विकासन्युज

३ हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । तीनवटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हिल्टन हाइड्रो इनर्जी, काबेली हाइड्रोपावर र आशुतोष इनर्जीले लाभांश प्रस्ताव गरेका हुन् । हिल्टन हाइड्रो इनर्जीले चुक्ता पुँजीको करसहित २० प्रतिशत, आशुतोष इनर्जीले करसहित १८.९४ प्रतिशत र काबेली हाइड्रोपावरले करसहित १६.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित लाभांश पारित गर्न तीनवटै कम्पनीले भदौ २७ गते वार्षिक साधारणसभा बोलाएका छन् । आशुतोष इनर्जीको साधारणसभा होटल हिमालय, कुपन्डोल, ललितपुरमा हुनेछ । हिल्टन हाइड्रो इनर्जी र काबेली हाइड्रोपावरले भने काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा साधारणसभा बोलाएका छन् ।  सभामा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने, विभिन्न जलविद्युत आयोजना तथा कम्पनीमा सेयर लगानी गर्ने र बैठक भत्ता परिमार्जन गर्ने प्रस्ताव पनि पेस गरिनेछ । त्यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

कर्णालीमा याक चिज उत्पादन हुने, जगदुल्ला गाउँपालिका र डिडिसीबीच सम्झौता

काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक व्यावसायिक रूपमा याक (नाक) चिज उत्पादन हुने भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डिडिसी) बीच सम्झौता भएको हो । शनिबार डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार डिडिसीले उद्योग सञ्चालनका लागि याक चिज उत्पादनसम्बन्धी तालिम, प्राविधिक जनशक्ति र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । प्राविधिक सहयोगपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी जगदुल्ला गाउँपालिकाको हुनेछ । उत्पादन भएको चिज डिडिसीले खरिद गर्ने व्यवस्था पनि सम्झौतामा गरिएको छ । डिडिसीका महाप्रबन्धक डा. पाण्डेले सम्झौतासँगै तत्काल काठमाडौंबाट प्राविधिक टोली डोल्पा पठाएर काम सुरु गरिने बताए । 'हामी तत्कालै काठमाडौंबाट प्राविधिक पठाएर काम सुरु गर्छौँ । यहाँबाट हरेक वर्ष करिब ३० टन याक चिज उत्पादन गर्न सकिन्छ,' उनले भने । समुद्री सतहबाट करिब ४ हजार मिटरभन्दा बढी उचाइमा सञ्चालन हुने यो उद्योग कर्णालीमै पहिलो व्यावसायिक याक चिज उद्योग हुनेछ । डोल्पा चौरीपालनका लागि प्रसिद्ध जिल्ला मानिन्छ। स्थानीयका अनुसार यार्सागुम्बालगायत हिमाली वनस्पति चरन गर्ने चौरीको दूधबाट उत्पादन हुने याक चिजको स्वाद र गुणस्तर अन्य क्षेत्रको चिजभन्दा फरक हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले यो उद्योगले स्थानीय किसानको आम्दानी बढाउनुका साथै डोल्पाको हिमाली उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्न मद्दत पुग्ने विश्वास लिएको छ ।

