हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योग मन्त्रीको प्रतिबद्धता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् । शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौँडा उपमहानगरपालिका–८ स्थित हेटौँडा कपडा उद्योगमा पुगेको हो । उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताइन् । उद्योग कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने त्यसबारेमा छलफल गरिरहेको बताइन् । सरकार कपडा उद्योगलगायत बन्द उद्योगहरू पुन सञ्चालन गर्ने तयारीमा रहेको जानकारी उनले गराइन् । मन्त्री यादवले नेपाली सेनाका अधिकृतहरूसँग कपडा उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिएकी थिइन् । प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगिता क्वुरलगायत पनि निरीक्षण टोलीमा थिए । निरीक्षणका क्रममा कपडा उद्योगमा रहेका ४८८ मेसिन(तान)मध्ये हाल १२ वटा तान मात्र सञ्चालनमा रहेको जानकारी गराइएको थियो । मन्त्री यादवले कपडा उद्योगको वर्तमान अवस्था, उद्योग सञ्चालनमा देखिएका चुनौती तथा उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे सरोकारवालासँग छलफल पनि गरिन् । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको तीन साता अघि परीक्षण उत्पादन गरिएको थियो । सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि साउन २३ मा २ वटा लुम (तान)सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरेको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा हेटौँडा कपडा उद्योग स्थापना भएको थियो । यसले २०३५ सालदेखि व्यावसायिक उत्पादन शुरु गरेको थियो।राजनीतिक हस्तक्षेप, फितलो व्यवस्थापन र बढ्दो आर्थिक दायित्वका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द हुन पुगेको थियो । २०५९ सालमा तत्कालीन सरकारले उक्त उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो । विगतमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण नगरिनु, लोडसेडिङको समस्या, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा परेको आर्थिक भार र कमजोर व्यवस्थापकीय क्षमताका कारण यो ऐतिहासिक उद्योग धराशायी बन्न पुगेको थियो ।
विद्यालय कर्मचारीको तलब ५ हजार बढ्यो, परिषद्ले स्थगित गर्यो आन्दोलन
काठमाडौं । सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले बढाउने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेकोमा स्वागत गरेका छन् । सरकारको निर्णयअनुसार प्रारम्भिक बाल विकास (इसिडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि भएको छ । पारिश्रमिक बढेसँगै इसिडी सहजकर्ताले अब मासिक १७ हजार रुपैयाँ पाउनेछन् । यसअघि उनीहरूले १२ हजार रुपैयाँ पाउँदै आएका थिए । त्यस्तै, विद्यालय सहयोगीको पारिश्रमिक १० हजारबाट बढेर १५ हजार रुपैयाँ पुगेको छ । लेखा हेर्ने विद्यालय कर्मचारीको पारिश्रमिक भने १५ हजारबाट बढेर २० हजार रुपैयाँ पुगेको छ । परिषद्ले पारिश्रमिक वृद्धि सकारात्मक भएको बताउँदै विद्यालय कर्मचारीका बाँकी माग पनि सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । परिषद्ले सेवा–सुविधा, वृत्ति विकास, पेसागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापनलगायत माग पूरा गर्न सरकारसँग माग गरेको छ । सरकारको निर्णयपछि तत्कालका लागि पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरिएको परिषद्ले जनाएको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन लागेका छन् । