आजदेखि नाडा अटो शोः ईभी, रोबोटदेखि मेड इन नेपालसम्मको प्रदर्शन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज मंगलबारदेखि १८औँ नाडा अटो शो २०२६ सुरु हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शो ‘स्वर्ण जयन्ती विशेष संस्करण’का रूपमा आयोजना हुँदैछ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि, विद्युतीय तथा हाइब्रिड सवारीसाधन र रोबोट मुख्य आकर्षणका रूपमा रहनेछन् । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै आएको बताए । उनका अनुसार यस वर्षको अटो शो सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ । नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना हुन लागेको प्रदर्शनी करिब ३ लाख वर्गफिट क्षेत्रफलमा फैलिनेछ । मेलामा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ३० ब्रान्डका दुईपाङ्ग्रे सवारी तथा १० वित्तीय एवं बीमा कम्पनी सहभागी हुनेछन् । त्यस्तै, पार्टपुर्जा, टायर र ब्याट्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ । यस वर्षको अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिनेछ । करिब ८ नेपाली उत्पादक सहभागी हुने उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन गरिने जनाइएको छ । नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् भने निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशभर करिब २ हजार चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । नाडाका अनुसार नेपालमा विद्युतीय सवारीको विस्तार चार्जिङ पूर्वाधारको विकासभन्दा तीव्र गतिमा भइरहेको छ । यही विषयलाई केन्द्रमा राख्दै अटो शोमा सवारीसाधन, चार्जिङ प्रविधि र वित्तीय सेवासम्बन्धी कम्पनीलाई एउटै स्थानमा ल्याएर छलफल गरिनेछ । अटो शोमा विभिन्न मूल्य र वर्गका विद्युतीय तथा हाइब्रिड सवारीसाधन प्रदर्शन गरिनेछन् । बीवाईडी, लीपमोटर, जिली, एमजी र वुलिङलगायत ब्रान्डका विद्युतीय सवारी प्रदर्शनीमा रहनेछन् । दुईपाङ्ग्रेतर्फ रिभोल्टका साथै नेपालमै डिजाइन तथा एसेम्बल हुने यात्रीका विद्युतीय मोटरसाइकल पनि सहभागी हुनेछन् । चार्जिङ पूर्वाधारतर्फ जीआई चार्जर आधिकारिक चार्जिङ पार्टनरका रूपमा रहनेछ । एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन् । अटो शोको अर्को प्रमुख आकर्षण अत्याधुनिक रोबोट रहनेछन् । प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ । यी रोबोटमार्फत अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको विकासबारे दर्शकलाई जानकारी दिइनेछ । नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गरिने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुनेछ । यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ । दर्शकले टिकटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि नेपाल पुलिस क्लब र नेसनल ट्रेडिङको परिसरमा पार्किङको व्यवस्था गरिनेछ । पार्किङस्थलबाट प्रदर्शनीस्थलसम्म आउजाउ गर्न सटल बस सेवासमेत सञ्चालन गरिनेछ ।
काठमाडौं महानगरद्वारा ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सर्वाङ्गीण विकासका लागि आवश्यक नीतिगत तथा कार्यमूलक अनुसन्धान गर्न ‘मेयर्स रिसर्च फेलोसिप २०८३’का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक नेपाली अनुसन्धानकर्ताबाट अनुसन्धान प्रस्ताव माग गरेको हो । फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पु¥याउनुका साथै नीतिगत अनुसन्धान र सहरी विकाससँग सम्बन्धित आयोजनाको पहिचान तथा कार्यमूलक अनुसन्धानलाई प्रोत्साहन गर्नु रहेको महानगरले जनाएको छ । महानगरका अनुसार सहरका विविध आयामसँग सम्बन्धित विषयमा ठोस र व्यावहारिक अनुसन्धानमार्फत विकास प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सूचनाअनुसार, तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेस गर्नुपर्नेछ । आवेदनका लागि आवश्यक योग्यता, प्रस्तावको ढाँचा, छनोट प्रक्रिया तथा अन्य विस्तृत सर्तहरू महानगरपालिकाको वेबसाइटमा प्रकाशित ‘कल फर एक्सप्रेसन अफ इन्ट्रेस्ट’मा उल्लेख गरिएको महानगरले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी र कोशी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही तथा मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । उनले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि सदनमा पेस गर्ने छिन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैबीच, बिहान १०ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यात्री पी-२ स्कुटर एकै पटकको चार्जमा १५७ किलोमिटरसम्म गुड्ने
काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ औपचारिक रूपमा सार्वजनिक भएको छ । नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको यो स्कुटरलाई सिप्रदी यात्रीले विभिन्न ब्याट्री क्षमताका विकल्पसहित बजारमा ल्याएको हो । ग्राहकको आवश्यकता अनुसार पी-२ लाई ५.२ किलोवाट घण्टा, ३.७ किलोवाट घण्टा र ३ किलोवाट घण्टा गरी तीन फरक ब्याट्री मोडलमा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ५.२ किलोवाट ब्याट्री भएको मोडलले एक पटकको पूर्ण चार्जमा १५७ किलोमिटरसम्मको दूरी तय गर्छ । त्यस्तै, ३.७ किलोवाट घण्टाको मोडलले ११२ किलोमिटर र ३ किलोवाट घण्टा क्षमताको ब्याट्रीले ९० किलोमिटरसम्मको दूरी तय गर्ने दाबी गरिएको छ । यस स्कुटरमा ३.३ किलोवाट क्षमताको द्रुत (डीसी) चार्जिङ सुविधा समेत रहेको छ । लामो दूरीको यात्रालाई सहज बनाउन सिप्रदी यात्रीले देशभर ३५ भन्दा बढी स्थानमा यस्ता द्रुत चार्जिङ केन्द्र स्थापना गर्ने योजना बनाएको छ । आधुनिक प्रविधिलाई प्राथमिकता दिइएको पी-२ मा एन्ड्रोइड अटो, एप्पल कारप्ले, वास्तविक समयको ऊर्जा मापक (रियल टाइम इनर्जी मिटर) र आधुनिक सुचना पाटी (स्मार्ट डिस्प्ले) समावेश गरिएका छन् । नेपालका तराईदेखि पहाडी तथा कठिन सडकहरू (जिरी, काठमाडौं, मुलकोट, कटारी, भरतपुर, वालिङ आदि) मा व्यापक परीक्षणपश्चात् मात्र यसलाई बजारमा उतारिएको हो । नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादनलाई व्यावसायिक रूप दिन सिप्रदी यात्रीले उत्पादन केन्द्रमा करिब ६० करोड रुपैयाँ लगानी गर्ने र वार्षिक ५० हजार थानसम्म स्कुटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।
जेनजी शहीद परिवार र घाइतेका माग कार्यान्वयन गर्न समर्पित संयन्त्र गठन गरिने
काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र ( डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ । गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो । छलफलमा ८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट ८२ मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता र ८३ असार १८ गते स्वीकृत २४ बुँदे प्रस्तावको कार्यान्वयनबारे छलफल भएको थियो । माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा रहेको सहजीकरण समितिलाई जेनजीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने समर्पित संयन्त्रका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ । साथै, शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई सिंहदरबार प्रवेशमा आवश्यक सहजीकरण गर्ने निर्णयसमेत भएको छ । छलफलमा जेनजी परिषद् घोषणा, जेनजी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेनजीको शालिक निर्माण तथा जेनजी पार्क निर्माण लगायतका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ । उक्त विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै जाने विषयमा छलफलमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता भएको छ । जेनजीका मागहरू शीघ्र सम्बोधन गर्न सबै जनप्रतिनिधि तथा सम्बन्धित निकायहरू समान बुझाइका साथ समन्वयात्मक र एकीकृत ढङ्गले क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
नेपालमै डिजाइन र निर्माण भएको इलेक्ट्रिक स्कुटर यात्री पी-२ को अर्थमन्त्री डा. वाग्लेले गरे अनावरण
काठमाडौं । नेपाली इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी यात्री र साझेदार सिप्रदीले आफ्नो नयाँ उत्पादन यात्री पी २ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेका छन् । सोमबार आयोजित समारोहका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त स्कुटरको अनावरण गरे । नेपालमै पूर्ण रूपमा डिजाइन, इन्जिनियरिङ र निर्माण गरिएको यो स्कुटर यात्री अटोमोबाइल्सको दोस्रो ठूलो उत्पादन हो । यसअघि कम्पनीले यात्री पी १ मोटरसाइकल बजारमा ल्याइसकेको छ । कार्यक्रममा यात्रीका संस्थापक असीम पाण्डे, सिप्रदी ट्रेडिङका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । स्कुटरको अनावरण गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपालमा केही हुँदैन भन्ने नकारात्मक सोचेलाई यात्री पी-२ ले कडा जवाफ दिएको बताए । उनले भने, ‘हामीले एप्पलको फोनमा डिजाइन्ड इन क्यालिफोर्निया लेखेको देखेका छौं, अब यात्रीको माध्यमबाट डिजाइन इन बुढानीलकण्ठ भन्न पाउँदा निकै गर्व लागेको छ । यसले नेपालीहरूको राष्ट्रिय आत्मविश्वास बढाएको छ ।’ ‘नेपालमा सबै कुरा खतम छ भन्ने भाष्यबाट अब हामी बबालतिर गएका छौं । यो स्कुटरले नेपालको इलेक्ट्रिक मोबिलिटीमा एउटा नयाँ मानक सेट गर्नेछ,’ उनले थपे । नेपाली भूगोल सुहाउँदो इन्जिनियरिङ यात्री पी २ लाई विशेष गरी नेपालको उकालो-ओरालो र कच्ची बाटोलाई ध्यानमा राखेर इन्जिनियरिङ गरिएको कम्पनीले जनाएको छ । यसलाई शिवपुरी-नागार्जुन क्षेत्रको करिब ६०० मिटर उचाइको टेरेनमा परीक्षण गरिएको छ । यो स्कुटर बुढानीलकण्ठस्थित स्टुडियोमा डिजाइन गरिएको हो भने धादिङको गजुरीमा यसको उत्पादन प्लान्ट रहेको छ । सिप्रदीको साथ र व्यावसायिक भविष्य नेपालको प्रतिष्ठित कम्पनी सिप्रदी ट्रेडिङले यात्रीसँग सहकार्य गरेको छ । नेपालकै ठूलो करदातामध्येको एक सिप्रदीले यात्री जस्तो युवा इन्जिनियरहरूको स्टार्टअपलाई साथ दिनुले यसको व्यावसायिक भविष्य थप सुनिश्चित भएको डा. वाग्लेले उल्लेख गरे । कार्यक्रममा यात्री अटोमोबाइल्स संस्थापक असीम पाण्डेले स्कुटरको प्राविधिक पक्ष र इन्जिनियरिङबारे जानकारी गराएका थिए । यात्री पी २ ले सहरी यात्रालाई सहज, किफायती र वातावरणमैत्री बनाउने विश्वास कम्पनीको छ । यसको मूल्य नाडा अटो शोमा सार्वजनिक हुनेछ ।
यात्री पी-२ केवल स्कुटर मात्र होइन, नेपाली सिर्जना र आत्मविश्वासको प्रतीक हो: सीईओ श्रेष्ठ
काठमाडौं । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालमा डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ नेपाली सिर्जना, नवप्रवर्तन र आत्मविश्वासको प्रतीक भएको बताएका छन् । यात्री पी-२ को अनावरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले पी-२ एउटा विद्युतीय स्कुटरमा मात्र सीमित नरहेको बताए । उनका अनुसार यो नेपाली इन्जिनियरिङ क्षमता, प्रविधि र आफ्नै उत्पादन विकास गर्न सक्ने आत्मविश्वासको उत्कृष्ट उदाहरण हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रेष्ठले नेपालीले पनि अत्याधुनिक प्रविधिमा आधारित उत्पादन सिर्जना गर्न सक्छन् भन्ने विश्वास पी-२ ले बलियो बनाएको बताए । उनले भने, ‘यात्री पी-२’ एउटा नयाँ विद्युतीय स्कुटर मात्र होइन, यो विश्वासको प्रतीक हो । नेपालीले पनि अत्याधुनिक प्रविधिमा आधारित उत्पादन सिर्जना गर्न सक्छन् भन्ने कुराको यो बलियो उदाहरण हो ।’ श्रेष्ठले सिप्रदी ट्रेडिङको ४४ वर्षभन्दा लामो यात्राको चर्चा गर्दै नेपालको अटोमोबाइल तथा गतिशीलता क्षेत्रमा विश्वस्तरीय प्रविधि भित्र्याउन, रोजगारी सिर्जना गर्न र पूर्वाधार विकासमा संस्थाले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । यात्रीसँगको सहकार्य सवारी साधन बिक्रीमा मात्र सीमित नरहेको उनको भनाइ छ । नेपाली उत्पादन र प्रविधिमा आधारित आफ्नै औद्योगिक पारिस्थितिक प्रणाली निर्माण गर्ने दीर्घकालीन उद्देश्यका साथ सहकार्य अघि बढाइएको उनले बताए । नेपाल प्रविधिको उपभोक्ताबाट सिर्जनाकर्ता बन्नुपर्नेमा जोड दिँदै श्रेष्ठले त्यसका लागि आफ्नै क्षमतामाथि विश्वास गर्नुपर्ने बताए । यात्री पी-२ को निर्माणले नेपाली युवा इन्जिनियर तथा उद्यमीहरूमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको प्रमाणित गरेको उनको दाबी छ । श्रेष्ठले नेपाली उत्पादनमूलक उद्योगलाई सरकारले रणनीतिक राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनलाई प्रोत्साहन, अनुसन्धान तथा विकासमा सहयोग र स्थानीय उद्यमीका लागि अनुमानयोग्य तथा समान अवसरको वातावरण सिर्जना गर्ने नीति आवश्यक रहेको उनले बताए। नेपाली उत्पादन सफल हुँदा त्यसको लाभ व्यवसायमा मात्र सीमित नहुने श्रेष्ठको भनाइ छ । यसले रोजगारी सिर्जना, सीप विकास तथा स्थानीय आपूर्ति शृङ्खला सुदृढीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उनले बताए । श्रेष्ठले सिप्रदी र यात्रीबीचको सहकार्य पी-२ स्कुटरमा मात्र सीमित नरहेको बताए । यसलाई विद्युतीय गतिशीलताका क्षेत्रमा दीर्घकालीन प्लेटफर्म निर्माण गर्ने दिशामा अघि बढाइएको उनको भनाइ छ। भविष्यमा नेपाली प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सम्भावना रहेको उल्लेख गर्दै उनले पी-२ त्यसतर्फको सुरुवात मात्र भएको बताए । उनले नेपालको भविष्य आफूले के भित्र्याउँछौं भन्नेमा मात्र नभई आफूले के निर्माण गर्न सक्छौं र विश्वलाई के दिन सक्छौं भन्नेमा निर्भर रहेको बताए । ‘आज हामीले स्कुटरसँगै नेपालप्रतिको एउटा अटल विश्वासको पनि अनावरण गरेका छौं,’ श्रेष्ठले भने ।