‘निम्स दाई अन्नपूर्ण फस्ट’ नाम प्रस्ताव, संग्रहालय र ट्रेल बनाउने

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्मल पुर्जा ‘निम्स दाई’को नाममा अन्नपूर्ण हिमालको नाममा राख्न प्रस्ताव गरेको छ । निम्स दाईले आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको सुरुवात गरेको अन्नपूर्ण हिमालबाट सुरु गरेका थिए । गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम निम्स दाईको नामबाट राख्न केन्द्र सरकारसमक्ष प्रस्ताव गरेको हो ।  गत साउन १६ गते गाउँपालिकाले निम्स दाईको नामबाट हिमालको नाम राख्न प्रस्ताव गर्ने निर्णय गरिसकेको छ । नामकरण गर्न स्थानीय सरकारले केन्द्र सरकारसमक्ष प्रस्ताव अघि बढाउने भएको छ। अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण फस्टलाई ‘निम्स दाई अन्नपूर्ण फस्ट’ नामकरण गर्न नेपाल सरकारसमक्ष औपचारिक अनुरोध गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले जानकारी दिए । निम्स दाईको जन्मथलो पनि अन्नपूर्ण क्षेत्रमै रहेकाले उनको योगदान र विश्व कीर्तिमानलाई सम्मान गर्दै यस्तो प्रस्ताव अघि सारिएको हो,’ उनले विकासन्युजसँग भने । निम्स दाईले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहणको अभियान अन्नपूर्णबाट सुरु गरेका थिए।  उनको जन्मथलोसमेत भएकाले अन्नपूर्ण फस्टलाई उनको नामसँग जोडेर संरक्षण तथा सम्मान गर्न खोजिएको पुनले बताए । हिमाल प्राकृतिक सम्पदा भएकाले कुनै व्यक्तिको नाममा नामकरण गर्न नहुने भन्दै केही पक्षबाट विरोधसमेत भएको छ। गाउँपालिकाले भने आफूहरूले अन्तिम निर्णय नगरी केवल प्रस्तावका रूपमा नेपाल सरकारसमक्ष अनुरोध गर्न लागेको पुनले प्रस्ट पारे । उनका अनुसार निम्स दाईको नाममा संग्रहालय निर्माण गर्ने तयारीसमेत भइरहेको छ। उनको परिवारसँग सल्लाह गरेर मुस्ताङ जाने राजमार्गसँग जोडिएको करिब तीन–चार रोपनी जग्गा उपलब्ध भएमा त्यहाँ संग्रहालय स्थापना गर्ने योजना छ। उनको १३ दिनको काम सकिएपछि परिवारसँग सम्पर्क गरिन्छ। त्यस्तै, अन्नपूर्ण क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्पतर्फ जाने पदमार्गलाई पनि निम्स दाईको योगदानसँग जोड्ने प्रस्ताव अघि सारिएको छ। नेपालमा हिमाल आरोहणको इतिहाससँग जोडिएका मौरिस हर्जोगले प्रयोग गरेको पदमार्ग र निम्स दाईको योगदानलाई समेटेर उक्त बाटोलाई ‘निम्स दाई–मौरिस हर्जोग ट्रेल’का रूपमा विकास गर्ने विषयमा विज्ञहरूसँग छलफल गरिरहेको उनले बताए । पुनले आगामी हिउँदे अधिवेशनमा निम्स दाईको नाममा संग्रहालय तथा सालिक निर्माणका लागि बजेट विनियोजन गर्ने तयारीसमेत गरिएको बताए । 'निम्स दाई केवल एक पर्वतारोही मात्र नभई उनले अन्नपूर्ण र नेपालको पहिचानलाई विश्वभर पुर्‍याउन महत्वपूर्ण योगदान दिएका व्यक्तित्व हुन्। उनको नाममा गरिने सम्मानलाई औपचारिकताका लागि मात्र नभई उनको योगदानलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने प्रयासका रूपमा अघि बढाइनेछ,' पुन भन्छन् । निम्स दाईको अन्तिम संस्कार सम्पन्न भएपछि नामकरण, संग्रहालय, सालिक तथा ट्रेललगायतका प्रस्तावलाई औपचारिक रूपमा अघि बढाइने उनले बताए । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको थियो । उनको अन्त्येष्टि बेलायतमा गरिएको थियो । ६ जना नेपालीसहित अन्य ४ जनाको मृत्यु भएको थियो ।  

गरिमा हत्या प्रकरणले स्तब्ध छु, दोषीलाई कडाभन्दा कडा कारबाही हुन्छ : कृषिमन्त्री चौधरी

