विकासन्युज

पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न फ्लाइ दुबई इच्छुक

काठमाडौं । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताएको महानगर प्रमुख आचार्यले जानकारी दिए । उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गरेका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए । विमानस्थलहरूको अन्तर्राष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिहरूको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएको समेत बताए ।  सो क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण रहने भएकाले सो का लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गरे । नेपाल सरकारसँग आफूले पटकपटक संवाद गरेको र विशेष समयमा अन्तर्राष्ट्रिय चार्टर उडानहरू सञ्चालन भइरहेकाले विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम रहेको उनले उल्लेख गरे । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा विभिन्न समयमा भएका चार्टर उडानबाट प्रमाणित भइसकेको छ । पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नका लागि समेत अन्तर्राष्ट्रिय उडानहरू आवश्यक छ । त्यसतर्फ हामीले जोड दिएका छौँ । आजको भेटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ,’ प्रमुख आचार्यले भने ।  भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी थिए । मित्रराष्ट्र चीनको सहयोगमा २२ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएर वि.सं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदै आएको छ ।

अवैध जडीबुटी बेच्दै पक्राउ परेका ५ जनालाई २ लाख जरिवाना

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध जडिबुटीसहित पक्राउ परेका ५ जनालाई २ लाख रूपैयाँ जरिवाना गराएर छाडेको छ । भोजपुर नगरपालिका-९, पानीट्याङ्कीबाट अवैध जडिबुटीसहित आइतबार पक्राउ परेका उनीहरुलाई मङ्गलबार जरिवाना गराएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।  पक्राउ पर्नेमा सिमरा नगरपालिका-१८ का २१ वर्षीय सन्तोषकुमार नट, सर्लाहीको इश्वरपुर नगरपालिका-५ का २० वर्षीय रबि किसन नट, सोही ठाउँका २२ वर्षीय सुरेन्द्र नट, ३३ वर्षीय अजय कुमार नट र सिरहा कर्जना नगरपालिका-५ का ३० वर्षीय जितेन्द्र कुमार राठोर रहेको प्रहरी प्रमुख लामाले बताए । स्थानीयवासीलाई अवैध जडीबुटी बेच्दै गरेको अवस्थामा संलग्नहरुलाई पक्राउ गरी कानुनी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएकामा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम एकमुस्ट २ लाख रूपैयाँ जरिवाना हुने गरी कारबाही गरिएको छ । पक्राउ परेकाहरूले तोकिएको जरिवाना रकम जम्मा गरेकाले आज छोडिएको प्रहरी प्रमुख लामाले बताए । 

देशका अधिकांश भागमा सामान्य बदली, तराई क्षेत्रमा तातो दिन हुने

काठमाडौं । आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  यसैगरी देशको हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ ।  आज राति देशको हिमाली भू-भागमा साधारणतया, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

करिब ५ अर्ब बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिका  सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन् ।     कामपा सहकारी विभागका अनुसार पछिल्लो समय कामपामा बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको छ । कामपा सहकारी विकागका प्रमुख धु्रव काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको आधारमा भनिएको हो ।   प्रमुख काफ्लेका अनुसार, यसरी माग दाबी गर्ने बचतकर्ताहरूमा रु एक लाख देखि पाँच लाखसम्मको रकम रहेका बढी छन् । उक्त रकम फिर्ताका लागि छ हजार ३०० बचत कर्ताले उजुरी दिएको प्रमुख काफ्लेले जानकारी दिए ।  निवेदनका आधारमा उनले भने, ‘यसरी उजुरी दिनेमा  दैनिक ५०० देखि एक हजारसम्म गर्ने अर्थात साना रकम जम्मा गर्ने बचतकर्ताहरूको सङ्ख्या बढी रहेको छ ।’  कामपाका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको सङ्ख्या ७८ प्रतिशत रहेको छ । उजुरीकै आधारमा कामपाले गत सोमबार र मङ्गलबार गरी बुद्ध दर्शन सेभङि एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कामपा-६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले उक्त दिन रु एक लाख ५० हजारसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरूलाई बचत रकम फिर्ता गरेको हो । सहकारीले आगामी १ महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ ।  कामपाले ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरूलाई ताकेता गर्ने र बचतकर्ताको बचत रकम फिर्ता गर्दै कार्य अघि बढाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको कामपा सहकारी विभागको भनाइ छ ।  विभागका प्रमुख  काफ्लेले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भन्छन्, ‘माग दाबीसहितको निवेदन लिन्छौं। संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बीच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौं ।’ वडास्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्छ । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका सिफारिस गरिन्छ । 

