विकासन्युज

सांसदहरू स–साना प्रोजेक्ट बोकेर बजेट माग्न आउनुभएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसभन्दा पनि साना–साना आयोजना बोकेर बजेट माग्न आइरहेको बताएका छन् । मंगलवार अर्थसमितिमा भएको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले पनि सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका सडक, खानेपानी, सिँचाई तथा अन्य खुद्रा योजनाका लागि बजेट माग आइरहेको बताएका हुन् । उनले अहिलेको अभ्यासअनुसार कुनै पनि आयोजना सम्बन्धित मन्त्रालयबाट प्रस्ताव भएर मात्रै अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा आउने व्यवस्था रहेको स्पष्ट पारे । उनले सडक आयोजना भए भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी आयोजना भए खानेपानी मन्त्रालय तथा अन्य विषयगत आयोजना सम्बन्धित मन्त्रालयमार्फत नै अघि बढ्नुपर्ने सिद्धान्तमा सरकार अघि बढिरहेको बताए ।  अर्थमन्त्री वाग्लेले संघीय बजेट अब ठूला नीतिगत प्राथमिकता, १६ औं आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा शासकीय सुधारको रोडम्यापसँग मेल खाने योजनामा केन्द्रित हुनुपर्ने धारणा राखे ।  उनले सांसदहरूले उठाएका मागलाई साधन–स्रोतको सीमाभित्र रहेर न्यायोचित रूपमा सम्बोधन गर्ने प्रयास भइरहेको पनि जानकारी दिए । उनका अनुसार धेरै साना तथा स्थानीय प्रकृतिका आयोजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्नुपर्ने भएकाले संघीय बजेटमा समेट्न कठिन हुने गरेको छ । यद्यपि मन्त्रालयहरूले सांसदहरूले पठाएका प्रस्ताव र सुझावहरूलाई कुन हदसम्म संघीय बजेटमा समावेश गर्न सकिन्छ भन्नेबारे अभ्यास गरिरहेको उनले जानकारी दिए । अर्थमन्त्री वाग्लेले वैशाख ३१ पछि बजेट निर्माण प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने र त्यसपछि अर्थ मन्त्रालयले अन्तिम रूप दिने काम तीव्र बनाउने पनि बताए।

यती एअरलाईन्सको आईपीओका लागि एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । यती एअरलाईन्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना साधारण सेयरहरू प्राथमिक सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणमा जारी गर्ने तयारीस्वरूप उक्त क्यापिटललाई जिम्मेवारी दिएको हो । आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एअरलाईन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ । नेपालको हवाई पहुँच विस्तार र क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ । आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा यती एअरलाईन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।     

एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ ।  आज सुनको मूल्य चार हजार चार सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।  सोमबार सुन प्रतितोला २ लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ हजार ६९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५५ रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७११ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लेबनानमा इजरायली आक्रमणमा परी ६ जनाको मृत्यु

काठमाडौं । युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको  सरकारी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले सोमबार राति भएको इजरायली आक्रमणले राजधानी बेरुतबाट ९५ किलोमिटर टाढाको सहर कफर डोनिनको एउटा घरमा प्रहार गरेको रिपोर्ट गरेको छ । घाइतेहरूलाई उपचारको लागि तटीय सहर टायरको अस्पतालमा लगिएको एनएनएले जनाएको छ । इजरायल र लेबनानबीच अप्रिल –१७ मा युद्धविराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमणलाई तीव्र बनाएको जनाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार लेबनान गत मार्च –२ मा मध्यपूर्व युद्धमा तानिए पछि  दुइ हजार ८०० भन्दा बढी मानिस मारिएका छन् । लेबनानी नेताहरूले हाल बेरुतका लागि अमेरिकी राजदूतलाई इजरायललाई युद्धविरामको समयमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेका छन् भने इजरायलले पनि गोली हानाहान भएको रिपोर्ट गरेको छ । इजरायली सेनाले सप्ताहन्तको समयमा लेबनानसँगको सीमा नजिकैको लडाइँमा आफ्नो एक जना सैनिक मारिएको उल्लेख गर्दै युद्ध सुरु भए देखि १८ जना सैनिक र एक जना नागरिकको  मृत्यु भएको बताएको छ । यसै बीच मंगलबार एनएनएले अन्य दक्षिणी लेबनानी सहरहरूमा पनि नजिकै इजरायली आक्रमण भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यकाको सोहमोर सहर खाली गर्न आदेश दिएको छ ।