काठमाडौं । कृषिमन्त्री गीता चौधरीले गरिमा चौधरी हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने विश्वास व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै मन्त्री चौधरीले पाँच वर्षीया आफ्नी छोरीले गरिमाबारे गरेको प्रश्नले आफूलाई भित्रैदेखि झस्काएको उल्लेख गरेकी छन् । उनले मन्त्रालयबाट फर्किएपछि साँझ छोरीसँग कुरा गरिरहेको बेला फेसबुकमा गरिमा चौधरीको तस्बिर देखिएको र छोरीले 'यो बच्चाको त आँखा र जिब्रो निकालेर मारेको रे' भनेपछि आफू स्तब्ध भएको लेखेकी छन् । मन्त्री चौधरीले पाँच वर्षको बच्चाले समेत यस्ता क्रूर घटनाबारे थाहा पाउने अवस्था आउनु समाजका लागि गम्भीर प्रश्न भएको उल्लेख गरेकी छन् । हाम्रा छोरीहरू आज कति सुरक्षित छन् भन्ने प्रश्नले आफूलाई अझ गम्भीर बनाएको उनको भनाइ छ । उनका अनुसार शनिबार बिहान सिमराबाट साथी राधा चौधरीले फोन गरेर पीडित परिवारको अवस्था र उनीहरूले भोगिरहेको पीडाबारे जानकारी गराएकी थिइन् । त्यसपछि आफूले गृहमन्त्री सुधन गुरुङसँग टेलिफोनमा कुराकानी गरेको र घटनामा संलग्न व्यक्ति पक्राउ परिसकेको, परिवारसँग समन्वय भइरहेको तथा घटनाको गम्भीर रूपमा अनुसन्धान अघि बढाइएको जानकारी पाएको उनले बताएकी छन् । मन्त्री चौधरीले सरकारले तत्काल अनुसन्धान सुरु गरेकोमा गृहमन्त्री र सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गर्दै पीडित परिवारले न्याय पाउने वातावरण बनाउन आफ्नो तहबाट आवश्यक समन्वय र पहल जारी राख्ने प्रतिबद्धता जनाएकी छन् । आफू थारू समुदायबाट आएको जनप्रतिनिधि भएकाले यो घटना अझ संवेदनशील विषय बनेको उनले उल्लेख गरेकी छन् । गरिमा चौधरीको परिवारले भोगिरहेको पीडा एउटा परिवारको मात्र नभई समाज र राज्यका लागि गम्भीर चेतावनी भएको उनको भनाइ छ । उनले जघन्य अपराधमा संलग्न दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने र कानुनी संयन्त्रलाई अझ संवेदनशील, तत्पर र प्रभावकारी बनाउन आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएकी छन् । स्टाटसको अन्त्यमा मन्त्री चौधरीले दिवंगत बालिका गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।