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ ८ गते सोमबार विश्वासको मत लिन लागेका हुन् । त्यसअघि भदौ ७ गतेका लागि विश्वासको मत लिने तयारीअनुसार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको मुख्यमन्त्री थापाले विश्वासको मतका लागि भदौ ८ गतेका लागि तोकेका हुन् । मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेश सभा सचिवालयले भदौ ८ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । मुख्यमन्त्री थापाकाअनुसार गृह जिल्ला जाने कार्यक्रम तय भएको र अन्य दलहरूको सुझावअनुसार मिति सारिएको हो । आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मत सम्बन्धी प्रक्रिया टुंग्याउने र सोमबार मत विभाजनसहितको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको लागि भदौ ३ गते दाबी पेश गरेको थापा भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार सञ्चालन तथा बहुमत सिद्ध गर्न ५३ जना सांसदको समर्थन आवश्यकता पर्दछ । बिहिबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थापाले ६ जना मन्त्री नियुक्त गरेका थिए । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्लाई पूर्णता लिने उनको तयारी छ ।
छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज बनाउँछौँ : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुःखी भएको बताउँदै गृहमन्त्री गुरुङले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत एउटा घटनामा दोषीलाई सजाय दिलाउनु मात्रै सरकारको लक्ष्य नभएको बताएका छन् । 'हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन । हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो,' उनले भनेका छन् । गृहमन्त्री गुरुङले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै घटनाको अनुसन्धान अघि बढाइसकेको जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई तत्काल पक्राउ गरिएको छ भने अनुसन्धान जारी छ । घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारेका छन् । गृहमन्त्री गुरुङले जघन्य अपराध नियन्त्रणका लागि कानुनी तथा संस्थागत व्यवस्था थप बलियो बनाउँदै नागरिक, विशेषगरी बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
‘पीडितलाई न्याय देऊ, बलात्कारीलाई फाँसी देऊ’ भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन गरेको छ । संस्थाले शनिबार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने मागसमेत गरेका छन् । प्रदर्शनकारीले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी देऊ’, ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’ र ‘न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुर्नुपर्ने हो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको थियो । साउन ३१ गते घरबाट हराएकी उनी भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् । प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
७० करोडमा मदिरा उद्योग खोल्दै ओली, बैंकबाट ५६ करोड ऋण लिँदै
