विकासन्युज

निरन्तर उकालो लाग्दै सुनको मूल्य, तोलाको ३ लाख १९ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ ।  शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।  

१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौं । सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्त ऋणीहरूले आफ्नो धर्ना कार्यक्रम स्थगित गर्दै घर फर्किएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका ऋणीहरू सरकारसँग सहमति भएपछि आइतबार आ–आफ्नो गन्तव्यतर्फ फर्किएका हुन् । नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको थियो ।  आइतबार बिहान करिब ९ बजेदेखि विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा साझा यातायातका बसमार्फत बिदाइ गरिएको थियो । झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको छ । सरकार र ऋणीका प्रतिनिधिबीच भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि जारी धर्ना तत्कालका लागि स्थगित भएको हो ।

अमेरिकाले प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

काठमाडौं । अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग नखुल्ने इरानले चेतावनी दिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का सचिव मोहसेन रेजाइले शनिबार सरकारी प्रसारक आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । रेजाइले अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरे पनि वास्तविकता त्यस्तो नभएको दाबी गर्दै अमेरिकाले आफ्नो व्यवहार सच्याएर प्रतिबद्धता पूरा गरेपछि मात्रै यो मार्ग खोलिने बताए । उनले अमेरिकाले सैन्य विकल्पबाट अपेक्षित परिणाम हासिल गर्न नसकेपछि अहिले आर्थिक नाकाबन्दीमार्फत इरानमाथि दबाब बढाउन खोजिरहेको आरोप लगाए । उनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही महिनाको आर्थिक नाकाबन्दीले इरानलाई झुकाउन सकिने आश्वासन दिएका थिए । रेजाइले इरानले वर्षौंदेखि प्रतिबन्ध छल्ने उपाय विकास गरिसकेको र तेल निर्यात जारी राख्न सक्ने दाबी पनि गरे । साथै, पश्चिम एसियामा युद्ध अन्त्य चाहने आफ्नो देशले बाह्य दबाबका बाबजुद आत्मरक्षा जारी राख्ने चेतावनी दिए । उनले होर्मुज जलमार्ग व्यवस्थापन गर्ने अधिकार इरानसँग रहेको दाबी गर्दै फारसी खाडीको आधाभन्दा बढी तट इरानको भएकाले त्यस क्षेत्रको सुरक्षामा आफ्नो भूमिका निर्णायक हुने बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी–डे’ अभियान घोषणा गर्दै तेल तस्करी सञ्जाल, वित्तीय कारोबार, विनिमय गृह, जहाज दर्ता र आवरण कम्पनीहरूलाई लक्षित गरेर कडा आर्थिक कारबाही गर्ने बताएका थिए । उनले होर्मुज जलमार्ग ‘अमेरिकी क्षेत्र’ भएको दाबी गर्दै अमेरिकाले त्यहाँ पूर्ण नियन्त्रण कायम गरेको पनि बताएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिलाई इरानले अस्वीकार गरेको छ । इरानी उपविदेशमन्त्री काजेम घारिबाबादीले अमेरिकाको दाबीलाई परिस्थितिले वा इरानले नै सच्याउने प्रतिक्रिया दिएका छन् । संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले पनि अमेरिकाले १४ बुँदे समझदारीअनुसार आर्थिक नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने र तेलमाथिका प्रतिबन्ध खुकुलो नबनाएसम्म जलमार्ग नखोल्ने बताएका छन् । यता अमेरिकी ऊर्जा सचिव क्रिस राइटले अमेरिकी नौसेनाको सुरक्षामा होर्मुज जलमार्गबाट मंगलबार मात्रै १ करोड ५० लाख ब्यारेलभन्दा बढी तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार भएको बताएका छन् । पाइपलाइनमार्फत भएका ढुवानीसमेत जोड्दा क्षेत्रबाट दैनिक करिब २ करोड ब्यारेल ऊर्जा आपूर्ति बाहिरिएको उनको दाबी छ । - एएनआई  

बेपत्ता २ वर्षीया बालिका सकुशल फेला

रौतहट । कलैयाबाट हिजो (शनिबार देखि बेपत्ता भएकी बालिका आज सकुशल फेला परेकी छिन् । रातभरको खोजीपछि बालिका सकुशल फेला परेकी हुन् ।  कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट हिजो साँझ ५ बजदेखि बेपत्ता भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  सडक किनाराको नालामा रोइरहेकी अवस्थामा स्थानीय एक महिलाले फेला पारेर बालिकाको उद्धार गरेकी थिईन् । पछि प्रहरीको समन्वयमा बालिकालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।   