१८औँ नाडा अटो शो : इभीदेखि ह्युमनोइड रोबोटसम्म एउटै छानामुनि

काठमाडौं । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोमा विद्युतीय सवारीसाधनसँगै अत्याधुनिक जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने भएका छन् । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको यस वर्षको अटो शोले सवारीसाधनको प्रदर्शनीसँगै विद्युतीय सवारीको बढ्दो प्रयोग, चार्जिङ पूर्वाधार र नयाँ नीतिगत व्यवस्थाबारे पनि छलफल गर्ने मञ्च तयार गर्ने आयोजकले जनाएको छ । नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशभर करिब दुई हजार चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । नेपालमा भित्रिने विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट र बाँकी अधिकांश भारतबाट आउने गरेका छन् । नाडाका अनुसार नेपालमा विद्युतीय सवारीको विस्तार चार्जिङ पूर्वाधारको विकासभन्दा धेरै छिटो भएको छ। यही विषयलाई केन्द्रमा राख्दै अटो शोमा गाडी, चार्जिङ प्रविधि र वित्तीय सेवासम्बन्धी कम्पनीलाई एउटै स्थानमा ल्याएर छलफल गराइनेछ । अटो शोमा विभिन्न मूल्य र वर्गका विद्युतीय तथा हाइब्रिड सवारी प्रदर्शन गरिनेछन् । बीवाईडी, लीपमोटर, जिली, एमजी, वुलिङलगायतका ब्रान्डका इभी प्रदर्शनीमा रहनेछन् । दुईपाङ्ग्रेतर्फ रिभोल्ट र नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्रीका विद्युतीय मोटरसाइकल पनि सहभागी हुनेछन् । चार्जिङ पूर्वाधारतर्फ जीआई चार्जर आधिकारिक चार्जिङ पार्टनरका रूपमा रहनेछ । यसका साथै एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी र डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन् । नाडाका अध्यक्ष करण चौधरीका अनुसार नेपालमा विद्युतीय सवारी चार्जिङ पूर्वाधारभन्दा छिटो विस्तार भएको वास्तविकतालाई स्वीकार गर्दै अटो शोले त्यसबारे व्यावहारिक र खुला छलफलको वातावरण बनाउनेछ । यस वर्षको अटो शोमा विद्युतीय सवारीमा लागू भएको नयाँ कर प्रणालीबारे पनि विशेष चासो रहनेछ । मोटरको किलोवाट क्षमताका आधारमा लाग्ने कर हटाएर मूल्यका आधारमा लागू गरिएको ‘क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट लेभी’ को प्रभावबारे उद्योगी, आयातकर्ता र सरोकारवालाबीच छलफल हुने कार्यक्रम छ ।

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छ : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन् । शनिबार पार्टीको कोसी प्रदेश समितिले आयोजना गरेको एक कार्यक्रममा उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ताकब्जा गरेको आरोप लगाएका हुन् । २०६२/६३ सालको परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकामा अहिले रास्वपा त्यस्तो शक्ति बनेर अघि आएको उनले टिप्पणी गरे । उनले कम्युनिस्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताए । वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको उनले आरोप लगाए । सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आमजनता तथा तल्लो वर्गको हित नगरेको उनले जिकिर गरे । सरकारका आर्थिक नीति माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उनले बताए । उनले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको उल्लेख गरे । कम्युनिस्ट पार्टी नेतृत्वले विगतमा गरेका कमजोरीका कारण निर्वाचनमा सर्मनाक हार व्यहोर्नुपरेको उनले बताए । त्यसमा बाह्य शक्तिको प्रभाव भए पनि त्यसलाई गौण कारणका रूपमा हेरिनुपर्ने उनको भनाइ थियो । उनले विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको बताए । विदेशिएका श्रमिक र असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको उनले आरोप लगाए । उनले वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने पनि बताए । वर्तमान सरकारका नीतिका कारण सुकुम्वासी, विद्यार्थी, मजदुर तथा पत्रकार समस्यामा परेको उनको भनाइ थियो ।