काठमाडौं । हिमालयन लिक्विर्स प्राइभेट लिमिटेडले बर्दियाको राजापुरमा मदिरा उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले राजापुरमा वार्षिक १ करोड लिटर मिश्रित मदिरा तथा १० हजार किलोलिटर स्पिरिट उत्पादन क्षमताको उद्योग स्थापना गर्न लागेको हो । कुल ७० करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजीबाट लगानी गर्ने प्रस्ताव गरिएको छ । सन् २०२६ को जुलाईसम्म प्रवद्र्धकले प्रतिबद्ध स्वपुँजीको करिब २५ प्रतिशत रकम लगानी गरिसकेको छ । परियोजनाका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५६ करोड रुपैयाँ ऋण लिने तयारी गरेको छ । कम्पनीका अनुसार परियोजना निर्माणको प्रारम्भिक चरणमा रहेको छ । जुलाई २०२६ सम्म जग्गा प्राप्तिको काम मात्र अघि बढेको छ भने परियोजनाको वित्तीय प्रगति करिब ६ प्रतिशत रहेको छ । हिमालयन लिक्विर्सका प्रवर्द्धक तथा अध्यक्ष यज्ञबहादुर ओली हुन् । उत्पादन तथा बजार व्यवस्थापन क्षेत्रमा लामो समयदेखि आवद्ध ओली ओलीसँग सम्बन्धित प्रमुख व्यवसायमध्ये देउती गुट्खा उद्योग पनि एक हो । करिब दुई दशकदेखि नेपालको पश्चिमी क्षेत्रमा गुट्खा तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्दै आएको उक्त उद्योगले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २८ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो । ओलीसँग सम्बन्धित अन्य व्यवसायमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स प्राइभेट लिमिटेड, राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड तथा देउती रियल इस्टेट प्राइभेट लिमिटेड रहेका छन् । कम्पनीको व्यवस्थापनमा समेत उत्पादन तथा व्यवसायिक क्षेत्रमा अनुभवी व्यक्तिहरू रहेको जनाइएको छ । हिमालयन लिक्विर्स उद्योग सञ्चालनमा आएपछि मिश्रित मदिरा तथा स्पिरिट उत्पादन गरिनेछ । बर्दियामा स्थापना हुने उद्योगले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै जिल्लाको औद्योगिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । उद्योगको स्थानलाई कच्चा पदार्थको उपलब्धता तथा ढुवानीका दृष्टिले रणनीतिक मानिएको छ । बर्दिया र कैलाली जिल्लाको नजिक रहेकाले आवश्यक कच्चा पदार्थको आपूर्ति तथा खरिद प्रक्रिया सहज हुने कम्पनीले अपेक्षा गरेको छ । साथै, नजिकै रहेका भारतीय बजारसम्मको पहुँचले कच्चा पदार्थको आपूर्ति व्यवस्थापनमा समेत सहयोग पुग्ने कम्पनीको भनाइ छ । प्रवद्र्धक समूहअन्तर्गतका अन्य कम्पनीसँगको सहकार्यबाट समेत हिमालयन लिक्विर्सले लाभ लिन सक्ने अपेक्षा गरिएको छ । विशेषगरी, समूहसँग सम्बन्धित राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्राइभेट लिमिटेडले मदिरा तथा रेक्टिफाइड स्पिरिट उत्पादनका लागि आवश्यक मोलासेसको प्रमुख आपूर्तिकर्ताका रूपमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्बन्धित कम्पनीबाट मोलासेस उपलब्ध हुने भएकाले कच्चा पदार्थको आपूर्ति शृङ्खलालाई भरपर्दो बनाउन तथा बाह्य आपूर्तिमा निर्भरता र खरिदसम्बन्धी अनिश्चितता घटाउन सहयोग पुग्ने देखिन्छ । यसले उद्योगको सञ्चालनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ । त्यसैगरी, प्रवद्र्धक समूहअन्तर्गतका अन्य व्यवसायको स्थापित बजार उपस्थिति तथा वितरण सञ्जालले हिमालयन लिक्विर्सलाई व्यावसायिक उत्पादन सुरु गरेपछि बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । समूहको विद्यमान बजार पहुँच र वितरण संरचनाको उपयोगबाट कम्पनीले प्रारम्भिक चरणमै उत्पादन बिक्री तथा बजार प्रवेशलाई गति दिन सक्ने देखिन्छ । तर, परियोजनाको प्रस्तावित लगानी संरचनामा ऋणको हिस्सा उच्च रहेकाले उद्योग सञ्चालनमा आएपछि कम्पनीको पुँजी संरचना ऋणमुखी हुने देखिन्छ । यसले विशेषगरी सञ्चालनको प्रारम्भिक वर्षमा ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढाउनेछ । उद्योग सञ्चालनमा आएपछि अनुमानित उत्पादन तथा कारोबारको स्तर हासिल गर्दै पर्याप्त नगद प्रवाह सिर्जना गर्न सक्नु कम्पनीका लागि महत्वपूर्ण हुनेछ । अपेक्षित उत्पादन तथा नगद प्रवाह हासिल गर्न नसकेमा ऋण भुक्तानी क्षमतामा दबाब पर्न सक्ने जोखिम रहेको छ । कम्पनीले उत्पादन प्रक्रियामा मुख्य रूपमा उखुको मोलासेस, स्पिरिट तथा चामल, मकै र गहुँजस्ता अन्नलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्नेछ । यी कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले उत्पादन लागतमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले कच्चा पदार्थको मूल्यवृद्धिले कम्पनीको नाफा तथा सञ्चालन आम्दानीमा दबाब पार्न सक्नेछ । यसैगरी, मदिरा उद्योग उच्च नियामकीय जोखिममा रहने भएकाले कम्पनीले उत्पादन, वितरण तथा बिक्रीसँग सम्बन्धित कडा कानुनी तथा नियामकीय व्यवस्था पालना गर्नुपर्नेछ । सरकारले अवैध मदिराको कारोबार नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणका लागि मदिरा उद्योगमा कडा निगरानी र नियन्त्रण गर्दै आएको छ । मदिरा उद्योग सञ्चालनका लागि इजाजतपत्रसम्बन्धी कडा व्यवस्था, अन्तःशुल्कमा हुने परिवर्तन तथा उत्पादनको गुणस्तर र कानुनी अनुपालनसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने हुन्छ । यस्ता व्यवस्थामा हुने परिवर्तनले कम्पनीको उत्पादन लागत, मूल्य निर्धारण तथा समग्र सञ्चालनमा प्रभाव पार्न सक्छ । कम्पनीले नियामकीय तथा कानुनी मापदण्ड पालना गर्न नसके आर्थिक जरिवाना, कानुनी कारबाही वा सञ्चालन अनुमति रद्द हुन सक्ने जोखिम रहन्छ । त्यसैले नियामकीय अनुपालन, परियोजना समयमै सम्पन्न गर्नु तथा उद्योग सञ्चालनपछि अपेक्षित उत्पादन र नगद प्रवाह हासिल गर्नु हिमालयन लिक्विर्सका लागि महत्वपूर्ण विषय हुने देखिन्छ ।
१२ घण्टा खाना नखाँदा तौल घट्छ ? जान्नुहोस् ओभरनाइट फास्टिङको फाइदा
काठमाडौं । तौल घटाउने कुरा आउनेबित्तिकै धेरै मानिसले उपवास बस्ने उपाय अपनाउने गर्छन् । कोही सातामा एक दिन उपवास बस्छन् भने कोही दैनिक १२ वा १६ घण्टासम्म खाना नखाई बस्छन् । पछिल्लो समय रातभर खाना नखाने अर्थात् ‘ओभरनाइट फास्टिङ’ गर्ने चलन पनि बढ्दै गएको छ । तर १२ घण्टा खाना नखाँदैमा तौल घट्छ त ? यसको जवाफ घट्न सक्छ, तर १२ घण्टाको उपवास मात्रै तौल घटाउने ग्यारेन्टी भने होइन । तौल घटाउन शरीरले खर्च गर्ने ऊर्जा र खानाबाट प्राप्त हुने ऊर्जाबीच सन्तुलन हुनु महत्वपूर्ण हुन्छ । १२ घण्टा उपवास गर्दा रातिको बिस्कुट, मिठाई, चिप्स, गुलियो पेय पदार्थ र अन्य खाजा खाने बानी घटाउन सकिन्छ । यसले कुल क्यालोरी कम गर्न मद्दत गर्छ । तर १२ घण्टा उपवास बसेपछि बाँकी समयमा आवश्यकताभन्दा धेरै खाना खाइयो भने तौल घट्न आवश्यक छैन । मेटाबोलिज्म अर्थात् शरीरले ऊर्जा प्रयोग गर्ने प्रक्रिया खाना नखाएको समयसँग मात्र सम्बन्धित हुँदैन । निद्रा, शारीरिक गतिविधि, उमेर, मांसपेशीको मात्रा, हर्मोन, कुल क्यालोरी र खानाको गुणस्तरले पनि मेटाबोलिज्ममा प्रभाव पार्छ । केही अध्ययनमा निश्चित समयभित्र मात्र खाना खाने