चोरीको ५ वटा मोटरसाइकलसहित ३ पक्राउ

काठमाडौं । प्रहरीले चोरीका ५ वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट, राजदेवी नगरपालिका घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने २६ वर्षीय दिनेश कुसुहवा, मकवानपुर, बागमती गाउँपालिका-३ घर भइ हाल काठमाडौंको सिफल बस्ने २० वर्षीय नवराज माझी तथा  गोरखा, गण्डकी गाउँपालिका-५ घर भइ हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ्ङ बस्ने २२  वर्षीय अमृत पुर्जा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।  उनले भने, ‘बा ७५ प ६८२४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, बा ७६ प १५०२ नम्बरको स्कुटर, बागमती प्रदेश ०२-०६३ प १६४१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, लु ४६ प ५०५२ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल, बाग्मती प्रदेश ०२-०६२ प ३३८४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो ।’ पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालेनको शैलीमा गोपी हमाल, अतिक्रमित जग्गामा डोजर लगाउने

काठमाडौं । धनगढी उप-महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरू सात दिनभित्र आफैं हटाउन निर्देशन दिएको छ । उप-महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।  सूचना अनुसार धनगढी उप-महानगरपालिका वडा नं. १८ डिपो बजारमा पर्ने साबिक जिल्ला कैलाली, फुलवारी वडा नं. ५, सिट नं. ०२७-१०५७ को कित्ता नम्बर १०१, १०२, १०३ र ५५३ को जग्गामा अवैध रूपमा भौतिक संरचनाहरू निर्माण गरिएको पाइएको छ । क्रमशः २०९.२५, २०७.७५, १३५.४५ र ३९१.२५ वर्गमिटर क्षेत्रफल रहेका यी जग्गाहरू नेपाल सरकारको सरकारी तथा सार्वजनिक (ग्रीनबेल्ट, गाउँ विकास समितिको कार्यालय र चन्द्रोदय निम्न माध्यमिक विद्यालय) को स्वामित्वमा रहेका छन् ।  उप-महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी सूचनामा भनिएको छ, ‘उक्त स्थानमा रहेका अतिक्रमित संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफै हटाउन सूचित गरिन्छ ।’ तोकिएको समयसीमा भित्र अवैध संरचनाहरू नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानून बमोजिम उप-महानगरपालिका आफैंले ती संरचनाहरू भत्काउने र कानूनी कारबाही प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचनामा स्पष्ट पारिएको छ । उप-महानगरपालिकाले यस कार्यको प्रभावकारी कार्यान्वयन र आवश्यक समन्वयका लागि नगर प्रमुखको सचिवालय, नगर उप-प्रमुखको सचिवालय, जिल्ला प्रशासन कार्यालय कैलाली (शान्ति सुरक्षाका लागि), १८ नम्बर वडा कार्यालय र उप-महानगरपालिकीय प्रहरी बललाई समेत बोधार्थ पठाइसकेको छ ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१ औं सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।  शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहनुभएको छ । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा.डा. सुरेशराज शर्मा रहेका छन् ।  ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य छन् भने शर्मा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति छन् ।  समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ ।  यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । काठमाडौं विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।  नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ ।

रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास र सुरक्षा सहकार्यका विविध पक्षमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । यसका साथै दुई देशका राजनीतिक दलहरूबीचको संवाद, सहकार्य र पारस्परिक समझदारी अभिवृद्धि गर्ने विषयमा समेत विचार(विमर्श भएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार यो भ्रमण दुई देशका राजनीतिक नेतृत्व र पार्टी स्तरमा संस्थागत सम्बन्ध सुदृढ बनाउने अवसरको रूपमा रहेको छ । गृहमन्त्री शाहसँगको भेटअघि मंगलबार नै सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भाजपाको केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । त्यहाँ उनीहरूले भाजपाका नेताहरू तथा पदाधिकारीहरूसँग भेटघाट गरेका थिए । सोमबार भारत प्रस्थान गरेको रास्वपाको यस उच्चस्तरीय प्रतिनिधिमण्डलमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् । भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने र अयोध्याको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।