राष्ट्र बैंकबाट अवकाश भए ६ ईडीसहित ३० जना कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०८२/८३ मा ३० जना कर्मचारीले अवकाश पाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षभरी उमेरहद र सेवा अवधिका कारण २ जना डेपुटी गभर्नर र ६ जना कार्यकारी निर्देशक (ईडी) सहित ३० जनाले अनिवार्य रुपमा अवकाश पाएका हुन् ।  राष्ट्र बैंकबाट गत फागुन २४ गते डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरी बिदा भए । उनीहरू वि.सं. २०७७ फागुन २५ गते डेपुटी गभर्नर पदमा नियुक्त भएका थिए । डा. तिम्सिना २०५४ सालमा सहायक निर्देशक पदबाट राष्ट्र बैंक सेवामा प्रवेश गरेकी थिइन् भने बमबहादुर मिश्रले २०५९ सालमा सहायक निर्देशक पदबाट बैंक सेवामा प्रवेश गरेका थिए । राष्ट्र बैंकका अनुसार २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीप राज पौड्यालले २०८२ साउन १७ गतेदेखि ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन् । पौड्यालले वित्त व्यवस्थापन विभागसँगै मुद्रा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग र गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागको नेतृत्व सम्हालेका थिए । यसैगरी, २०५९ चैत २० गते बैंक सेवामा प्रवेश गरेका वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले २०८२ भदौ १२ गतेदेखि अवकाश पाएका छन् । भट्टले वित्त व्यवस्थापन विभागसँगै तत्कालीन वित्तीय संस्था सुपरिवेक्षण विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व सम्हालेका थिए । २०५७ असार १ गते बैंक सेवामा प्रवेश गरेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले २०८२ कात्तिक ६ गतेदेखि अवकाश पाएका हुन् । उनले गभर्नरको कार्यालयसँगै तत्कालीन राष्ट्र ऋण व्यवस्थापन विभाग, आर्थिक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र भुक्तानी प्रणाली विभागको नेतृत्व सम्हालेका थिए । उनले सात वर्षे पदावधिका आधारमा अवकाश पाएका हुन् । त्यसैगरी, २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका कार्यकारी निर्देशक विमलराज खनालले २०८२ पुस ७ गतेदेखि अवकाश पाएका छन् । खनालले वित्त व्यवस्थापन विभागसँगै गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, आन्तरिक लेखापरीक्षण विभाग र लघुवित्त संस्था सुपरिवेक्षण विभागको नेतृत्व सम्हालेका थिए । उनले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन्। यस्तै, कार्यकारी निर्देशक रोशनकुमार सिग्देलले २०८२ चैत १८ गतेदेखि बैंक सेवाबाट अवकाश पाएका छन् । २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका सिग्देलले बैंकिङ विभागसँगै सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको नेतृत्व सम्हालेका थिए । उनले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन् । यस्तै, २०५४ मङ्सिर २२ गते बैंक सेवामा प्रवेश गरेका कार्यकारी निर्देशक नरेश शाक्यले २०८३ जेठ ३० गतेदेखि अवकाश पाएका छन् । शाक्यले लघुवित्त संस्था सुपरिवेक्षण विभागसँगै बैंकिङ, मौद्रिक व्यवस्थापन, मुद्रा व्यवस्थापन, सूचना प्रविधि, मानव संसाधन व्यवस्थापन र आन्तरिक लेखापरीक्षण विभागको नेतृत्व सम्हालेका थिए । उनले सात वर्षे पदावधिका आधारमा अवकाश पाएको मानव संसाधन व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार ३० वर्षे सेवा अवधिका आधारमा बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागका कार्यालय सहयोगी प्रथम क्रमशः हिरा लक्ष्मी नेपाली र साउचा पोडेले २०८२ साउन १ गते अवकाश पाएका छन् । ५८ वर्षे उमेरहदका आधारमा विराटनगर कार्यालयका प्रधान चालक सत्रुघ्न सिङ दनुवारले साउन ५ गते तथा सिद्धार्थनगर कार्यालयका कार्यालय सहयोगी तृतीय अशोककुमार बर्माले साउन ६ गतेदेखि अवकाश पाएका छन् । विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिम्सिनाले २०८२ असोज २२ गतेदेखि अवकाश पाएका छन् । यसैगरी, गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यालय सहयोगी प्रथम गायत्री सापकोटा र वित्तीय जानकारी इकाइका कार्यालय सहयोगी प्रथम निर्मला अधिकारीले क्रमशः असोज १० र १६ गतेदेखि अवकाश पाएका छन् । टक्सार महाशाखाका निर्देशक लोकेन्द्रप्रसाद अर्यालले २०८२ कात्तिक २५ गतेदेखि तथा विराटनगर कार्यालयका कार्यालय सहयोगी तृतीय सुनेच्रीदेवी डोमले मङ्सिर ७ गतेदेखि अवकाश पाएका छन् । उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएका हुन् । सिद्धार्थनगर कार्यालयका उपनिर्देशक माधवराज ढकालले २०८२ माघ ३ गते तथा लघुवित्त संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक नरेशकुमार अधिकारीले माघ २१ गतेदेखि अवकाश पाएका छन् । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका वरिष्ठ प्लम्बर रामकृष्ण खड्की र गभर्नरको कार्यालयका कार्यालय सहयोगी प्रथम शान्ति नेपालले २०८२ फागुन ७ गतेदेखि अवकाश पाएका छन् । यसैगरी, कानुन महाशाखाका निर्देशक टेकराज भण्डारीले चैत २९ गते तथा जनकपुर कार्यालयका कार्यालय सहयोगी प्रथम बाबुलाल वाइबाले चैत ३० गतेदेखि बैंक सेवाबाट अवकाश पाएका छन् । २०८३ जेठमा कानुन महाशाखाका उपनिर्देशक प्रह्लाद खड्का, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका उपनिर्देशक धीरेन्द्रकुमार आरसी, प्रधान सहायक पार्वती खरेल र गभर्नरको कार्यालयका कार्यालय सहयोगी तृतीय खिनबहादुर मगरले अवकाश पाएका छन् । उनीहरूले क्रमशः जेठ १०, २४, ११ र २ गतेदेखि अवकाश पाएका हुन्। त्यसैगरी, लघुवित्त संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक गोविन्दप्रसाद भण्डारीले असार १ गतेदेखि, बैंक तथा वित्तीय संस्था नियमन विभागका सहायक मञ्जु माया अधिकारीले असार १० गतेदेखि र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका उपनिर्देशक रेवतीराज पौडेलले असार २२ गतेदेखि अवकाश पाएका छन् । उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा अवकाश पाएको मानव संसाधन व्यवस्थापन विभागले जनाएको छ । यसैबीच, टक्सार महाशाखाका उपनिर्देशक विष्णुबहादुर श्रेष्ठको गत असार १३ गते उपचारका क्रममा असामयिक निधन भएको छ । विगत केही महिनादेखि अस्वस्थ रहेका श्रेष्ठको ५५ वर्षको उमेरमा निधन भएको हो । 

