आयातबाट आत्मनिर्भरतासम्म सिमेन्ट उद्योगको रूपान्तरणमा नबिल बैंकको साथ

काठमाडौं । सहरका अग्ला भवन, तराईलाई पहाडसँग जोड्ने राजमार्ग, नदीमाथि निर्माण भएका पुल, जलविद्युत् आयोजना, औद्योगिक करिडोर र मुलुकभर विस्तार भइरहेका आवासीय परियोजनालगायत सबै विकास संरचनाको साझा आधार हो- सिमेन्ट । पूर्वाधार निर्माणको मेरुदण्ड मानिने सिमेन्ट उद्योगले पछिल्लो दुई दशकमा नेपालको अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।

एक समय आफ्नै आवश्यकताका लागि अधिकांश सिमेन्ट विदेशबाट आयात गर्ने नेपाल आज आत्मनिर्भर मात्र बनेको छैन, निर्यातको सम्भावना बोकेको मुलुकका रूपमा पनि उभिएको छ । यो परिवर्तनमा उद्योगीको लगानी वा प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रको दीर्घकालीन वित्तीय साथ पनि उत्तिकै महत्त्वपूर्ण छ ।

यही यात्रामा नबिल बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै देशका १० वटा सिमेन्ट उद्योगमा गत आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ८ अर्ब ८० करोड ६४ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । यी उद्योगहरूको सुरुवातदेखि नै बैंकले लगानी गर्दै आएको हो । यो लगानी केवल वित्तीय कारोबार नभएर पूर्वाधार निर्माण, औद्योगिकीकरण, रोजगारी सिर्जना र समृद्ध नेपालको आधार निर्माणमा गरिएको दीर्घकालीन प्रतिबद्धता भएको बैंकले जनाएको छ ।

आजभन्दा दुई दशकअघि नेपालको अवस्था फरक थियो । देशभित्र सिमेन्ट उत्पादन गर्ने उद्योगहरू सीमित थिए । निर्माण सामग्रीको बढ्दो माग पूरा गर्न भारतलगायत अन्य मुलुकबाट ठूलो परिमाणमा सिमेन्ट आयात गर्नुपर्ने अवस्था थियो । यसले विदेशी मुद्रा बाहिरिने मात्र होइन, निर्माण क्षेत्रलाई समेत आयातमा निर्भर बनाएको थियो ।

आर्थिक उदारीकरणपछि निजी क्षेत्रको लगानी बढ्दै गयो । आधुनिक प्रविधियुक्त सिमेन्ट उद्योग स्थापना भए । स्वदेशमै प्रशस्त मात्रामा उपलब्ध चुनढुंगा, माटो तथा अन्य कच्चा पदार्थको उपयोग गर्दै उद्योगहरूले उत्पादन क्षमता विस्तार गरे । परिणामस्वरूप नेपालले छोटो अवधिमै आयात प्रतिस्थापनको सफल उदाहरण प्रस्तुत ग¥यो ।

आयात प्रतिस्थापन र पछि गएर निर्यातसमेत गर्न सकिने तथा चुनढुंगाजस्ता कच्चा पदार्थ पनि पर्याप्त भएकाले सरकारले सिमेन्ट उद्योगलाई सडक र विद्युत्को पहुँच उपलब्ध गराउने निर्णयसमेत ग¥यो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले भने, ‘हामीले सिमेन्टको महत्त्व बुझेर पहिलेदेखि नै यस क्षेत्रमा लगानी गरिरहेका थियौँ । सरकारले पनि प्राथमिकता दिएपछि हामीले यस क्षेत्रलाई थप प्राथमिकतामा राखेका हौँ ।’

नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष तथा कसमस सिमेन्ट उद्योगसँग आबद्ध उद्योगी ध्रुवराज थापाका अनुसार नेपालको सिमेन्ट उद्योगले पछिल्लो १०-१२ वर्षमा गरेको प्रगति असाधारण छ । ‘करिब २० वर्षअघि नेपालले आवश्यक सिमेन्टको झन्डै ८५ प्रतिशत आयात गथ्र्यो। आज हामी आत्मनिर्भर छौँ। पछिल्ला वर्षहरूमा निर्यातसमेत गरिरहेका छौँ,’ थापाले भने । उनका अनुसार नेपालले लगभग शून्य अवस्थाबाट उद्योग स्थापना गर्दै छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरेको छ ।

अहिले विभिन्न चुनौतीका बाबजुद नेपालबाट वार्षिक करिब ५ देखि ७ अर्ब रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भइरहेको छ । उद्योगले पूर्ण क्षमता उपयोग गर्न सके यो निर्यात १०० देखि १५० अर्ब रुपैयाँसम्म पुग्न सक्ने थापाको विश्वास छ ।

