काठमाडौं । रसुवाको बाढीमा उद्धार तथा राहत वितरणका लागि १५ वटा हेलिकोप्टर सञ्चालनमा रहेका छन् । नेपाली सेनाका ४ र निजी क्षेत्रका ९ वटा हेलिकोप्टर चालु अवस्थामा रहेका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले राहत तथा उद्धारमा १५ वटा हेलिकोप्टर सञ्चालनमा ल्याइएको जानकारी दिइन् ।
'हिजो मात्र हेलिकोप्टरले ४० वटा उडान भरेका छन्,’ उनले विकासन्युजसँग भनिन्,’ आजको विवरण आइसकेको छैन । साँझसम्म आजको पूर्ण विवरण आउनेछ ।'
उनका अनुसार हेलिकोप्टर रसुवा, नुवाकोट र धादिङमा मुख्य गरेर तीन जिल्लामा उडान भरिरहेका छन् । आवश्यकता अनुसार गोर्खा र चितवनमा पनि हेलिकोप्टर लैजाने गरेर व्यवस्थापन गरिएको छ ।
बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति गरेको छ । ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ४६९ जनाको शव फेला परेको हो ।
बाढी तथा पहिरोमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।