उद्योग विभागमा ट्रेडमार्क दाबीका १३८ उजुरी, ७ दिनको अल्टिमेटम
काठमाडौं । उद्योग विभागमा विभिन्न उद्योग तथा व्यवसायीहरूबाट दायर गरिएका कुल १३८ उजुरीहरू दर्ता भएका छन् । ती उजुरीहरू मुख्यतः ट्रेडमार्क दाबी विरोध, ट्रेडमार्क नक्कल, गैरकानुनी प्रयोग तथा अनधिकृत ब्रान्ड प्रयोगजस्ता विषयसँग सम्बन्धित रहेको विभागले जनाएको छ । विभागका अनुसार विभिन्न मितिमा दायर गरिएका ती उजुरीहरू सम्बन्धमा सम्बन्धित उद्योग तथा कम्पनीहरूलाई संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम लिखित प्रतिक्रिया पेश गर्न पहिले नै सूचना पठाइएको थियो । उजुरीको प्रतिलिपिसहित पठाइएको सो सूचनाको बाबजुद हालसम्म कुनै पनि पक्षबाट प्रतिक्रिया प्राप्त नभएको र म्याद तामेली प्रतिवेदनसमेत नआएको विभागले जनाएको छ । उद्योग विभागले ७ दिनभित्र विभागको कानून शाखामा उपस्थित भई आफ्ना सबुद–प्रमाणसहित लिखित प्रतिक्रिया पेश गर्न सम्बन्धित उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको छ । विभागले तोकिएको समयसीमाभित्र प्रतिक्रिया नदिएमा प्रचलित कानून बमोजिम कारबाही अघि बढाइने स्पष्ट पारेको छ । साथै, समयमै प्रतिक्रिया नदिने पक्षहरूले पछि कानुनी दाबी-आपत्ति गर्न नपाउने चेतावनीसमेत दिएको छ ।
पिँडालु किलोको ४० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) प्रतिकिलो रु ३२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ९०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, टाटे सिमी प्रतिकिलो रु १३०, भटमास कोसा प्रतिकिलो रु १५०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ८०, परवर (लोकल) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ५५, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ४०, स्कुस प्रतिकिलो ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु १३०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमूला प्रतिकिलो रु ६०, मकै हरियो प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु २१०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु १२०, आँप (दशहरी) प्रतिकिलो रु १३०, तरबुजा (हरियो) प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ८०, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
पहिलो मानव पाइला परेको अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा
काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ । ८ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ । पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म पाँच सय ३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा चारवटा समूहका २७ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताए । आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए । २० जना सहभागी खुला दौड प्रतियोगितामा विजेतालाई १ लाख रुपैयाँ, उपविजेतालाई ६० हजार रुपैयाँ, तेस्रोलाई ३५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने तीन-तीन जनालाई १०-१० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगितापश्चात नारच्याङमा सोमबारदेखि सुरु भएको दिवसको समापन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालयले माग्यो विभिन्न ९ वटा संस्थामा अध्यक्ष र पदाधिकारी
