विकासन्युज

एकै वर्ष २३ नयाँ हाइड्रो सञ्चालनमा, राष्ट्रिय प्रणालीमा थपियो ५२९ मेगावाट

काठमाडौं । गत वर्ष २३ वटा नयाँ आयोजना सञ्चालनमा आएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा स्वतन्त्र विद्युत उत्पादकहरूले विकास गरेका २३ वटा नयाँ आयोजना सञ्चालनमा आएका हुन् । साथै ती आयोजनाबाट ५२८.९९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको प्राधिकरणले जनाएको छ । यससँगै सञ्चालनमा रहेका निजी क्षेत्रका विद्युत आयोजनाको संख्या २२७ पुगेको छ भने ती आयोजनाको कुल जडित क्षमता ३ हजार ४५९ मेगावाट पुगेको छ ।  प्राधिकरणका अनुसार हाल ६ हजार ४७२.२१ मेगावाट जडित क्षमता भएका २१३ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, २ हजार २०० मेगावाटभन्दा बढी क्षमता भएका १०५ वटा आयोजना विकासका विभिन्न चरणमा रहेका छन् । विद्युत प्राधिकरणले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ५४ वटा नयाँ विद्युत खरिद सम्झौता गरेको छ । तीमध्ये पाँच वटा जलविद्युत आयोजनाबाट २८.६ मेगावाट र ४९ वटा सौर्य आयोजनाबाट ६७५ मेगावाट विद्युत खरिदका लागि सम्झौता गरिएको छ । यससँगै स्वतन्त्र विद्युत उत्पादकसँग गरिएको कुल विद्युत खरिद सम्झौताको संख्या ५४५ पुगेको छ भने कुल सम्झौताबद्ध क्षमता १२ हजार १३५ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । ऊर्जा उत्पादनमा निजी क्षेत्रको बढ्दो सहभागितालाई मध्यनजर गर्दै प्राधिकरणले प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई बीओओटी (बिल्ड, ओन, अपरेट एन्ड ट्रान्सफर) मोडलमार्फत सहभागी गराउने नीति अघि सारेको छ । यसअन्तर्गत सरकारले स्वीकृत गरेको शुल्कमा आधारित प्रतिस्पर्धात्मक बोलपत्र (टीबीसीबी) ढाँचाअनुसार चार वटा प्रसारण लाइन आयोजना निर्माणका लागि इच्छुक सेवा प्रदायकबाट आशयपत्र प्राप्त भई मूल्याङ्कनको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सले २४ आना घरजग्गा किन्दै

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय तथा व्यावसायिक प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र घरजग्गा तथा जग्गा खरिद गर्न लागेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणद्वारा जारी ’बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशन, २०८२’ बमोजिम घरजग्गा खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । कम्पनीका अनुसार खरिद गरिने घरजग्गा मुख्य व्यावसायिक तथा कार्यालय क्षेत्रमा अवस्थित हुनुपर्नेछ । घरसहित वा घररहित जग्गाको क्षेत्रफल कम्तीमा २४ आना हुनुपर्ने तथा कम्तीमा २० फिट फराकिलो सडक वा पहुँच मार्गसँग जोडिएको हुनुपर्ने शर्त राखिएको छ । बिक्री प्रस्ताव पेस गर्ने व्यक्ति वा संस्थाले घरजग्गाको स्पष्ट अवस्थिति खुल्ने नक्सा, जग्गाधनी प्रमाण पुर्जा, नापनक्सा, चारकिल्ला प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, सम्पत्ति कर चुक्ता रसिदलगायतका कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । घर निर्माण भइसकेको अवस्थामा निर्माण सम्पन्न प्रमाणपत्र र निर्माणाधीन अवस्थामा स्वीकृत भवन निर्माण इजाजतपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । संस्थागत जग्गाधनीका हकमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, अख्तियारनामा तथा अन्य आवश्यक कागजातसमेत पेस गर्नुपर्नेछ । कम्पनीले प्रस्तावित घरजग्गामा कुनै प्रकारको कानुनी विवाद, मुद्दा वा स्वार्थको द्वन्द्व नरहेको स्वघोषणा पनि अनिवार्य गरेको छ । इच्छुक व्यक्ति तथा संस्थाले २१ दिनभित्र शिलबन्दी प्रस्ताव कम्पनीको प्रधान कार्यालयस्थित खरिद इकाईमा पेस गर्नुपर्नेछ ।

आज बस्दै संसद्का दुवै सदनका बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । उनले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, राष्ट्रिय सभाको बैठक अपरान्ह १:१५ बजे बस्नेछ । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ५० प्रतिशतका दरले १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ २६ गते बिहान ९ बजे थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा १०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

