चलचित्रकर्मीहरूको श्रद्धाञ्जलीका लागि कर्रा हस्तान्तरण
काठमाडौं । चलचित्रकर्मीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् । कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटलाई पाशुपत क्षेत्रमै कलाकार सविन श्रेष्ठ र अनु शाहले सामग्री हस्तान्तरण गरेका हुन् । महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रामा सम्मानजनक र व्यवस्थित ढंगले श्रद्धाञ्जली अर्पण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने तितो यथार्थले आफूलाई दुःखी बनाउने गरेको बताए । सोही अनुभूतिपछि आफू यस कार्यमा अग्रसर भएको उनले उल्लेख गरे । उनले यो सामग्री चलचित्रकर्मी, पत्रकार लगायत आवश्यक परेका अन्य व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने जानकारी दिए । जन्म र मृत्यु अन्तिम सत्य रहेको उल्लेख गर्दै अभिनेत्री अनु शाहले चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जलीका लागि आवश्यक व्यवस्थापन हुने यस सामाजिक कार्यमा आफू जोडिन पाउँदा खुशी लागेको बताइन् । पशुपति विकास क्षेत्र कोषका अधिकृत सूर्य भाटले कलाकार सविन श्रेष्ठबाट भएको यस सामाजिक कार्यले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार पारिएको जानकारी दिए ।
भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए
काठमाडौं । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीहरूले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् । जर्मन उद्योग तथा वाणिज्य मण्डलद्वारा शुक्रबार सार्वजनिक गरिएको एक विस्तृत सर्वेक्षणअनुसार अमेरिकामा व्यवसाय गरिरहेका दुईतिहाइभन्दा बढी जर्मन कम्पनीहरूले अमेरिकी भन्सार नीतिका कारण उत्पन्न अतिरिक्त खर्च ग्राहकबाटै असुल गर्न मूल्य बढाउने रणनीति अपनाएका हुन् । उक्त सर्वेक्षणमा विश्वभर सञ्चालनमा रहेका चार हजार ५०० भन्दा बढी जर्मन कम्पनी सहभागी थिए । सर्वेक्षणले अमेरिकी व्यापार नीति, भन्सार शुल्क तथा नीतिगत अनिश्चितता अझै पनि विदेशी कम्पनीहरूका लागि प्रमुख व्यावसायिक चुनौती बनेको देखाएको छ । प्रतिवेदनअनुसार गत वर्ष अमेरिकाले लागू गरेको नयाँ भन्सार शुल्कपछि कम्पनीहरूमा सुरुमा ठूलो अन्योल र दबाब सिर्जना भएको थियो । तर पछिल्लो समय व्यवसायिक वातावरणमा केही सुधार देखिएको छ । अमेरिकामा रहेका ४३ प्रतिशत जर्मन कम्पनीहरूले हालको व्यवसायिक अवस्था राम्रो रहेको बताएका छन् । यो संख्या सन् २०२५ को शरद ऋतुमा ३९ प्रतिशत मात्र थियो । यद्यपि, जर्मन उद्योग तथा वाणिज्य मण्डलले अहिलेको सुधारलाई पूर्ण रूपमा सकारात्मक भन्न नमिल्ने जनाएको छ । संस्थाका अनुसार हालको व्यापारिक अवस्था अझै पनि दीर्घकालीन औसतभन्दा कमजोर रहेको छ, जसले अमेरिकी बजारप्रति कम्पनीहरूको सतर्कता कायम रहेको संकेत गर्छ । सर्वेक्षणले अमेरिकी अर्थतन्त्रप्रति पनि जर्मन कम्पनीहरू पूर्ण रूपमा आशावादी नरहेको देखाएको छ । करिब ३० प्रतिशत कम्पनीहरूले आगामी एक वर्षमा अमेरिकी आर्थिक अवस्था अझ बिग्रिने अनुमान गरेका छन् । त्यसको विपरीत केवल २४ प्रतिशत कम्पनीहरूले मात्र आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेका छन् । विशेषज्ञहरूका अनुसार भन्सार शुल्कको दीर्घकालीन असर अन्ततः उपभोक्तामाथि नै पर्ने भएकाले वस्तु तथा सेवाको मूल्य वृद्धि अमेरिकी बजारमा महँगी बढाउने प्रमुख कारण बन्न सक्छ । रासस
एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शनिबारका लागि तय गरिएको केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक अब जेठ ४ गते दिउँसो १ बजे बस्ने गरी सारिएको हो । यसअघि आज बस्ने तय भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामकारबाही, पार्टीको आन्तरिक व्यवस्थापन तथा आगामी कार्यक्रमबारे छलफल हुने तयारी गरिएको थियो । बैठक स्थगित हुनुको कारण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । एमाले सचिवालय बैठकलाई पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रका रणनीतिक विषयका कारण महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव मनाइयो, डिजिटल रूपान्तरणमा जोड
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव शुक्रबार ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास र पहुँच विस्तारका लागि नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले बीमितको हित सुरक्षा, समयमै दाबी भुक्तानी तथा गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राखिन् । अध्यक्ष पौडेलका अनुसार आगामी दिनमा प्राधिकरणले नीतिगत कमजोरीहरू सुधार गर्दै बीमितको हित संरक्षण, बीमक संस्थाहरूको सुदृढीकरण, जोखिममा आधारित निरीक्षण प्रणाली, सुशासन प्रवर्द्धन तथा डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाउनेछ । उनले बीमित, बीमक तथा सम्बन्धित निकायबीचको सहकार्यले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सरोकारवालाहरूको सुझावका आधारमा नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल र जोखिम सचेत बनाउँदै आर्थिक विकासको सहयात्रीका रूपमा अगाडि बढाउने लक्ष्य रहेको बताए । उनले नियमन र निरीक्षणलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिमा प्राधिकरणले उल्लेखनीय प्रगति हासिल गरेको बताए । कार्यक्रममा विभिन्न बीमा सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस अवसरमा प्राधिकरणमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै, वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेताहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्राधिकरणका पदाधिकारी, बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपनिर्देशक श्रद्धा श्रेष्ठले गरेकी थिइन् ।
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