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न  ‘एआई ’को प्रयोग

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क क्षयरोगी खोजपडताल गरिएको छ ।  आधुनिक प्रविधिको प्रयोगबाट समुदायमा लुकेर बसेका क्षयरोगीको पहिचान गर्दै समयमै उपचारमा ल्याउने उद्देश्यले उच्च जोखिममा रहेका वडा नं १, ५ र ८ मा शिविर सञ्चालन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार वडा नं ८ को पिताम्बर स्वास्थ्यचौकी, वडा नं ५ को आधारभूत स्वास्थ्य केन्द्र वन समिति र वडा नं १ को सहरी स्वास्थ्य केन्द्र बन्साहमा शिविर सञ्चालन गरिएको छ । चिकित्सकसहितको टोलीले एआई प्रविधियुक्त पोर्टेबल एक्सरे मेसिन प्रयोग गरेर क्षयरोगीको खोजपडताल गरेको उनले बताए । शिविरमार्फत कूल ६८८ जनाको क्षयरोग परीक्षण गरिएको छ । परीक्षणका क्रममा शङ्कास्पद देखिएका ४२ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’ परीक्षण गर्न महाकाली प्रादेशिक अस्पतालमा प्रेषण गरिएको छ । शाखा प्रमुख भट्टका अनुसार एआई प्रविधिमार्फत एक्स–रे विश्लेषण गर्दा सामान्य एक्स–रेमा सहजै नदेखिने सूक्ष्म जीवाणुसमेत तत्काल पहिचान गर्न सकिन्छ । 'डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोगी छुट्याउँछ', उनले भने, 'यसले खकार परीक्षण गर्नुअघि नै जोखिममा रहेका बिरामी पहिचान गर्न सहयोग पुर्याउँछ ।' उनका अनुसार प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ । शिविर सञ्चालनका लागि चिकित्सकसहित एआई पोर्टेबल एक्स–रे मेसिन महाकाली प्रादेशिक अस्पतालबाट उपलब्ध गराइएको हो । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग समस्या अन्त्य गर्ने तथा सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ । सो लक्ष्य हासिल गर्न एआई प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको स्वास्थ्य अधिकृत पदम महराले बताए । 'विशेषगरी छातीको एक्स–रे विश्लेषणमार्फत कम समयमै क्षयरोगी पहिचान गर्न एआई प्रविधि उपयोगी देखिएको छ', उनले भने, 'पोर्टेबल एक्स–रे मेसिन र एआई सफ्टवेयर प्रयोग गरेर दुर्गम गाउँमा समेत शिविर सञ्चालन गर्न सकिन्छ, त्यसैले यो सेवालाई नगरपालिकाका १२ वटै वडामा विस्तार गर्ने लक्ष्य राखेका छौँ ।' उनका अनुसार एआईले केही मिनेटमै एक्स–रे विश्लेषण गरेर शङ्कास्पद बिरामी पहिचान गर्न सक्छ । यसले स्वास्थ्यकर्मीको कार्यबोझ कम गर्नुका साथै समयमै परीक्षण र उपचार प्रक्रिया अघि बढाउन मद्दत पुर्याइरहेको छ । उनका अनुसार एआई प्रविधिको प्रयोगले क्षयरोगको शीघ्र पहिचान, उपचार तथा रोगको फैलावट नियन्त्रणमा महत्वपूर्ण सहयोग पुगेको छ । विशेषगरी विशेषज्ञ चिकित्सकको पहुँच कम रहेका दुर्गम क्षेत्रमा यस्तो प्रविधि प्रभावकारी रहेको छ ।   

वालेटमै ब्याज पाउने सुविधा, खल्तीको ‘सुपर वालेट’ सबैका लागि खुला

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडसँगको सहकार्यमा ल्याइएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्तालाई वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्छ । यससँगै खल्ती नेपालमा नियो बैंकिङ युग सुरु गर्ने अग्रणी डिजिटल भुक्तानी प्लेटफर्म बनेको कम्पनीले जनाएको छ । यसअघि सीमित प्रयोगकर्तामा मात्र उपलब्ध रहेको यो सुविधा अब सबै केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्तामा विस्तार गरिएको छ । सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको रकममा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः जम्मा हुने व्यवस्था छ । हाल वार्षिक २.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनेछ, जुन साझेदार बैंकको मानक दरअनुसार परिवर्तन हुन सक्ने बताइएको छ । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले खाता केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ र कम्तीमा १० वटा कारोबार सम्पन्न गरेको वा वालेटमा न्यूनतम १ हजार रुपैयाँ मौज्दात राखेको हुनुपर्नेछ । सेवा पूर्ण रूपमा डिजिटल भएकाले कुनै बैंक भ्रमण वा कागजी प्रक्रिया आवश्यक नपर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले खल्ती एपको ‘सुपर वालेट’ सेक्सनमार्फत सहजै आवेदन दिन सक्नेछन् र आवेदन दिएको भोलिपल्टदेखि सेवा सक्रिय हुनेछ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सुपर वालेटले औपचारिक बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीलाई समेट्दै वित्तीय समावेशीकरणमा टेवा पुर्‍याउने बताएका छन् । उनका अनुसार यो सुविधा बचत संस्कार विकास गर्ने र प्रयोगकर्ताको सानो रकमलाई समेत बढाउने प्रभावकारी माध्यम बन्नेछ । खल्ती अब केवल भुक्तानी प्लेटफर्म मात्र नभई वित्तीय अनुशासन र बचत प्रवर्द्धन गर्ने माध्यमका रूपमा स्थापित हुने कम्पनीको विश्वास छ ।  

कुरिलो किलोको ४५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य नर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो लाम्चो प्रतिकिलो रु २८, आलु रातो (गोलो) प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६५ र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ११०, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १७०, तीते करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ५५, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु १००, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १४०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५, निगुरो प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २६०, सेलरी प्रतिकिलो रु ११०, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली)प्रतिदर्जन २००, केरा मालभोग प्रतिदर्जन २२०, कागती प्रतिकेजी ३६०, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७५, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ७०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी (सुकेको) प्रतिकेजी रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

नेप्सेमा डेढ खर्बको सेयर सूचीकृत, बोनस मात्रै ३९.८९ अर्ब रुपैयाँ

काठमाडौं । चालु आवको ९ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डेढ खर्ब रुपैयाँ बराबरको सेयर सूचीकरण भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा नेप्सेमा १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा ४५ अर्ब ५४ करोड रुपैयाँको साधारण सेयर (आईपीओ), ३९ अर्ब ८९ करोड रुपैयाँको बोनस सेयर, ९ अर्ब ६४ करोड रुपैयाँको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँको डिबेन्चर, ९७ करोड १७ लाख रुपैयाँको एफपीओ र २ करोड २९ लाख रुपैयाँको अन्य गरी कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप सेयर सूचीकृत भएका छन् ।  समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २७ अर्ब २३ करोड रुपैयाँको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।  नेप्सेमा चैत मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ३३ अर्ब ८९ करोड रहेको छ । चैतसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५०.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १७.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.५ प्रतिशत रहेको छ ।