प्राधिकरणको आम्दानी १.६६ खर्ब रुपैयाँ, कुल नाफा ३१ अर्ब नाघ्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत वर्ष डेढ खर्ब रुपैयाँ बढी कुल आम्दानी गरेको छ । प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत बिक्री र अन्य आम्दानीबाट १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको हो । कुल आम्दानीमध्ये विद्युत बिक्रीबाट मात्र प्राप्त आय आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ भएको छ ।  प्राधिकरणले समग्र कार्यसम्पादनमा गरेको सुधार, विद्युत चुहावटको न्यूनीकरण, विद्युत निर्यातमा भएको वृद्धि समेतका कारण कुल नाफा गत वर्षको तुलनामा १३. १७ प्रतिशतले वृद्धि भई ३१ अर्ब २३ करोड रुपैयाँ भएको छ भने कुल सञ्चालन मुनाफा गत वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि भई २४ अर्ब ८१ करोड रुपैयाँ भएको श्रेष्ठले बताए ।  कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार विदेशी विनिमय दर वृद्धिका कारण संस्थाले व्यहोर्नुपर्ने दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा २७२.८६ प्रतिशतले वृद्धि भई ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको र ह्रासकट्टी तथा ब्याज खर्चमा भएको वृद्धि, इम्पेयरमेन्ट नोक्सानी (खर्च) का लागि गरिएको व्यवस्था समेतका कारण अघिल्लो वर्षको तुलनामा खुद नाफामा केही कमी भई गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको कर अघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँ हुन गएको छ ।  निर्माणाधीन पुँजीगत कार्यमा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ । यस अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुँजीकरण भएको छ । प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले वृद्धि भई ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ ।  गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा अवकाश कोषको कुल मौज्दात १० अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेकोमा सो रकम नेपाल सरकारको निर्देशन र प्रचलित कानून बमोजिम अवकाश कोष सञ्चालन गर्ने निकायमा हस्तान्तरण गरिएको छ । सरकारी अनुदान, सडकबत्ती बक्यौता र डेडिकेटेड तथा ट्रक लाइन बक्यौता बाहेक प्राधिकरणको औसत सङ्कलन अवधि ४४ दिन रहेको छ । ५ एम्पियरका करिब २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई कुल २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत प्राधिकरणले निःशुल्क उपलब्ध गराएको छ । प्राधिकरणको औसत बिक्री दर प्रतियुनिट ९.६८ रुपैयाँ रहेको छ । प्रति ग्राहक औसत बिक्री १ हजार ९७८ युनिटबाट वृद्धि भई २ हजार ८८ युनिट पुगेको छ भने अनलाइन भुक्तानीमार्फत महसुल सङ्कलन ३४ अर्ब ३३ करोडबाट वृद्धि भई ४० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । 

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ८१ करोड घाटा हुने अनुमान

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१ गते) बसेको बैठकले सोमबार (भदौ १ गते) देखि लागू हुने गरी इन्धनको हालकै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।  मूल्य यथावत् राखिए पनि निगमलाई पाक्षिक (१५ दिन) रूपमा करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने जनाइएको छ । यसअघि निगमले साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको थियो ।  हाल कायम मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वर्गीकरण अनुसार फरक–फरक तोकिएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ रहेको छ ।  निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा विभाजन गरी मूल्य समायोजन गर्दै आएको छ ।

भदौ १ गतेदेखि डिलरबाटै ग्यास बिक्री हुने, निगमद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेपाल आयल निगमले भोलि (भदौ १ गते) सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार सम्बन्धित उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेताहरूबाटै हुने जनाएको छ ।  निगमले आइतबार एक सूचना जारी गर्दै ग्यास आवश्यक पर्ने उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने बिक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न अपिल गरेको हो ।  ग्यास वितरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले पाँचबुँदे निर्देशन समेत जारी गरेको छ । जसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेताको विवरण, ठेगाना र सिलिण्डर संख्या बिहान ९ बजेभित्र निगमलाई बुझाउनुपर्नेछ भने बिक्रेताहरूले पनि बिक्री भएको परिमाण र उपभोक्ताको विवरण दैनिक रूपमा उद्योग र निगमलाई उपलब्ध गराउनुपर्नेछ । निगमले ग्यास बिक्री गर्दा अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ । ढुवानी र वितरणमा सुरक्षा सहजीकरणका लागि गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमको संयुक्त टोलीले बजार अनुगमन गर्नेछ ।  यदि नजिकैको बिक्रेताबाट ग्यास नपाएमा तत्काल अति आवश्यक परेका उपभोक्ताका लागि निगमको क्विक रेस्पोन्स टिमका मोबाइल नम्बरहरू ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

नाइमा एक्स्पोमा २० अर्ब मूल्यका सवारीसाधन बुकिङ, बीवाईडी र टाटा अग्रस्थानमा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सकिएको छ । करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेको उक्त एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए ।  मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै सवारीसाधनको बुकिङ उत्साहजनक रहेपछि अटोमोबाइल व्यवसायीहरूले केक काटेर र सेलिब्रेसन गर्दै खुसी व्यक्त गरेका छन् । आयोजकका अनुसार एक्स्पो अवधिभर करिब ५ हजार ५०० चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे गरी कुल साढे ७ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् ।  बुकिङ भएका सम्पूर्ण गाडी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ ।  यस पटकको प्रदर्शनीमा १८ लाखदेखि ४ करोड रुपैयाँसम्मका सवारीसाधन राखिएकोमा विशेष गरी ३० देखि ३५ लाख रुपैयाँ मूल्यका इन्ट्री लेभल र विद्युतीय सवारी (ईभी) हरूमा ग्राहकको अत्यधिक आकर्षण देखिएको छ । चारपांग्रेतर्फ सबैभन्दा बढी बुकिङ हुनेमा बीवाईडी (१ हजारभन्दा बढी), टाटा र चेरी (७ सयभन्दा बढी), किया (७ सयभन्दा बढी), वुलिङ (४ सय ४३), आईकार (४ सय २१), र ओमोडा जेको (३५०) लगायतका ब्रान्डहरू रहेका छन् ।  त्यस्तै दुईपांग्रेतर्फ एथर, सीएक्स मोटो, याडिया, सीएफ मोटो, ट्राइम्फ र रोयल इन्फिल्डको बुकिङ अग्रस्थानमा रहेको नाइमाले जनाएको छ ।