दर्जनौँ पार्टी मिलाएर ठूलो समिति बनाउँदा पनि चुनाव जितिएन : पम्फा भुसाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ समिति प्रति असन्तुष्टि जनाएकी छन् । पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउन नसक्ने बताएकी हुन् । उनले दर्जनौँ पार्टी मिलाएर ठूलो समिति भएको नेपाली कम्युनिस्ट पार्टी बनाउँदा पनि निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताइन् । मंसिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ । पार्टीका समितिहरू अत्यधिक ठूला बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेको उनले बताइन् । केन्द्रीय समितिसहित तल्ला तहका समितिमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको उनको दाबी छ । उनले कम्युनिस्ट पार्टीका संगठनहरू चुस्त–दुरुस्त हुनुपर्ने बताइन् । साथै, पछिल्लो समय पार्टी नेताहरूमा पदको मोह बढ्दै गएको आरोप पनि लगाइन् । पदप्राप्ति र पदमोहका कारण कम्युनिस्ट आन्दोलन विघटनउन्मुख अवस्थामा पुगेको उनको भनाइ छ । महाधिवेशनका लागि आवश्यक सांगठनिक एकता पार्टी सदस्यसम्म पुर्‍याउने, पार्टी सदस्यता नवीकरण गर्ने लगायतका काममा पनि ढिलाइ भएको उनले बताइन् । भुसालले भनिन्, 'राष्ट्रिय स्वाधीनताको पक्षमा नेपाली जनताले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको दस्ताबेज संविधानको रक्षा गर्दै रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर अगाडि बढाउनुपर्छ। सिंगो वाम आन्दोलनलाई केन्द्रित गर्ने कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्छ। छरिएर रहेका देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नुपर्छ ।' उनले एकताका नाममा बनेको भद्दा संगठनमा जनवादको अभ्यास नै कमजोर भएको टिप्पणी गरिन् । सांगठनिक एकतालाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र पार्टी सदस्यता नवीकरणको काम समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिइन् । भुसालले पछिल्लो समय राष्ट्र नै सबैभन्दा बढी संकटमा परेको दाबी गर्दै राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । साथै, वाम आन्दोलनलाई केन्द्रित गर्दै कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।