विद्यालय शिक्षा विधेयकको मस्यौदाअघि सातै प्रदेशका सुझाव काठमाडौंमा समीक्षा हुँदै

काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ । मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो । विराटनगरबाट सुरु भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो । प्रदेशस्तरीय संवादमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको थियो । सातै प्रदेशबाट प्राप्त सुझाव, प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरी समीक्षा गर्न काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शिक्षा संवाद आयोजना हुँदै छ। कार्यक्रममा प्रदेशस्तरीय छलफलबाट आएका सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनुपर्ने प्राथमिक विषयबारे थप छलफल गरिने मन्त्रालयले जनाएको छ । प्रदेशस्तरीय संवादमा शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्याङ्कन प्रणाली, विद्यालयको गुणस्तर सुधार तथा संघ, प्रदेश र स्थानीय तहबीचको शैक्षिक जिम्मेवारी प्रमुख विषयका रूपमा उठेका थिए । मन्त्रालयले सातै प्रदेशबाट प्राप्त सुझाव तथा काठमाडौंमा हुने समग्र छलफलबाट आएका थप सुझावलाई आधार बनाएर विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउने तयारी गरेको छ ।

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाभियानबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं ।  नेपाल सरकार र दुर्गा प्रसाँई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ​सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गरे ।

हेटौंडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग संचालन गरिने बताएकी छिन् । मन्त्री यादवले कानुनी प्रकृया मिलाएर औद्योगिक क्षेत्रबाट वर्षौंदेखि उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल गरिएको रकमलाई हेटौंडा कपडा उद्योगको स्तरउन्नति तथा सञ्चालनमा खर्च गर्ने गरी व्यवस्था मिलाउने बताइन् । आज हेटौंडामा परीक्षण सञ्चालनमा रहेको कपडा उद्योगको स्थलगत अवलोकन गर्दै मन्त्री यादवले उद्योगलाई अब परीक्षणमै सीमित नराखी नियमित र निरन्तर उत्पादनमा लैजानुपर्ने बताइन् । हाल उद्योगमा १० वटा लुम सञ्चालनमा रहेर कपडा उत्पादन भइरहेको तथा थप १० वटा मेसिनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ। नेपाली सेनाका प्रतिनिधिहरूले उद्योगमा रहेका सम्पूर्ण मेसिन तथा उपकरणको अवस्था परीक्षण तथा निरीक्षण गरिरहेको र सम्भव भएसम्म थप मेसिन सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी मन्त्री यादवलाई गराएका थिए। मन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न नेपाली सेनाको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरिन् । उनले भनिन्, 'अब हेटौंडा कपडा उद्योग निरन्तर सञ्चालन हुनुपर्छ। त्यसका लागि अझै अग्रसर भएर आवश्यक सहयोग गर्न नेपाली सेनालाई अनुरोध गर्दछु।' मन्त्री यादवले आफूहरूले दिएको समयसीमाभित्रै उद्योगलाई परीक्षण सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली सेनालाई धन्यवादसमेत दिइन् । नेपालकै सबैभन्दा ठूलो टेक्सटाइल उद्योगका रूपमा हेटौँडा कपडा उद्योगलाई हेरिएको र यसमा रहेका सम्पूर्ण मेसिन सञ्चालनमा ल्याउन सके नेपाललाई पर्याप्त मात्रामा कपडा उत्पादन गर्न सकिने उद्योगमन्त्री गौरिको विश्वास छ। वर्षौंदेखि बन्द अवस्थामा रहेको सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याउने क्रममा सरकारको आफ्नै स्रोत परिचालन गरी उद्योगको स्तरउन्नति गर्ने मन्त्री यादवको घोषणाले हेटौंडा कपडा उद्योगलाई आत्मनिर्भर रूपमा सञ्चालन गर्ने सरकारको योजनालाई थप स्पष्ट पारेको छ।

कैलाश हेलिकोप्टरमा ७ पाइलटका लागि जागिर खुला

काठमाडौं । कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडले विभिन्न पदमा ७ जना पाइलट माग गरेको छ । कम्पनीले एयरबस एएस३५० सिरिजका हेलिकोप्टर सञ्चालनका लागि योग्य नेपाली जनशक्ति माग गरेको हो । कम्पनीले हेलिकोप्टर पाइलट (इन्स्ट्रक्टर) ३ जना, हेलिकोप्टर पाइलट (क्याप्टेन) २ जना र हेलिकोप्टर को–पाइलट २ जना गरी कुल ७ जना जनशक्ति माग गरेको छ । कम्पनीका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले अद्यावधिक बायोडाटा (सीभी), लाइसेन्स तथा सम्बन्धित सबै कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदकसँग आईसीएओको सम्बन्धित सदस्य राष्ट्र वा नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएए) बाट जारी गरिएको एएस३५० सिरिज हेलिकोप्टरमा मान्य एटीपीएल, सीएफआई वा सीपीएल (एच) लाइसेन्स हुनुपर्नेछ । अन्य न्यूनतम योग्यता नेपाल नागरिक उड्डयन प्राधिकरणको आवश्यकताअनुसार हुने कम्पनीले जनाएको छ । कम्पनीले २२ अगस्ट २०२६ मा सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कैलाश हेलिकोप्टर सर्भिसेजको कार्यालयमा प्रत्यक्ष वा तोकिएको ठेगानामा आवेदन दिनुपर्नेछ । कम्पनीको कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टीआईए कमर्सियल बिल्डिङ, लेभल–३, काठमाडौंमा रहेको छ । आवेदनका लागि कम्पनीले [email protected] र [email protected] इमेल ठेगाना उपलब्ध गराएको छ ।