बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख सहयोग

काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार भदौ ११ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गरिएको थियो । त्यसमा थप ८० लाख रुपैयाँ सहयोग गर्ने निर्णयसँगै कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीका प्रतिनिधि राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले भदौ १२ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।

हिमालयन बुलियन कम्पनीले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको कम्पनीले जनाएको छ ।

साथै, बाढीमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारको दुःखमा आफूहरू साथमा रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले प्राकृतिक विपद्को यस कठिन घडीमा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनु आफ्नो सामाजिक र मानवीय दायित्व भएको जनाएको छ ।

Share News