काठमाडौं । नेकपा एमालेले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ । एमालेले बाढीका कारण जोखिममा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावितको पुनर्स्थापना प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेको छ ।
एमाले सचिवालयको आकस्मिक बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा बाढीमा फसेकाहरूको तत्काल उद्धार, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावितलाई शीघ्र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको हो ।
एमालेले विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिको यथार्थ विवरण तत्काल संकलन गर्न सरकारका सबै विपद् व्यवस्थापन संयन्त्र परिचालन गर्न माग गरेको छ । साथै, तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेको छ ।
‘मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन गर्न विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरू अविलम्ब परिचालन गर्न र तत्कालीन र दीर्घकालीन राहतको प्याकेज घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
एमालेले विपद्को कठिन परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ । जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ–संस्था तथा आमनागरिकलाई उद्धार तथा राहतमा एकताबद्ध भएर जुट्न पनि पार्टीले अपिल गरेको छ ।
पार्टीले आफ्ना नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल पुगेर खोजी, उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरी मानवीय सहायता अभियानलाई प्रभावकारी बनाउनसमेत एमालेले आग्रह गरेको छ ।
एमालेले सरकारले कुनै पनि बहानामा उद्धार तथा राहतमा ढिलाइ गर्न नहुने जनाएको छ । प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, औषधि तथा अन्य राहत सामग्री तत्काल पुर्याउन र उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गरेको छ ।