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद् तथा स्वास्थ्यसम्बन्धी संस्थाहरूमा रिक्त पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूमा नियुक्तिका लागि आवेदन माग गरिएको हो । उक्त पदहरूमा अध्यक्ष, उपाध्यक्ष, सदस्य, रजिस्ट्रार, सदस्य सचिव तथा कार्यकारी निर्देशकजस्ता पद समावेश छन् । मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आवेदन पेश गर्नुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्टसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
१ सयमै बिक्रीमा राख्यो बुद्धभूमि नेपाल हाइड्रोले ४.७४ लाख कित्ता सेयर
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर बोलकबोल (गोप्य शिलबन्दी टेन्डर) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहका लागि निष्काशन गरिएको हकप्रद सेयरमध्ये बिक्री नभई बाँकी रहेका ४ लाख ७४ हजार ६९६ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको उक्त सेयर खरिदका लागि योग्य इच्छुक व्यक्ति, कम्पनी, संघसंस्था तथा अन्य निकायले जेठ २९ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले प्रति सेयर आफूले कबुल गर्ने मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले सेयर मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । सेयर खरिदका लागि एनआईसी एशिया बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत, नुवाकोट, चितवन र नेपालगञ्जस्थित शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।
६२ हजार महिलाको सहकारी आन्दोलन, करोडौं कारोबार
काठमाडौं । आम रूपमा मधेसमा महिलाको गणना चुलो-चौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आफूलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीका रूपमा उभ्याएका छन् । महिला मात्र आबद्ध महिला सामाजिक उद्यमी सहकारी मधेसमा स्थापित मानिन्छन् । मधेसका महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र बारासहित छ जिल्लामा महिला सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाले पशुपालन, तरकारी खेती र कृषि उत्पादनकै बेचबिखन गरिने पसल संस्थागत रूपमा सञ्चालन गरेर सफल उद्यमीको परिचय बनाएका छन् । महिलालाई यो कार्यमा अन्तर्राष्ट्रिय सामाजिक संस्था हेफर इन्टरनेशनले सहयोग र उत्प्रेरणा गर्दै आएको छ । महोत्तरीको बर्दिबास-१० र ११ को खयरमारा सेरोफेरोलाई कार्यक्षेत्र बनाएको ज्योति महिला सामाजिक उद्यमी सहकारी बर्दिबास-११ का अध्यक्ष चनावती श्रेष्ठ भन्छिन्, ‘अहिले हामीलाई काम भ्याइनभ्याइ छन् ।’ यो सहकारीले दूधका लागि गाई/भैँसी पालन, बाख्रापालन, बङ्गुर पालन, उपभोक्ता पसल सञ्चालन गर्दै आएको छ । समूहले पशुपालनलाई प्रवर्द्धन गर्न जई, मेण्डोला, स्टाइलो, नेपियर र डाले घाँसको बीउ उत्पादन गर्दै आएको छ । ‘हामीले यो वर्ष १ हजार बढी खसी बेचिसकेका छौँ, ३ हजारभन्दा बढी खसी पालेका छौँ,’ ज्योति महिला सामाजिक उद्यमी सहकारीका सचिव सरस्वती विश्वकर्मा भन्छिन्, ‘खयरमारामा पर्ने दुवै वडाभित्र १० भन्दा बढी बस्ती छन्, सबै वस्तीका महिला अहिले सहकारीमा आबद्ध हुने क्रम बढ्दो छ ।’ सुरुमा २५ महिलाले सुरु गरेका यो सहकारीमा अहिले एक हजार ३७८ सेयर सदस्य पुगेका छन् । सहकारीको कार्यसमितिको नियमित बैठक, साधारणसभालगायत गतिविधिमा सक्रियता बढ्दै जाँदा महिलाको विभिन्न क्षेत्रका स्थानीय विकासका सरोकारमा सहभागिता बढ्दै गएको बर्दिबास नगरपालिकाका उप-प्रमुख तारादेवी महतो बताउँछिन् । यसैगरी, सर्लाहीको हरिपुर महिला सामाजिक उद्यमी सहकारी हरिपुरले दूध उत्पादनका लागि आफ्ना सदस्यलाई भैँसी पालनमा ऋण सहयोग गरेको छ । यो सहकारीले अहिले दूध सङ्कलन गर्न पाँच ठाउँ केन्द्र बनाएको छ । वि.सं २०६७ मा स्थापित यस सहकारीमा अहिले ८७४ सेयर सदस्य छन् । सहकारीको कुल कारोबार ७ करोड रुपैयाँ नाघेको छ । सेयर सदस्यको बचत नै ३ करोड ९ लाख २८ हजार रुपैयाँ रहेको अध्यक्ष मञ्जु चौधरी थारू बताउँछिन् । ‘सहकारीमा दूधका लागि भैँसीपालन गर्ने र बाख्रापालन गर्ने सदस्यले मुख्य काम पाएका छन्,’ चौधरी भन्छिन्, ‘यसपालि भर्खर बकर इद पर्वमा २ हजार ५०० खसी बेचेका छौँ ।’ सोअघि गत फागु पर्व र दसैँमा गरी तीन हजार खसी बेचिएको उनले बताइन् । यो सहकारीले आफ्ना सदस्यको घरमा हुने दूध किनेर विभिन्न परिकार बनाई बिक्री वितरण गर्ने गरेको छ । यसरी कृषि कार्यमा जुटेका महिलाको आर्जन निरन्तर बढ्दै गएको उनको भनाइ छ । यस्तै, सर्लाहीकै लालबन्दी-१६ न्यू उदय महिला सामाजिक उद्यमी सहकारीका १० भन्दा बढी सदस्यले दूध उत्पादनका लागि गाई, भैँसी पालनको कृषि फार्म नै सञ्चालन गरेका छन् । वि.सं २०७८ मा २५ जनाले सुरु गरेका यो सहकारीमा अहिले १ हजार ३० सेयर सदस्य पुगेका छन् । विदेशबाट फर्केका युवालाई कृषि कार्यमा जोड्न विशेष योजना साथ लागिएको यस सहकारीकी व्यवस्थापक शर्मिला मोक्तान बताउँछिन् । यो सहकारीका सदस्यले पछिल्लो एक महिनाभित्र १ हजार २०० खसी बेचेको मोक्तानको भनाइ छ । यसैगरी, यो सहकारीले ८०० लिटरसम्म दूध सङ्कलन गरेर दूधजन्य परिकारको उद्योग सञ्चालन गरेको छ । यस्तै रौतहटको गजुरा-३ का महिलाले आरम्भ महिला सामाजिक उद्यमी सहकारी सञ्चालन गरेका छन् । यो सहकारीले खसी पालन, मासु बिक्री वितरण र निगुरोको साग (मुन्टा) बिक्री वितरण गरेर प्रशस्त आर्जन गर्दैछन् । अहिले ३५४ महिला आबद्ध यो सहकारीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको अवधिमा २ हजार ५०० खसी बिक्री गरेको अध्यक्ष पुनम चौधरी थारुले बताइन् । महिलाको सहकारीमार्फत कृषि कार्यमा बढ्दो चासोमा घरका परिवारजनको राम्रो साथ सहयोग पाइने गरिएको उद्यमी महिलाको अनुभव छ । अवसर र सहयोग मिल्नसके महिलाले जस्तोसुकै काम पनि व्यवस्थित रूपले गर्न सक्छन् भन्ने मधेसका महिला सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाले चरितार्थ गरेका बर्दिबास-११ खयरमाराका सामाजिक अगुवा चन्द्रलाल गौतम बताउँछन् । हेफर इन्टरनेशनले सहकारीमा आबद्ध महिलालाई व्यवसाय विस्तार र दिगोपनाका लागि आवश्यक साझेदारी र लगानीका अवसर खोज्न सहयोग समन्वय गर्दै आएको छ । हेफरको जनकपुरस्थित क्षेत्रीय कार्यालयले पूर्वी नेपालका १२ जिल्लाका महिला सामाजिक उद्यमी सहकारीलाई सहयोग समन्वय गर्दै आएको छ । यीमध्ये मधेसका छ जिल्ला छन् । अन्य जिल्लामा बागमती प्रदेशका चार र कोशी प्रदेशका दुई जिल्ला रहेका हेफर इन्टरनेशनल जनकपुर क्षेत्रीय कार्यालयका प्रमुख दीपेश पोखरेलले जानकारी दिए । मधेसका महिला सामाजिक उद्यमी सहकारीहरूको समीक्षा र मूल्याङ्कनसहितको मङ्गलबार बर्दिबासमा सम्पन्न योजना तथा लगानी सम्मेलनमा सहकारी प्रतिनिधिले हालसम्मको कामको समीक्षा गर्नसँगै भावी योजना पनि प्रस्तुत गरेका छन् । सम्मेलनको मुख्य ध्येय यी सहकारीहरूको व्यवसाय वृद्धि योजना तयार गर्ने, नवीन सोच र उद्यमशीलता विकास गर्ने र लगानीकर्तासम्म प्रभावकारी पहुँच बढाउने रहेको महिला सामाजिक उद्यमी सञ्जाल बागमती प्रदेश उपाध्यक्ष होमकुमारी ठकुरीले स्पष्ट पारिन् । हेफरको जनकपुर क्षेत्रीय कार्यालयको समन्वयमा रहेका १२ जिल्लाका महिला सामाजिक उद्यमी सहकारीमा ६२ हजार महिला आबद्ध छन् । यो सङ्ख्याभित्र मधेसका २० हजार बढी महिला आबद्ध रहेका क्षेत्रीय कार्यालय प्रमुख पोखरेलको भनाइ छ । यी सहकारीमा महिलाले देखाएका तत्परता र गरेका कामको उपलब्धि साँच्चै हौसला बढाउने तहको भएको हेफर क्षेत्रीय कार्यालय जनकपुरको मूल्याङ्कन छ । उद्यमी महिलाले घर, परिवार, समाज र यहाँका निकायबाट सकारात्मक सहयोग र समन्वय पाउन सके सहकारीका माध्यमबाट निकै उपलब्धि हासिल हुने सामाजिक आन्दोलनकी नेत्री बर्दिबास-३ का बासिन्दा सरस्वती चौधरीको प्रतिक्रिया छ ।
३ दशकअघिको समाज र प्रेमको चित्रण गर्ने ‘काजी’
काठमाडौं । सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ । वि.सं २०४५ को समयको सामाजिक संरचनाभित्र रहेर प्रेम, समर्पण र सम्बन्धको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता विपिन कार्कीले ‘काजी’ र अभिनेत्री केकी अधिकारीले उनकी श्रीमती ‘कजिनी’ को भूमिका निर्वाह गरेकी छिन् । बाल्यकालमै टुहुरो भएका काजीले मागी विवाहमा पाउने श्रीमतीलाई नै आफ्नो संसार बनाउँछन् । एउटा दृश्यमा काजीले ‘मेरो बा, आमा सबै नै श्रीमती (कजिनी) नै हुन्’ भन्ने संवाद बोल्छन्, जसले काजीले आफ्नो कजिनीलाई गर्ने प्रेमका बारेमा ज्ञात गराउँछ । उक्त चलचित्रमा देखाइएको प्रेममा त्याग छ, सहनशीलता छ र मौन स्वीकृतिहरू छन् । श्रीमान् र श्रीमतीबीचको प्रेमलाई जति देखाइएको छ, त्यहाँ सामाजिक दबाब पनि सृजना गरिएको छ । वंश अगाडि बढाउने सन्तान नहुँदा चलचित्रमा द्वन्द्व सृजना हुन्छ । काजीलाई उनका काकाले अर्को विवाह गर्न सल्लाह दिन्छन्, तर उनले श्रीमतीबाहेक अन्य सोच्न नसक्ने बताउँछन् । यद्यपि, चलचित्रमा कजिनीको बहिनी अर्थात् काजीको साली (गरिमा शर्मा) को प्रवेश सँगै नयाँ मोड आउँछ । काजी र