बैंकिङ क्षेत्र: उद्योगको अदृश्य मेरुदण्ड

एउटा आधुनिक सिमेन्ट उद्योग स्थापना गर्न अर्बौं रुपैयाँ लगानी आवश्यक पर्छ । खानी विकासदेखि क्लिंकर प्लान्ट, ग्राइन्डिङ युनिट, विद्युत् पूर्वाधार र आधुनिक उपकरणसम्म ठूलो लगानी आवश्यक पर्ने भएकाले बैंकिङ क्षेत्रको सहकार्य अपरिहार्य हुन्छ । उद्योगी थापाका अनुसार कुनै पनि उत्पादनमूलक उद्योगको विकासमा बैंकहरूको भूमिका निर्णायक हुन्छ ।

‘हामीले लगभग शून्य अवस्थाबाट उद्योग सुरु गरेका थियौँ। उद्योग आजको अवस्थामा पुग्नुमा बैंकहरूको लगानी नै मुख्य आधार हो। नबिल बैंकले सुरुदेखि नै सिमेन्ट उद्योगमा लगानी गर्दै आएको छ र उद्योगको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ,’ उनले भने ।

उत्पादनमूलक क्षेत्रमा नबिल बैंकको प्रतिबद्धता

उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार नबिल बैंकले विभिन्न सिमेन्ट उद्योगको स्थापनाकालदेखि नै लगानी गर्दै आएको छ । हाल देशका १० वटा सिमेन्ट उद्योगमा ८ अर्ब ८० करोड ६४ लाख ९२ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यो लगानीले उद्योगको उत्पादन क्षमता विस्तार, प्रविधिको आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार निर्माणमा प्रत्यक्ष योगदान पु¥याइरहेको छ । 

सिमेन्ट उद्योगको प्रभाव केवल कारखानासम्म मात्र सीमित छैन । उद्योग स्थापना भएका क्षेत्रमा सडक विस्तार भएका छन्, विद्युतको पहुँच बढेको छ तथा स्थानीय यातायात, होटल, व्यापार, निर्माण सामग्री आपूर्ति र सेवा क्षेत्र विस्तार भएका छन् । हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने स्थानीय सरकारको राजस्वसमेत बढेको छ । यसरी सिमेन्ट उद्योगले स्थानीय स्रोत-साधनको उपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ ।

उद्योगले उल्लेखनीय प्रगति गरेको भए पनि निर्माण क्षेत्रको सुस्तता, ऊर्जा लागत, ढुवानी खर्च, बजार मागमा आएको कमी तथा उत्पादन लागत वृद्धिले उद्योगलाई दबाबमा राखेको छ । उद्योगीहरूका अनुसार अबको आवश्यकता नयाँ उद्योग खोल्नेभन्दा पनि सञ्चालनमा रहेका उद्योगहरूको क्षमता पूर्ण रूपमा उपयोग गर्ने वातावरण तयार गर्नु हो । त्यसका लागि पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने, उद्योगमैत्री नीति लागू गर्ने, निर्यातलाई सहज बनाउने तथा उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानीलाई थप प्रोत्साहन गर्ने नीति आवश्यक छ ।

कुनै पनि राष्ट्रको विकास केवल सरकारी बजेटले मात्र सम्भव हुँदैन। त्यसका लागि निजी क्षेत्रको लगानी, उद्योगको उत्पादन क्षमता र बैंकिङ क्षेत्रको वित्तीय विश्वास समान रूपमा आवश्यक पर्छ । सिमेन्ट उद्योगमा नबिल बैंकले गरेको कर्जा लगानी केवल कर्जा प्रवाह मात्र होइन । यो सडक, पुल, जलविद्युत् आयोजना, विद्यालय, अस्पताल, औद्योगिक पूर्वाधार तथा लाखौँ नेपालीको भविष्यमा गरिएको लगानी हो ।

बैंकमा भएको पुँजी उद्योगमा पुग्छ, उद्योगले उत्पादन बढाउँछ, उत्पादनले रोजगारी सिर्जना गर्छ, रोजगारीले आय बढाउँछ र आयले अर्थतन्त्रलाई चलायमान बनाउँछ । यही आर्थिक चक्रले आत्मनिर्भर, उत्पादनमुखी र समृद्ध नेपालको आधार तयार गर्छ ।

सिमेन्ट उद्योगले नेपाललाई आयातमा निर्भर मुलुकबाट आत्मनिर्भर राष्ट्र बनाएको छ । अब उद्योगको लक्ष्य निर्यात विस्तार गर्दै नेपालको आर्थिक रूपान्तरणमा थप योगदान पु¥याउनु हुनुपर्छ । यही यात्रामा नबिल बैंकको दीर्घकालीन वित्तीय साथ उद्योगको वृद्धिसँगै राष्ट्र निर्माणको यात्रामा पनि महत्त्वपूर्ण साझेदारी बनेको छ 

Share News