काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
बाढीसँगै माथिल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका ड्यामसमेत फुट्दा क्षति थप भयावह बनेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
उत्तरगया गाउँपालिकाका प्रवक्ता टुकु प्रसाद सुवेदीका अनुसार बाढी आउँदा स्थानीयवासीलाई पूर्वसूचना दिइए पनि बाढीको वास्तविक आकार र तीव्रताको अनुमान गर्न नसक्दा ठूलो क्षति भएको हो ।
‘त्यतिबेला यहाँ घाम लागिरहेको थियो । माथिबाट बाढी आउँदैछ भन्ने खबर आयो । हामीले सबैलाई खबर गर्यौं, तर यति ठूलो बाढी आउँछ भन्ने अनुमान थिएन,’ सुवेदीले भने, ‘बाढीसँगै वरपर रहेका हाइड्रोपावरका ड्याम फुटेपछि खोलाकिनारका मानिसले भाग्ने ठाउँसमेत पाएनन् । उनीहरूलाई खोलाले बगायो ।’
उनका अनुसार उत्तरगया गाउँपालिकाका पाँच वडा बाढीबाट अत्यधिक प्रभावित भएका छन् ।
एक वडाको एउटा गाउँमा मात्रै १८ जना बेपत्ता भएको विवरण प्राप्त भएको उनले बताए ।
‘एउटा गाउँमा मात्रै १८ जना बेपत्ता भएको पाइएको छ । उद्धारका लागि रेडक्रस र नेपाली सेना खटिनुभएको छ,’ उनले भने, ‘पुलहरू सबै बगाएका छन् । फोनसमेत लागिरहेको छैन । त्यसैले थप कति मानिस प्रभावित भए भन्ने यकिन गर्न सकिएको छैन ।’
बाढीले सडक, पुल तथा सञ्चार संरचनामा समेत ठूलो क्षति पुर्याएकाले प्रभावित क्षेत्रमा उद्धार र क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार रसुवाको माथिल्लो क्षेत्रमा रहेको ठूलो पानीको ड्याम अझै पूर्ण रूपमा नखुलेको जनाएको छ ।
ड्याम पूर्ण रूपमा नखुलेका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम कायमै रहेको विभागले जनाएको छ ।
विभागले अर्को सूचना जारी नभएसम्म तटीय क्षेत्रका बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई उच्च सतर्कता अपनाउन तथा नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।