काठमाडौं । नबिल बैंक लिमिटेडले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो । समझदारी पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ । एनबैंकका प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । 'ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,' बैंकका नायब प्रमुख बजगाईंले भने, 'एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं ।' उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारीत सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवाहरुलाई निरन्तर सुधार गर्दै सेवाग्राहीहरुलाई एकिकृत प्लेटफर्ममार्फत वित्तिय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ।
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ । परियोजनाअन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ । बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो । विसं २०६६ मा स्थापना भएको उक्त लघु जलविद्युत् आयोजनाको विद्युत् खपत नभई खेर गइरहेको अवस्थामा त्यसैलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो ।तीन वर्षदेखि सात वटा साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ । एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो । नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो । आवश्यकताअनुसार उक्त ग्यास चुलोमा प्रयोग गर्न सकिने उनले बताए । नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एसएण्डएओ कम्पनी लिमिटेड युके र एचएसएलयु स्विटजरल्याण्ड साझेदार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौं, बडिगाड गाउँपालिका र गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाकोे सहकार्यमा विभिन्न देशका वैज्ञानिक तथा प्राविधिकहरुको सहयोगमा खाना पकाउनका लागि हाइड्रोजन ग्यास उत्पादन गरिएको हो । उत्पादन गरिएको हाइड्रोजन ग्यासबाट चुलो बालेर शुक्रबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले परियोजनाको उद्घाटन गरेका थिए । मन्त्री शेरचनले हरित हाइड्रोजनले वातावरण संरक्षण, विद्युत् खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावना बढाउने भएकाले यस्ता परियोजनालाई राज्यले नीतिगत रूपमा अघि बढाउनुपर्ने बताए । नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार उत्पादन गरिएको ग्यास सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । उनले एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने उनको भनाइ छ । गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीको ७५ किलोवाट क्षमताको आयोजनाको पुनर्निर्माण, भवन तथा कुलो मर्मतदेखि ग्यास उत्पादनसम्म आइपुग्दा अध्ययनबाहेक करिब एक करोड खर्च भइसकेको घिमिरेले बताए । गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीका अध्यक्ष बेलबहादुर थापाले खेर गइरहेको विद्युत्लाई उपयोग गरी उपभोक्ताका लागि खाना पकाउने इन्धन उत्पादन गरिएको बताउँदै अब नागरिकको पहुँचभित्र पर्ने सुरक्षित सिलिण्डर विकास र विस्तारका विषयमा अध्ययन गरिने जानकारी दिए । स्थानीय विष्णु अर्यालले हाइड्रोजन इन्धनबाट पकाएको खाना स्वादिलो हुनुका साथै खाना छिटो पाक्ने अनुभव सुनाए । रासस
डल्ले च्याउ किलोको १५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, गोलभेँडा साना (टनेल) रु ८५, आलु रातो (लाम्चो) प्रतिकिलो रु २७, आलु रातो (गोलो) प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५५, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६५ र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १४०, तीते करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिन्डो प्रतिकिलो रु ५०, घिरौँला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १२०, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु १३८, मेथीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, निगुरो प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु २८०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १२०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३२०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ४०, रुखकटहर प्रतिकिलो रु ७० नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, नरिवल (हरियो) प्रतिकिलो रु १६०, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु ५००, भेडेखुर्सानी प्रतिकिलो रु ६०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २८० निर्धारण गरिएको छ ।
अनियमितता भेटिएपछि ३ व्यवसायीलाई कारबाही, ७५ हजारसम्म जरिवाना
काठमाडौं । मूल्य पारदर्शिता सप्ताह अन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका होटल तथा क्यान्टिनहरूको आकस्मिक अनुगमन गरेको छ । अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार अनियमितता भेटिएपछि तीन व्यवसायीलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका निमित्त प्रमुख आशुतोष कुशवाहाका अनुसार वीरगञ्ज महानगरपालिका-११ मा सञ्चालित तराई क्यान्टिनका सञ्चालक दीपक शाहले उपभोक्ता संरक्षण ऐनको दफा १५ विपरीत कार्य गरेको पाइएकाले दफा ३८ (ट) अनुसार कसुर ठहर गर्दै दफा ३९ (१) (घ) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, वीरगञ्ज-१३ मा सञ्चालित ज्योति मगर होटलका सञ्चालक शेखर मगरले पनि ऐनको दफा १५ विपरीत कार्य गरेको पाइएकाले दफा ३९ (१) (क) अनुसार २० हजार रुपैयाँ जरिवाना गरिएको छ । सोही वडामा रहेको चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि सोही ऐनअन्तर्गत कारबाही गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा वीरगञ्ज-१३ मा सञ्चालित अनु देवीको व्यवसायमा केही सुधार आवश्यक देखिएकाले सामान्य निर्देशन दिइएको छ । जिल्ला अनुगमन समितिले उपभोक्ताको हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।