सालीबीचको सम्बन्ध विवाहसम्म पुग्न सक्ने हल्ला समाजमा चलेपछि कजिनीले झुट बोल्ने योजना बनाउँछिन् । उनलाई कुनै पनि सर्तमा काजी गुमाउनु छैन । चलचित्र ‘काजी’ यही वैचारिक द्वन्द्वभित्र रहेर दर्शकसँग संवाद गर्न खोजिरहेको आभाष हुन्छ । चलचित्रमा अभिनेता विपिन कार्कीले काजीलाई परम्परागत नभई प्रेमिल भावमा प्रस्तुत गरेका छन् । ‘यतिसम्म पनि प्रेम गर्न सक्छन् र ? यस्तो पनि प्रेम हुन्छ र भन्ने पात्र हामीले देखाएका छौँ । यो चलचित्रमा मेरो पात्रले आफ्नो संसार नै श्रीमतीलाई मानेपछि केसम्म गर्न सक्छ भन्ने देखाइएको छ । यो अमर रहने एउटा प्रेम कथानक हो,’ अभिनेता कार्कीले भने । उनी काजी खानदानबाट भएकै कारण काजी त भए, तर सरल छन् । गाउँलेलाई हरेक समस्यामा मद्दत गर्ने पात्र अभिनेता कार्कीले निर्वाह गरेका छन् । अभिनेत्री केकी अधिकारीले ‘काजी’ जस्तो श्रीमान् हरेक महिलाको चाहना हुने बताइन् । उनले भनिन्, ‘यो एउटा निःस्वार्थ समर्पणको प्रेमकथा हो । अहिलेको पुस्तालाई यस्तो पनि प्रेम हुन्छ र रु भन्ने आभाष चलचित्र हेरेपछि हुन्छ । यसमा श्रीमान् र श्रीमती निःस्वार्थ प्रेम सामाजभन्दा माथि हुन्छ भन्ने देखाइएको छ ।’ निर्देशक लक्ष्मण रिजालले सरल र मन छुने कथालाई पटकथामार्फत चलचित्रका रुपमा तयार गरे पनि सबैभन्दा कमजोरी पटकथामै देखिएको छ । काजी आफ्नो गाउँमा एउटा सम्मानित र निर्दोष पात्र हो । आफ्ना पिताले बसालेको बस्तीमा उसको बेग्लै सान छ । तर, चलचित्रमा देखाइएको घटनाक्रम वा पटकथा एकै लयमा बग्दा दर्शकले धैर्यता गुमाउन सक्छन् । बारम्बार उस्तै दृश्य र शैली देख्दा सुस्त भएको महसुस हुन्छ । साथै, चलचित्रमा देखिने समस्यासँग मुख्य पात्र भाग्दा दर्शकलाई खिन्न लाग्न सक्छ । अर्थात् कजिनीले झुट बोलेर टिकाउन खोजेको सम्बन्धका लागि काजी लड्छ भन्ने अपेक्षा हुनसक्छ । तर, काजीले रोज्ने सरल बाटोले त्यसमा द्वन्द्व सिर्जना हुन् पाउँदैन । हुन् त काजीले चलचित्र सुरु भएकै केही समयमा आउने दृश्यमा कजिनीलाई असहजता भएमा आफूले लिने निर्णयबारे आफ्नो काका र काकीलाई जानकारी गराइसकेका हुन्छन् । तर, पनि चलचित्रको पात्रले समस्यासँग समना गर्नुपर्नेमा सरल बाटो रोज्नु एउटा मुख्य कमजोरी हो । ‘काजी’ को अर्को बिर्सनै नसकिने पक्ष यसको सङ्गीत र पाश्र्व ध्वनि हो । यसको बलियो पक्ष छायाङ्कन हो । छायाँकार चिन्तनराज भण्डारीले आजभन्दा झन्दै तीन दशक अगाडिको समयलाई कलात्मक रुपमा प्रस्तुत गरेका छन् । बिजुली नहुँदा लालटिन वा टुकी बत्तीको समयलाई उनले दुरुस्तै उतारेका छन् । काजी (विपिन कार्की) को चरित्र एउटा ‘आदर्श प्रेमी’ को प्रतीक हो । ‘काजी’ एउटा यस्तो फिल्म हो जुन हेरिरहँदा केहीबेर आँखालाई आनन्द दिन सक्छ, कलाकारको अभिनयले मन लोभ्याउन सक्छ तर जाँदाजाँदै दिइएको सन्देश र मुख्य द्वन्द्व फितलो हुँदा दर्शकलाई खिन्न बनाउन सक्छ । समग्रमा चलचित्र ‘काजी’ प्राविधिक हिसाबले जति बलियो छ, कलाकार अभिनयको जति सुन्दर र जीवन्त छ । पटकथा त्यति नै कमजोर छ ।
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।