखेका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समावेश भइरहेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ ।
त्यस्तै, व्यवसायीका अन्य माग तथा समस्याका सम्बन्धमा कानुनबमोजिम थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने मन्त्रालयले उल्लेख गरेको छ ।
विभागबाट समाधान हुन नसकेका विषयमा प्रचलित कानुनबमोजिम मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको पनि छलफलमा स्पष्ट पारिएको छ ।
छलफलपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजै देखि आफ्ना सम्पूर्ण दबाव मूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ ।
संघले भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा पनि तत्काल कार्यान्वयन नगर्ने भएको छ ।