विधिले शरीरको तौल, बडी मास इन्डेक्स (बीएमआई), शरीरमा रहेको बोसो, खाली पेटको रक्त ग्लुकोज र ट्राइग्लिसराइडमा सुधार देखिएको छ। तर सबै व्यक्तिमा यसको परिणाम समान हुन्छ भन्ने छैन । विभिन्न अध्ययनअनुसार अन्तरालमा उपवास बस्ने विधिले रक्तमा चिनीको मात्रा र तौल नियन्त्रणमा केही सहयोग गर्न सक्छ । विशेषगरी १६ घण्टा उपवास बसेर ८ घण्टाको समयमा खाना खाने विधिबारे पनि अध्ययन भएका छन् । तर यस्तो उपवास सबैका लागि उपयुक्त हुन्छ भन्ने छैन । व्यक्तिको स्वास्थ्य अवस्था र खानपानअनुसार यसको प्रभाव फरक हुन सक्छ । रातभरको उपवासमा साँझ छिटो खाना खाने र त्यसपछि बिहानसम्म खाना नखाने गरिन्छ । उदाहरणका लागि साँझ ७ बजे खाना खाएपछि बिहान ७ बजेसम्म खाना नखानुलाई १२ घण्टाको ओभरनाइट फास्टिङ भन्न सकिन्छ । यसको मुख्य फाइदा राति अनावश्यक खाने बानी कम गर्नु हो । राति ढिला खाना खानुभन्दा साँझ छिटो खाना खाँदा शरीरको प्राकृतिक जैविक घडीसँग पनि राम्रो तालमेल हुन सक्छ । यसले कसरी मद्दत गर्छ ? रातिको अतिरिक्त खाजा र क्यालोरी कम गर्न मद्दत गर्छ। खाना खाने समय व्यवस्थित बनाउन सक्छ। राति धेरै खाने बानी नियन्त्रण गर्न सहयोग गर्छ। स्वस्थ खानपान र सक्रिय जीवनशैलीसँग जोडिएमा तौल नियन्त्रणमा सहयोग पुग्न सक्छ। त्यसैले १२ घण्टाको ओभरनाइट फास्टिङलाई तौल घटाउने कुनै जादुमयी उपायका रूपमा लिनु हुँदैन । यसको मुख्य फाइदा रातिको अनावश्यक खाना कम गर्नु र खाना खाने समय व्यवस्थित गर्नु हो । तौल नियन्त्रणका लागि सन्तुलित खाना, नियमित शारीरिक गतिविधि र पर्याप्त निद्रासँगै उपवासलाई अपनाउनु बढी प्रभावकारी हुन सक्छ ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीका बारेमा प्रशासनलाई छैन जानकारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका लागि मुस्ताङ जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार काठमाडौंबाट मुस्ताङतर्फ गएका प्रधानमन्त्री शाह पोखरामा एक रात बसेर मुस्ताङ यात्रामा निस्केका हुन् । पोखराको अन्नपूर्ण रिसोर्टमा बसेर उनी मुस्ताङतर्फ निस्केका छन् । प्रधानमन्त्री शाह मुस्ताङ आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले बताए । 'प्रधानमन्त्री निजी भ्रमणका लागि मुस्ताङसम्म आउने खबर जानकारीमा आएको छ,' उनले भने,'चुस्त, दुरुस्त र जिल्लाबाट हुने पर्याप्त सुरक्षाको व्यवस्था गरिएको छ ।' प्रधानमन्त्री शाह कार्यक्रमको लागि नभइ निजी भ्रमणका लागि आएको भण्डारीले उल्लेख गरे । 'हामीलाई कहाँ बस्ने र के गर्ने भन्ने कुरा केही जानकारी आएको छैन,’ उनले अगाडि थपे,’ हामीलाई प्रारम्भिक जानकारीमा जोमसोमसम्म मात्र भन्ने छ ।' पारिवारिक र व्यक्तिगत भ्रमण भएकाले हामीलाई सबै जानकारी नआएको उनको भनाइ छ । 'जोमसोमसम्म आइसकेपछि मुक्तिनाथसम्म जानुहोला हाम्रो अनुमान छ,’ उनले भने,' कहाँ-कहाँ जाने भनेर औपचारिक रुपमा जानकारी आएको छैन ।' प्रधानमन्त्री शाहको निजी भ्रमणमा कति जनाको टिम रहेको त्यसको बारेमा जिल्ला प्रशासनमा केही खबर नगरिएको भण्डारीले विकासन्युजलाई प्रस्ट पारे । 'को-को छन र कति संख्यामा भ्रमण टोलीमा छन् त्यस बारेमा हामीलाई केही थाहा छैन,’ उनले अगाडि भने । प्रहरीको उच्च स्रोतका अनुसार जोमसोम र आसपासका सुरक्षा व्यवस्था कडा पारिएको छ। सबै सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीका एक उच्च अधिकारीले बताए ।