काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।
कम्पनीले आफ्नो १४औँ वार्षिक साधारणसभाबाट पारित निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । सोहीअनुसार आयोगले कम्पनीलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको हो ।
कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेको आधारमा शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो ।
आयोगले तोकेको सर्तअनुसार हकप्रद सेयरबाट संकलन हुने रकम मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको सिसुवाखोला जलविद्युत् आयोजनामा स्वपुँजी लगानीका लागि प्रयोग गरिनेछ ।
यस्तै, बाँकी रकम अपर हेवाखोला साना जलविद्युत् आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको आवधिक कर्जा भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
संखुवासभामा रहेको अपर हेवाखोला जलविद्युत् आयोजनाको क्षमता ८.५ मेगावाट छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
अब नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्र कम्पनीले लगानीकर्ताका लागि हकप्रद सेयर निष्कासन खुला गर्नेछ ।