तिब्बततर्फ फेरि ड्याम फुट्यो, उद्धारकर्मी र स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं । तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धारकर्मी, सुरक्षाकर्मी र तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै भोटेकोशी नदी आसपासका तटीय क्षेत्र तथा प्रभावित हुन सक्ने स्थानमा रहेका सबै नागरिकलाई सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध गरेको हो ।

प्रहरीका अनुसार ड्याम फुटेको सूचनापछि उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी र स्थानीय बासिन्दाले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका नागरिकलाई यथाशीघ्र सुरक्षित स्थानतर्फ सर्न र एक–आपसमा सूचना आदानप्रदान गरी सचेत रहन पनि प्रहरीले अपिल गरेको छ ।

प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्नसमेत आग्रह गरेको छ ।

Share News